+
+

पार्टीको सभा सम्मेलन स्थगित गर्न माधव नेपालको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १९:१०

२६ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको ठूला सभा, सम्मेलन स्थगित गर्न निर्देशन दिएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले धेरै मानिसहरु सहभागी हुने सभा सम्मेलन स्थगित गर्न निर्देशन दिनुका साथै आन्तरिक बैठक तथा प्रशिक्षण कार्यक्रममा पनि सकेसम्म वैकल्पिक माध्यम अपनाउन आग्रह गरेका छन् ।

‘धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरु हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपराउन समेत निर्देशन गरिन्छ’ उनले भनेका छन् ।

अध्यक्ष नेपालले सार्वजनिक स्थलमा अनावश्यक भिडभाड नगर्न र पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा निश्चित नेताहरु मात्र सहभागी गराउन निर्देशन दिएका छन् । देशभर कोरोना भाइरस संक्रमण बढेको भन्दै उनले त्यसप्रति सचेत हुनुपर्ने भन्दै पार्टीका कार्यक्रम गर्दा सचेतता अपनाउन आग्रह गरेका छन् ।

साथै उनले खोप लगाउन छुटेका नागरिकलाई खोप लगाउन सहयोग गर्नसमेत कार्यकर्तालाई निर्देशन दिएका छन् । साथै  १८ वर्ष पूरा भएर पनि खोप लगाउन छुटेका नागरिकलाई खोप लगाउन समेत अध्यक्ष नेपालले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?