+
+

जापानले बनायो स्क्रिनमा चाटेर खानाको स्वाद लिन मिल्ने टेलिभिजन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १३:२९

टेलिभिजन युगको सुरुवातमा श्यामस्वेत अर्थात् ब्लाक एण्ड ह्वाइट टेलिभिजन थिए । त्यसपछि रंगिन टेलिभिजनको जमाना आयो । टेलिभिजन प्रविधिमा निरन्तर परिवर्तन भैरहँदा थ्री डी, एचडी तथा स्मार्ट टेलिभिजनको जमाना चलिरहेको छ । यसै क्रममा एक नितान्त फरक टेलिभिजन जापानले तयार पारेको छ ।

जापानी वैज्ञानिकले चाट्ने टिभी बनाएका छन् । अर्थात् यस्तो टेलिभिजन जसको स्क्रिनमा चाट्न सकिन्छ ।

रोयटर्सका अनुसार जापानका एक प्राध्यापकले एउटा यस्तो लिकेबल (चाट्न सकिने) टिभी स्क्रिन बनाएका छन्, जसबाट खानाको स्वादको अनुभव लिन सकिन्छ । उक्त टिभीलाई टेस्ट द टिभी भनिन्छ । यसमा दशवटा क्यानिस्टर लगाइएको छ जसले एक शुद्ध पत्रमा फ्लेवर अर्थात् स्वाद स्प्रे गर्दछ । उक्त पत्र त्यसपछि टेलिभिजनको स्क्रिनमा रोल हुन्छ जसलाई दर्शकले चाट्न सक्दछन् ।

जापानको मेइजी विश्वविद्यालयका प्राध्यापक होमोइ मियाशिताले यस्तो चाट्ने टिभी बनाएका हुन् । मियाशिताका अनुसार यो टेलिभिजनका माध्यमबाट शेफ तथा खानेकुराको कारोबारमा संलग्न मानिसहरूलाई टाढै रहेर पनि तालीम दिन सकिन्छ । उनका अनुसार यो टेलिभिजनको व्यवसायिक उत्पादनपछि यसको मूल्य ८७५ डलरसम्म पर्न सक्दछ । उनी भन्छन्- मानिसहरू आफ्नो घरमै बसेर संसारका कुनैपनि ठाउँका रेष्टुरेन्टमा पस्किने खानाको पनि स्वाद उठाउन सकून् भन्ने यसको लक्ष्य हो ।

प्राध्यापक मियाशिताले अन्य उत्पादकहरुसँग पनि छलफल गरिरहेका छन् जस अन्तरगत यो प्रविधिबाट टोस्टमा विभिन्न फ्लेवर कसरी हाल्न सकिन्छ भन्ने लगायतका अन्य प्रयोगका विषयमा पनि विमर्श भैरहेको छ । उनका अनुसार भविष्यमा कुनै दिन स्वादहरूको यस्तो संग्रह वा सूची तयार हुनेछ जसमा फरक-फरक स्वादलाई डाउनलोड गर्न सकिनेछ ।

कोरोना जस्तो महामारीको समयमा विश्वका मानिसहरू घरभित्रै थुनिन बाध्य भएको बेला यस्तो प्रविधिले मानिसहरूलाई बाहिरी संसारसँग सम्पर्क कायम गर्न सहयोग गर्नेछ । तर सोसल मिडियामा भने यो टेलिभिजन कोरोना महामारीको यस्तो बिगबिगीको समयमा लञ्च गरिनु के उपयुक्त हो ? भनेर प्रश्न गरिरहेका छन् ।

जापानी प्राध्यापक मियाशिताले यसअघि पनि आफ्ना विद्यार्थीहरुसँग मिलेर विभिन्न खालका उपकरण बनाउने गरेका थिए । एकपटक उनले यस्तो फोर्क अर्थात् चम्चाकाँटा बनाएका थिए जसबाट खानेकुरा खानाले उक्त खाना मुखमा गैसकेपछि झनै स्वादिष्ट हुन्थ्यो ।

प्राध्यापक मियाशिताले आफ्नो स्वादिलो टिभीको एक झलक पत्रकारहरुलाई देखाएका थिए । त्यसमा एकजना छात्राले मेसिनसँग भन्छिन् – मलाई चकलेट चाहियो । केही प्रयासपश्चात् उनको अर्डर स्क्रिनमा स्प्रे भयो र त्यसपछि उनले टिभी स्क्रिन चाटेर स्वाद लिइन् । र भनिन्, हँ यसको स्वाद मिल्क चकलेट जस्तै लाग्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?