+
+

माओवादी केन्द्रमा केन्द्रीय सदस्य चयनमा सकस

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ पुष १७ गते २२:१८

१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले सहमतिमा केन्द्रीय सदस्य चयनका लागि शनिबार तय गरिएको निर्वाचन कार्यक्रम आइतबार दिउँसोसम्मका लागि स्थगित गरेको छ ।

माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले शनिबार रातिका लागि तय गरेको निर्वाचन कार्यक्रमहरु आइतबार दिउँसोदेखि अघि बढ्ने गरी स्थगित गरिएको संयोजक विष्णुपुकार श्रेष्ठले बताए ।

‘शनिबार राति ८ बजेबाट मनोनयन शुरु गर्ने भनेका थियौं । तर, नेताहरुले भोलि दिउँसो १ बजेसम्म सहमतिको प्रयास गर्ने भनेपछि निर्वाचन कार्यतालिक हेरफेर भएको छ’ उनले भने ।

माओवादी केन्दका नेता दलजित श्रीपाइलीका अनुसार सहमतिमा केन्द्रीय सदस्य चयनमा सकस भएकाले निर्वाचन तालिका प्रभावित भएको हो । सबैलाई मिलाएर सहमतिमै केन्द्रीय सदस्य टुंग्याउने गरी स्थायी कमिटीले गृहकार्य गरिरहेको उनले बताए ।

‘सबै प्रतिनिधिहरुले समानुपातिक समावेशिताको कुरा सशक्त रुपमा उठाएका छन् । त्यसमा पनि कुरा मिल्न बाँकी छ’ बन्दसत्र स्थगन हुनुको कारणबारे उनले भने ।

माओवादीको महाधिवेशनबाट पारित विधान अनुसार केन्द्रीय समितिका १५४ सदस्य समानुपातिक पद्धतिबाट चयन हुनेछन् । समानुपातिक पद्धतिबाट विभिन्न क्लस्टर अनुसार केन्द्रीय समितिमा चयन हुने नेताको नाम टुंगो लगाउने जिम्मा प्रदेश समितिलाई दिइएको एक नेताले जानकारी दिए । तर, प्रदेशहरुले पनि नेताहरुको नाम सिफारिश गरिसकेका छैनन् । नेताहरुका अनुसार क कसको नाम सिफारिश गर्ने भनेर प्रदेश कमिटीमै सहमति हुनसकेको छैन ।

केही प्रदेशले लिस्ट बुझाउन बाँकी रहेको र बुझाइएको लिस्टमा पनि स्थायी कमिटीले हेर्न बाँकी रहेको एक स्थायी कमिटी सदस्यले बताए ।

‘आएका नामहरुमा पनि कतिपय डुब्लिकेसन हुन सक्छ । भनिएको भन्दा बढी वा कम आएको पनि हुन सक्छ । कतिपयलाई केन्द्रीय कमिटी भन्दा अन्य जिम्मेवारी दिन सकिने पनि हुन सक्छ’ एक नेता भन्छन्, ‘हामीले तय गरेको समानुपातिक समावेशी सहभागिता पनि हेर्नुपर्छ ।’

समानुपातिक पद्धतितर्फको केन्द्रीय सदस्यका लागि तय गरिएको क्लस्टरमा पनि कतिपयले असन्तुष्टि जनाएका छन् । दलित समुदायले आफूहरुले विगतमा पाउने भनिएको भन्दा कम प्रतिशत दिन खोजिएको भन्दै विरोध जनाएका छन् । यो विषयमा पनि छलफल चलिरहेको नेता दलजित श्रीपाइलीले बताएका छन् ।

बन्दसत्र हलबाट पारित विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ ।

समानुपातिक पद्धतितर्फ प्रदेश १ बाट २१, प्रदेश २ बाट २५, वागमतीबाट ३०, गण्डकीबाट १४, लुम्बिनीबाट २३, कर्णालीबाट १७, सुदूरपश्चिमबाट १६ र विशेष क्षेत्रबाट ८ जना गरी कुल १५४ जना चयन हुनेछन् । केन्द्रीय सदस्यका बाँकी सदस्य भने खुला प्रतिस्पर्धाबाट चयन हुनेछन् ।

केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ ।

केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ।

युवा आकांक्षी धेरै

माओवादी केन्द्रले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवालाई २० प्रतिशत कोटा छुट्याएको छ । २९९ सदस्यीय केन्द्रीय कमिटीमा यो भनेको ६० जना हो । तर, आकांक्षीहरु सय भन्दा बढी देखिएको नेताहरुले बताएका छन् ।

तर, आइतबार सबै केन्द्रीय समिति सदस्यहरुको टुंगो लाग्ने नेताहरुको भनाइ छ । नेताहरुका अनुसार आइतबार दिउँसो १ बजे शुरु हुने बन्दसत्रमा सहमतिमा केन्द्रीय सदस्यहरुको नाम घोषणा हुनेछ । त्यसमा असहमति राख्नेहरु रहे मात्रै निर्वाचन हुनेछ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?