+
+

कृषि मन्त्रालयका कारण २० हजार मेट्रिकटन मल आयात अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १८:३९

२९ पुस, काठमाडौं । कृषि मन्त्रालयले कृषि सामग्री कम्पनीमा नेतृत्व तोक्न अलमल गर्दा नेपाल ल्याउन तयारी गरिएको २० हजार मेट्रिकटन डीएपी मलको आयात अनिश्चित बनेको छ ।

स्विस सिंगापुर नामक विदेशी ठेकदारमार्फत इजिप्टबाट खरिद गर्न लागिएको २ अर्ब ६३ करोड १६ लाख ६४ हजार मूल्य बराबरको मल सम्झौता गर्ने अधिकारी नहुँदा अलपत्र बनेको गुनासो आयातकर्ताले गरेका छन् ।

अख्तियारले कृषि कम्पनीको उच्च अधिकारीसहित खरिद महाशाखाका सबैलाई ११ दिन अघि भ्रष्टाचार मुद्दा दायार गरेपछि कम्पनी नेतृत्वविहीन छ । ‘कम्पनीको कार्यसञ्चालन जिम्मेवारी तोक्न मन्त्रालयले अलमल गर्दा ठेक्कामा गइसकेको मलसमेत सम्झौता हुन सकेन,’ आयातकर्ताले भने ।

ठेक्दार कम्पनीलाई कृषि सामग्रीले पुस २५ भित्रको म्याद दिएर आसयको सूचना निकालेको र त्यो समय पनि गुज्रिएको कृषि सामग्री कम्पनीले जनाएको छ । ‘आसयको सूचना निकाले पछि ठेकदार कम्पनीले मल ल्याउने भेसल नम्बर कम्पनीलाई बुझाउनु पर्छ, सोही आधारमा मलको सम्झौता गरेर एलसी खोल्ने हो,’ ती अधिकारी भन्छन्, ‘तर यहाँ ठेकदारले मल लिन इजिप्ट जाने जाहाज पक्का गर्दा पनि सम्झौता गर्ने मान्छे भएनन् । ’

ठेकदार कम्पनीका अनुसार कृषि सामग्री कम्पनीलाई मल आयात पक्का भएको विवरण (भेसल नम्बर एम भी टण्डीन २५७) पठाइसकिएको छ । तर, समयमै सम्झौता गर्ने अधिकारी नहुँदा मल लिन कम्पनीले बोलाएको बेला जाहाज जान नसक्ने अवस्था सिर्जना भएको छ । ठेकदार कम्पनीलाई दिएको म्याद गुज्रिएको चार दिन हुँदा पनि चासो नदिएपछि मल आयात रोकिए त्यसको जिम्मा मन्त्रालयले लिनु पर्ने ठेकदार कम्पनी स्विस सिंगापुरले जनाएको छ ।

यता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने अख्तियारको कारबाही पछि कम्पनीको कामहरुमा अलमल भएको स्वीकार गरेको छ । कम्पनी नेतृत्वविहीन हुँदा ठेकदार कम्पनीले मल ल्याउन समस्या भएको जानकारी मन्त्रालयमा नोट भएको मन्त्रालय सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।

गुनासोहरु नोट भएको छ, कानुनी उल्झनका कारण ठ्याक्कै निर्णय लिन केही समय लागेको छ,’ प्रवक्ता सञ्जेलले भने । प्रबन्ध सञ्चालक, खरिद माहाशाखा प्रमुखसहित कम्पनीका उच्च अधिकारी निलम्बनमा परेपछि कामु वा काम चलाउ गर्ने नेतृत्व कस्लाई दिने भन्नेबारे कानुनहरु हेरिरहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?