+
+

५० ग्राम सुन लुकाउन सुटकेसभरि चकलेट !

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ पुष १५ गते १७:२०

१५ पुस, काठमाडौं । बुधबार कतार एयरवेजको क्यूआर ६५० उडानबाट सिरहाका मोहम्मद इजराइल मियाँ साँझ ७ः३० बजे काठमाडौं उत्रिए । वैदेशिक रोजगारी सकेर नेपाल फर्किएका २१ वर्षीय मियाँले बोकेको हरियो सुटकेसलाई विमानस्थलको एक्सरे मेसिनले अवैध वस्तु बोकेको संकेत गर्‍यो ।

एक्सरे मेसिनको संकेतपछि विमानस्थल भन्सारमा खटिएका अधिकारीहरुले मियाँलाई सुटकेस खोलेर के ल्याएको देखाउन आग्रह गरे । एक्सरे मेसिनको नजिकै मियाँले सुटकेस खोले । सुटकेस चकलेटले भरिएको थियो । विमानस्थलका कर्मचारीले सोधे, चकलेट मात्रै होकी अरु पनि केही छ ? मियाँ केहीबेर बोलेनन् । तिमीले ल्याएको संकास्पद वस्तु देखाएनौं र हामीले फेला पार्‍यौं भने राम्रो हुँदैन भन्दै उनीसँग भन्सारका कर्मचारी रिसाए । त्यसपछि मियाँले सुटकेसभित्रको एउटा चकलेटको पोको फुकाए । पोकाबाट एउटा चकलेट जस्तो वस्तु निकाले र त्यसलाई फुकाउन थाले ।

चकलेटको पहिलो पत्र कागज निकालेर मियाँले भुँइमा फ्याँके । त्यसपछि उनले कालो टेप फुकाए । झण्डै एक मिटर लामो कालो टेप निकालेपछि सुनको सिक्री भेटियो । उनले सुनको सिक्री भन्सार अधिकारीलाई बुझाए । जानाजान भन्सार छल्न खोजेको आरोपमा मियाँ अहिले प्रहरीको हिरासतमा छन् । २१ वर्षको उमेरमै उनीमाथि भन्सार छली र अवैध सुन तस्करीको कसुरमा थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईकाअनुसार अवैध तरिकाबाट सुन ल्याउन कडाइ थालेपछि फरक फरक ढंगबाट सुन भित्र्याउने कसरत भइरहेको पाइएको छ । मंसिर १३ पछि भन्सारको स्क्यानरले थाहा नपाउलाकी भनेर फरक ढंगले सुन बोक्नेहरु डेढ दर्जन हाराहारी यात्रुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रमुख भट्टराईले बताए ।

‘भन्सार प्रशासनले कुनै पनि बाहानामा अवैध मात्रामा सुन नबोक्न आग्रह गरिरहे पनि यात्रुहरुले नयाँ–नयाँ ढंगबाट सुन ल्याउने काम गरिरहेका छन्,’ प्रमुख भट्टराईले अनलाइनखबरसँग भने । बुधबार पक्राउ परेका मियाँले ५० ग्रामको सुनकै लागि एक सुटकेस चकलेट बोकेर आएको पाइएको पनि उनले बताए ।

यसअघि पनि टर्च लाइट, पास्ता मेकरभित्र अनेक उपाय लगाएर सुन लुकाएर ल्याउने काममा संलग्नहरु पक्राउ परेको भन्सार कार्यालयले जनाएको छ । तस्करले भरियामार्फत सुन ल्याउन विमानस्थलले थाहा नपाउने गरी विभिन्न प्रयोग गरेका हुन् वा राजश्व तिर्नु पर्ने डरका कारण यात्रुहरुले यो काम गरेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?