+
+

भारतमा आक्रामक बन्दै कोरोनाको तेस्रो लहर, दैनिक संक्रमितको संख्या साढे २ लाख नजिक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते ११:२१

२९ पुस, काठमाडौं । छिमेकी मुलुक भारतमा कोभिड-१९ का संक्रमित लगातार बढ्न थालेका छन् । त्यहाँ कोरोना भाइरसको तेस्रो लहर आक्रामक बन्दै गएपछि दैनिक संक्रमितको संख्या झण्डै साढे २ लाख पुग्न लागेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ४१७ जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या मंगलबारको तुलनामा २७ प्रतिशतले बढी हो । योसँगै भारतमा कोरोनाको कहर गत मे महिनाको अवस्थामा पुगेको छ ।

भारतमा १० दिनको अवधिमा कोरोना संक्रमितको संख्या ६ गुणाले बढेको भारतीय समाचार माध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर ८४ हजार ८२५ जना निको भएको र ३८० जनाको मृत्यु भएको पनि समाचारमा उल्लेख छ ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या बढेर ११ लाख १७ हजार ५३१ पुगेको छ भने दैनिक पोजिटिभिटी दर १३.११ प्रतिशत पुगेको छ । त्यस्तै, कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ५ हजार ४८८ पुगेको छ ।

ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै अर्थात् १३६७ रहेका छन् । दोस्रो स्थानमा रहेको राजस्थानमा ओमिक्रोनबाट हालसम्म ७९२ जना संक्रमित भएका छन् । यसबाहेक, दिल्लीमा ५४९, कर्नाटकमा ४७९, पश्चिम बंगालमा २९४ र उत्तर प्रदेशमा २७५ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

यसैबीच, तेस्रो लहर आक्रामक बन्दै गइरहेका बेला औषधि निर्माता कम्पनी भारत बायोटेकले बुधबार आफ्नो खोपको बुस्टर डोजले ओमिक्रोन र डेल्टा भेरियन्टविरुद्ध काम गर्ने बताएको छ । दोस्रो डोज लगाएको ६ महिनापछि कोभ्याक्सिनको बुस्टर डोज लगाउँदा दुवै भेरियन्टविरुद्ध काम गर्ने इमोरी विश्वविद्यालयको अध्ययनले देखाएको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?