+
+

लखन थापाको सालिक मुनि पृथ्वीनारायण शाहको नाममा दीप प्रज्वलन !

शहीद लखन थापाको सालिक मुनि किन पृथ्वीनारायण शाहको नाममा दियो बालियो त ?

विकास रोका मगर विकास रोका मगर
२०७८ पुष २७ गते २३:१९
तस्वीर सौजन्य : अरुण गिरी

२७ पुस, पोखरा । शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीका अवसरमा मंगलबार साँझ पोखरामा दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले शाहको नाममा गरिएको दीप प्रज्वलन त गर्‍यो तर, नेपालका प्रथम शहीद लखन थापाको सालिकमुनि !

शहीद लखन थापाको सालिकमुनि किन पृथ्वीनारायण शाहको नाममा दियो बालियो त ? यसको कारण थाहा पाउन झण्डै डेढ दशकअघिको समयमा फर्किनुपर्छ ।

पृथ्वीराजमार्ग अन्तर्गत पर्ने उक्त ठाउँमा हाल लखन थापाको सालिक ठड्याइएको भए पनि यो चोक पृथ्वीचोककै नामले परिचित छ ।

जनआन्दोलन २०६२/६३ मा तत्कालिन माओवादीले पृथ्वीनारायण शाहको सालिक ढाल्दै लखन थापा चोक नामकरण गरेको थियो ।

तर, स्थानीय चुनावपछि पोखरा महानगरले ०७४ असोज ९ गते रातारात डोजर चलाएर थापाको सालिक ढाल्यो । चोकले ठूलो भूभाग ओगटेको र ट्राफिक जाम बढेको भन्दै सालिक भत्काएको मेयर मानबहादुर जिसीले तर्क गरेका थिए ।

तर, नेपाल मगर संघ सहितका विभिन्न जनजाति समुदाय महानगरले शालिक ढालेर आफूहरुको अपमान गरेको भन्दै विरोध जनाएका थिए । उनीहरुले महानगरले पुनः लखनको सालिक नठढ्याए आफैं निर्माण गर्ने चेतावनी दिएपछि महानगर पछि हटेको थियो ।

भत्काएको २४ घन्टाभित्रै त्यहाँ शहीद लखन थापाकै सालिक राख्ने सहमति भयो । तर, क्षत्री समाजले भने उक्त सहमतिको विरोध गरेको थियो । महानगरमै अनसन बस्न पुगेका आन्दोलित क्षत्री समाजका प्रतिनिधिसँग मेयर जिसीले फेरि त्यहाँ कुनै सालिक नराख्ने सहमति गरे ।

एकै पटक दुईथरी सहमति गरेपछि विवाद झन् चर्किएको थियो । दुवै पक्षको मन बुझाउन महानगरले अर्को उपाय निकाल्यो, पोखराकै सराङकोट, जामुनबोटमा शहीद पार्क निर्माण गर्ने र पोखरा उपत्यकामा भएका सबै सालिक त्यहाँ लगेर राख्ने ।

महानगरको उक्त निर्णय पनि लामो समय कार्यान्वयनमा आउन सकेन । फलस्वरुप मगर समुदायको अगुवाइमा पुनः २०७५ फागुन १ गते राति पृथ्वीचोकमै लखन थापाको सालिक उभ्याइयो । हाल महानगरको योजना अनुसार सराङकोटमा शहीद पार्क पनि बनिसकेको छ । तर, जनजाति समुदायबाट विरोध हुने भएकाले पृथ्वी/लखन थापा चोकबाट सालिक हटाउन भने सकेको छैन ।

मंगलबार सोही चोकमा रहेको लखन थापाको सालिकमुनि राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको नेतृत्वमा पृथ्नीनारायण शाहको जन्मजयन्तीका अवसरमा दीप प्रज्वलन गरिएको हो । संगठनका कास्की उपाध्यक्ष मनिष केसीले आफूहरु पृथ्वीचोकमा पृथ्वीनारायणकै सालिक राख्ने विषयमा कुराकानी भइरहेको बताएका छन् । उनले हाल रहेको लखन थापाको सालिकलाई हटाउनुपर्ने जिकिर गरे ।

‘यो चोकमा पृथ्वीनारायणकै सालिक राख्नुपर्छ । उहाँकै सम्झनामा हामीले दीप प्रज्वलन गरेका हौं’ उनले भने, ‘बरु त्यहाँबाट लखन थापाको सालिक ससम्मान शहीद पार्कमा लैजानुपर्छ ।’

पोखरा महानगरपालिका-१८ सराङकोट, जामुनबोटमा बनाइएको शहीद पार्कले ५६ रोपनी जग्गा ओगटेको छ । हाल उक्त पार्कमा पृथ्वीनारायण शाह र दिवंगत पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीको पूर्णकद, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, जनआन्दोलन २०६२/६३ का प्रथम शहीद भीमसेन दाहाल, योगेन्द्रमान शेरचन लगायतको अर्धकदको सालिक स्थापना गरिएको छ ।

शहीद पार्क बनाउन हालसम्म २ करोड रुपैयाँ खर्च भइसकेको पार्क संरक्षण, व्यवस्थापन समितिका सदस्य सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । योजना अनुसार पोखराका अन्य शालिकहरु किन स्थानान्तरण नगरिएको भन्ने प्रश्नमा उनी भन्छन्, ‘सोचेर मात्रै पनि नहुँदो रहेछ । यसमा सम्बन्धित निकायले नै अग्रसर हुनुपर्ने रहेछ ।’

सदस्य सचिव तिमिल्सिनाले यस वर्ष महानगरले बजेट नछुट्याएका कारण पनि सालिकहरु स्थानान्तरण गर्न ढिलाइ भइरहेको जानकारी दिए । ‘अहिले पार्कको टिकटका लागि २ करोडको ठेक्का गएको छ । त्यसको आम्दानीले अरु काम गर्न सहज हुने विश्वास लिएका छौं’, उनले भने । पृथ्वीचोकमा रहेको लखन थापाको सालिक स्थानान्तरण गर्न पनि महानगर कार्यपालिका बैठकबाटै निर्णय भए सहज हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?