+
+

अचल सम्पत्तिको विवरण पठाउन मातहतका निकायलाई पर्यटन मन्त्रालयको पत्र 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १४:२०
फाइल तस्वीर

१२ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट अचल सम्पत्तिको अध्यावधिक विवरण माग गरेको छ ।

सरकारी नियकालाई नै आफ्नो सम्पत्ति कति छ भन्ने थाहा नहुँदा सरकारी सम्पत्तिको दुरुपयोग भइरहेको भन्दै मन्त्रालयले मातहतका निकायबाट अचल सम्पत्तिको विवरण अध्यावधिक गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले आफू मातहतका नेपाल वायुसेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, विभिन्न विकास समिति, पर्यटन तथा पुरातत्व विभाग र संग्रहालयहरुलाई पत्र लेख्दै यस्तो विवरण पठाउन भनेको हो ।

मन्त्रालयले पत्रमा भनेको छ, ‘हरेक निकायले आ–आफ्नो स्वामित्वमा रहेका जग्गा–जमिन, भवन र सवारी साधनको अध्यावधिक विवरण तयार गरी यस्तो सम्पत्तिको उपयोग र संरक्षण गर्नु जरुरी छ ।’

आफ्नो स्वामित्वमा रहेका जग्गा, भवन तथा सवारी साधनको लगत नराख्दा त्यसको उपयोग गर्ने, परिचालन र संरक्षणमा समेत समस्या भएको भन्दै मन्त्रालयले सबै निकायलाई सचेत गराएको हो ।

कतिपय सार्वजनिक तथा सरकारी जग्गा–जमिन, भवन र सवारी साधन बेवारिसे अवस्थामा रहेको भन्दै यसबाट सरकारी सम्पत्तिको दुरुपयोग तथा अतिक्रमण समेत भएको मन्त्रालयको भनाइ छ । सरकारी सम्पत्तिको संरक्षण गर्ने कार्य सबै कर्मचारी र पदाधिकारीको कार्य सम्पादन मूल्यांकनसँग जोडिएको विषय भएको भन्दै मन्त्रालयले मातहतका निकायबाट विवरण माग गरेको हो ।

अब पर्यटन मन्त्रालय मातहतका ती निकायले आफ्नो स्वामित्वमा कति जग्गा छ, कति भवन छन्, सवारी साधन परिचालनको विवरण समेत संकलन गर्नु पर्ने भएको छ । सरकारी निकायले आफ्नो स्वामित्वमा रहेको जग्गा–जमिन, भवन र सरकारी साधनको खोजी गरी प्रोफाइल बनाउने र त्यसको अभिलेखीकरण गर्ने र संरक्षण तथा उपयोगको काम शुरु गर्न मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको ८ पुसको सचिवस्तरीय निर्याय अनुसार यस्तो निर्देशन दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?