+
+

पीएम कप टी-२० : विभागीय डर्बीमा पुलिसले आर्मीलाई हरायो

करण, रासिद, कुशल, अनिल र दिलिपको उत्कृष्ट प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १२:२५

२७ पुस, काठमाडौं। प्रधानमन्त्री कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको छ ।

प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो । २ खेलबाट ४ अंकसहित पुलिस समूह ए मा शीर्ष स्थानमा छ । आर्मीको भने यो पहिलो हार हो ।

आर्मीले दिएको १३८ रनको लक्ष्य पुलिसले १८ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ३५ रन योगदान गर्दा दिलिप नाथ र रासिद खानले लोअर अर्डरमा राम्रो ब्याटिङ गर्दै पुलिसलाई जित दिलाए ।

भुर्तेलले २२ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा सर्वाधिक ३५ रन बनाए । रासिद खानले १९ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा २८ रन जोडे । यस्तै अनिल शाहले ११ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा २२ रन योगदान गरे । दिलिप नाथले २५ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित २५ रन जोडे । विजयी चौका प्रहार गरेका योगेन्द्र सिंह कार्कीले अविजित ९ रन बनाए ।

बलिङमा आर्मीका शाहब आलमले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अघिल्लो दिन कर्णाली विरुद्ध ४ विकेट लिएर म्यान अफ म्यच बनेका जितेन्द्र मुखिया पुलिस विरुद्ध २ विकेट लिँदा केही महँगा बने ।

उनले ४ ओभरमा २७ रन खर्चिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले एक बल अगाडि नै अलआउट हुँदै १३७ रन बनाएको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारी र सोमपाल कामी बाहेक अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । विनोदले ३६ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४४ रन बनाए भने लगातार ओपनिङ गरेका सोमपालले ३५ बल खेल्दै ६ चौका मद्दतमा ४२ रन जोडे । हरि चौहान, कुशल मल्ल र सुशन भारीले समान १२ रन बनाए ।

आर्मीलाई मध्ययम स्कोरमा रोक्न आर्मीकै पूर्व खेलाडी करण केसीले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । गुल्शन झा र योगेन्द्र सिंह कार्कीले २-२ तथा आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?