+
+

मनाङको विकासमा मौसम बाधक

रासस रासस
२०७८ पुष १९ गते १४:३९

१९ पुस, मनाङ । धेरै स्थानमा गर्मी मौसममा विकास निर्माणका काम गरिन्छ । कुनै स्थानमा गर्मी लाग्ने अवस्थामा केही विकासका काम गरिन्छन् । हिमाली जिल्ला मनाङमा न गर्मीमा न हिउँदमा विकास निर्माणका काममा कठिनाई हुने गरेको छ । जाडो मौसममा यहाँको विकास निर्माण पूर्ण रुपमा प्रभावित भइरहेको छ ।

यसपटक गर्मीमा मौसम परिवर्तनका कारण बाढीपहिराले समस्या निम्त्याइरह्यो । हिउँद लाग्नासाथ मौसम बद्लिएर हिमपात शुरू भयो । हिमपातसँगै निर्माण कार्य प्रभावित भयो ।

प्रकृतिनै बाधक बन्दा यहाँको विकासमा बाधा पुगेको छ । बाढीपहिरा खस्न छाडेपछि केही विकासका काम थालिएपनि त्यसले निरन्तरता पाउन नसकेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

‘यहाँको विकास गर्न प्रकृतिनै बाधक बनेको छ । दुवै मौसममा निर्माण कार्य गर्न सकिदैन । केही समय काम गर्न शुरूवात मात्रै गर्ने र पूरा गर्न नपाउँदै अर्को मौसम सुरु हुन्छ जसले निर्माणको काम गर्न सक्ने अवस्था हुँदैन,’ उनले भने । मनाङको प्रवेशद्वार नासों गाउँपालिकाको धारापानीसम्म मात्रै सवारी आवतजावत हुने गरेको आचार्यको भनाइ छ ।

हिउँदमा विकास निर्माण गर्नुपर्ने भएपनि त्यसो गर्न नसकिएको उनको भनाइ छ । गर्मीमा बाढीपहिराले सामग्री ढुवानी हुन नसक्दा निर्माण कार्य हुन नसकेको र हिउँदमा हिमपातले सवारीसाधन आवतजावत हुन नसक्दा निर्माण कार्य हुन नसकेको प्रजिअ आचार्यले बताए ।

उनी भन्छन्, ‘हिउँद सुरु भएसँगै हिमपातले सवारीसाधन आवतजावत रोकियो । विकास निर्माणका काम रोकिए । विकास निर्माणमा आवश्यक सामग्री ल्याउन नसकिने र ल्याएर राखिएका सामग्री हिमपातले जमेर काम नलाग्ने भएका छन् । विकास निर्माणले कहिले गति लिने यस्ता अवस्थामा ?’

गर्मीमा बाढीले भत्किएको पुल मर्मत गर्न थालिएपनि अझै पुरा भएको छैन । पुल निर्माणार्थ आवश्यक पर्ने सामग्री ढुवानी गर्न नसक्दा अहिलेसम्म पुल मर्मतको काम अलपत्र छ । बाढीले भत्किएका सामुदायिक एवं व्यक्तिगत आवास निर्माण गर्न सकिएको छैन । हिमपातले सामग्री मनाङसम्म ल्याउन मुस्किल पर्ने हुँदा अलपत्र परेको प्रजिअ आचार्यको भनाइ छ ।

माथिल्लो मनाङ, नार्पाभूमि गाउँपालिकाको नार, फु गाउँलगायत सदरमुकाम चामेसम्म सवारीसाधन आउन चल्न सकेको छैन ।’हिउँदमा हिमपातले गर्दा करिब तीन महिनासम्म सवारी आवतजावत हुँदैन । हिमपातले पुरिएको स्थानमा हिउँ फालेर मात्रै बाटो पहिल्याउन सकिन्छ।यस्तो अवस्थामा विकास निर्माणको काम गर्न सक्ने अवस्था छैन’, उनले भने । विगतको तुलनामा यस वर्ष मनाङमा बाढीपहिराले भौतिक संरचनामा क्षति धेरै पुर्‍याएको छ ।

बाढीपहिराले क्षति पुर्‍याएका भौतिक संरचना निर्माणको काम अलपत्र नै छ । दुवै मौसममा निर्माणको काम गर्न नसक्दा अहिलेसम्म मनाङका धेरै भागसम्म सडकको व्यवस्थापन राम्रो बनाउन सकिएको छैन।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?