
२९ चैत, टोकियो । हरेक वर्ष वसन्त ऋतु आगमनसँगै फुल्ने साकुराले यतिबेला जापानको सौन्दर्य बढाएको छ । साकुराले पुरातन समयदेखि वसन्त ऋतु आगमनको संकेत गर्दछ । यो जापानको राष्ट्रिय फूल समेत हो ।
कम आयु लिएर फुल्ने साकुरा हरेक वर्ष मार्चदेखि अप्रिलको दोस्रो हप्तासम्म फुल्छ । जापानका पार्कहरू यतिबेला गुलाबी र सेतो रंगका फूलहरूले रंगिएका छन् ।
साकुरा फुलेसँगै जापानीहरू हानामी पार्टी (फूल हेर्ने उत्सव)मा रमाएका भेटिन्छन् । मानिसहरू साकुराको फेदमुनि गएर मिठोमसिनो परिकार खान्छन् । र, फूलकैमुनि बसेर वर्ष भरका अनुभव साट्ने गर्छन् ।
जापानमा अप्रिल महिनाबाट नयाँ शैक्षिकसत्र सुरु हुन्छ । यही महिनाबाट नयाँ कम्पनीमा काम गर्नेहरूको काम सुरु हुने र आर्थिक साथै प्रशासनिक क्षेत्रमा नयाँ वर्ष प्रारम्भ हुने गर्दछ । अप्रिल महिनामा जापानमा बसोबास गर्ने नागरिकहरू पनि साकुरा जस्तै नयाँ उमंगका साथ आफूलाई फुलाउन सुरु गर्छन् । त्यसैले भनिन्छ, ‘साकुरासँगै जीवन फूल्छ, नयाँ सुरुवात हुन्छ ।’
नेपालको पहाडी भेगमा हुने पैँयुको फूललाई नै जापानमा साकुरा भनिन्छ । जापानमा साकुरा हेर्नका लागि विभिन्न देशका पर्यटकहरू आउने गरेका छन् ।
तस्वीरहरू : मनिषा चम्लागाईं
प्रतिक्रिया 4