+
+

मोफसलमा पुँजी बजार फस्टाएको हेर्ने चाहना छ : मुख्यमन्त्री राई

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १२:५८

११ पुस, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले पुँजी बजारको विकासमा सघाउन सरकार तयार रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल मर्चेन्ट बैंकर्स एशोसिएसनको सहकार्यमा आयोजित प्रदेशस्तरीय पुँजी बजार सचेतना कार्यक्रमा बोल्दै मुख्यमन्त्री राईले मोफसलमा पुँजीबजार फस्टाएको हेर्ने चाहना भएको र यसका लागि सहयोग गर्न तत्पर रहेको बताए ।

पुँजीबजारले छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय एवं अर्थतन्त्र विकासमा सहयोग हुने हुँदा पुँजी बजारको पक्षमा सरकार रहेको उनको भनाइ थियो ।

‘नेपालमा अहिलेको पुँजी बजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आम मानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्यक्रम गरी मनोबलको विकास गर्नुपर्छ,’ मुख्यमन्त्री राइले भने । यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने पनि उनले बताए । ‘कानुन बनाउनु पर्ने भए बनाउँछौं, माथिल्लो सरकारमा आवश्यक समन्यव र सूचना पुर्‍याउन सहयोग गर्छौं, मोफसलमा पुँजीबजार फस्टाएको हेर्ने चाहना हाम्रो पनि छ,’ मुख्यमन्त्री राईले भने । प्रदेश सरकार बजारको विकास र विस्तारका लागि सदैव तप्तर रहने उनले प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले पुँजीबजारको विस्तार वृहतरुपले भइरहेको बताए । बजार विस्तारको तुलनामा धितोपत्र नियमनको आवश्यताअनुसार हुन बाँकी रहेको हुँदा त्यसका लागि बोर्डले पूर्वाधार निर्माण गरिरहेको उनले जानकारी दिए ।

‘सुचिकृत कम्पनीहरुमा ९० प्रतिशत कम्पनी बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरु हुँदा राष्ट्र बैंकले ल्याउने नीतिगत प्रभाव पर्दा त्यो लगानीमैत्री नभएको महसुस हुन्छ । बजारमैत्री नीतिगत सहजीकरण गर्न बोर्डले सम्बन्धित सबै निकायहरुमा समन्यव गरिरहेको छ,’ गिरीले भने ।

बोर्डले प्रदेशस्तरमा पुँजी बजारको विकास र विस्तारका लागि स्थानीय सरकारसँग समन्यव गर्ने र प्रदेशस्तरमै स्टक ब्रोकर कम्पनीहरु ल्याइने उनले जानकारी दिए ।

‘प्रदेशमा बोर्डको आवश्कता महसुस गरिएको हो तर सो अनुसार काम गर्न कार्यसम्पादन विभाजन लगायतका विषयका कारण हामीले काम गर्न सकेका छैनौं, तर, पहिलो चरणमा प्रदेश सरकारकै कार्यालयम बोर्डको प्रतिनिधि राख्नेछौं, आवश्यक पर्दा केन्द्रबाट समन्यव हुन्छ,’ उनले भने ।

प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले यहाँ पुँजीबजारको विकास र विस्तारमा सघाउन मन्त्रालय सदैव तयार रहेको बताए । प्रदेश तहमा पनि शेयर बजारको सञ्चालनका लाागि पूर्वाधार, नियामक र अन्य संरचना हुनुपर्नेमा उनको जोड थियो ।

नेपाल मर्चेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष मेखबहादुर थापाले लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गर्दै मर्चेन्ट बैंकिङले नेपालको पुँजी बजारमा पुर्याएको योगदान चर्चा गरे । उनले सेयर बजारमा लगानीका अन्य उपकरण थप गर्नुपर्ने जोड दिए । यी उपकरण केन्द्रमा मात्र नभएर प्रदेशसम्म विस्तार गरिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रमका प्रदेश १ का निजी क्षेत्रका छाता संघ संस्थाहरुको समेत उपस्थिति रहेको थियो । जसमध्ये नेपाल चेम्बर अफ कमर्श प्रदेश १ का अध्यक्ष सुरेशमान श्रेष्ठले पुँजीबजारका लागि स्पष्ट नीति नियमन हुनपर्ने बताए । उनले मोफसलमा पुँजीबजारको आर्कषण बढिरहेको बताउँदै राजधानी बाहिर पुँजीबजारमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायले तीनै तहको सरकारसँग समन्यव गर्नु पर्ने आवश्यकता औांलाएका थिए । नीतिगत अस्थिरताले लगानीकर्ताको लगानी जोखिममा परेको उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघ प्रदेश एकका संयोजक भीम घिमिरेले सचेतनाको अभावमा देशका अधिकांश जनताले पुँजीबजारको सदुपयोग गर्न नसकेको बताए । राजधानी बाहिर पुँजीबजारका सम्बन्धमा सरोकारवाला, लगानीकर्ता र सरकारी निकाय समेत निष्कृय रहेको उनको भनाइ छ । ग्रामिण अर्थतन्त्रलाई पुँजीबजारमा जोड्न सके संगठितरुपमा बजारको विकास हुने उनको विस्वास छ ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सल्लाहकार अविनाश बोहराले अहिलेको पुँजीबजार काठमाडौं केन्द्रित भएको भन्दै प्रदेशगत संरचनाअनुसार विकासको लागि पूर्वाधार निर्माणको आवश्यकता औंल्याएका थिए । प्रदेश नम्बर १ मा पुँजीको अभाव नभएको हुँदा यो प्रदेशले पुँजीबजारको विकासमा साथ दिन सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?