+
+

चोर पछ्याउँदा हराएको कुकुर खोज्न हेलिकप्टर र ड्रोनसहित सय जना खटिए

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १५:५०

३० पुस, काठमाडौं । अष्ट्रेलियामा प्रहरीको कुकुर हराएपछि व्यापक खोजी कार्य शुरु गरिएको छ ।

खोजी कार्यमा हेलिकप्टर र ड्रोनसहित अधिकारी एवं स्वयंसेवक गरी सय जना भन्दा बढी परिचालन गरिएको आरटी डटकमले जनाएको हो । समाचारअनुसार ब्रिस्बेनको बाहिरी भागमा उक्त कुकुरको खोजी कार्य भइरहेको छ ।

गत हप्ता चोरी भएको एक कारको खोजतलास गर्ने क्रममा पीडी क्विज हराएको थियो । मंगलबार ब्रिस्बेनबाट झण्डै ४० किलोमिटर टाढा रहेको इप्सविच क्षेत्रमा कारको खोजतलास गर्ने क्रममा सँगै गएका अधिकारीबाट कुकुर अलग भएको थियो ।

संदिग्ध व्यक्तिले चोरेको कार छोडेर झाडीमा प्रवेश गरेलगत्तै प्रहरीको कुकुरले ती व्यक्तिलाई पछ्याएको थियो । बाक्लो झाडीभित्र चोरलाई पछ्याउने क्रममा बेपत्ता भएको कुकुर नफर्केपछि अधिकारीहरूले खोजी कार्य शुरु गरेका हुन् ।

क्विन्सल्याण्ड प्रहरीले खोजी गरिरहेको कुकुरलाई स्थानीय मिडियाले ‘प्रिय’ भनेका छन् । प्रहरीले ट्विटरमा अपलोड गरेको एक भिडियोमा क्विजलाई लिएर गएका वरिष्ठ कन्स्टेबल डान म्याग्रीभीले ३ वर्षको उक्त कुकुरको स्थान अरु कुकुरले लिन नसक्ने बताए ।

‘म एउटा व्यक्तिको रुपमा ऊसँग जति हुर्किएँ त्यति नै ऊ पनि हुर्किएको हो’, म्याकग्रीभीले भने । उनले क्विज आफ्नो परिवारको सदस्य र साथी जस्तै भएको भन्दै खोजी कार्यमा संलग्न सबैप्रति आभार समेत व्यक्त गरेका छन् ।

प्रहरीले कुकुरबारे जानकारी दिने व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको छ । तर हालसम्म खोजी कार्यमा कुनै सफलता मिलेको छैन । कुकुरलाई कसैले समातेर घर लगेको हुन सक्ने प्रहरी निरीक्षक माइकल थिसफिल्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?