+
+

बाँकेमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ पुष ३० गते १९:१२

३०, पुस दाङ । दोस्रो लहरको कोरोना भाइरस महामारी सकिएपछि बाँकेमा शून्यमा झरेको संक्रमितको संख्या अहिले फेरि बढेको छ ।

शुक्रबारमात्रै भारतबाट आउनेहरुसहित गरी ८१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । भारतबाट आएका ३ सय १५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको बाँके जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।

त्यस्तै भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज र बागेश्वरी ल्याबमा ११४ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमित पुष्टी भएको उनले बताए । संक्रमितमध्ये २६ जना बाँके र १३ जना बाहिर जिल्लाका छन् । बिहीबारमात्रै बाँकेमा एक जना स्वास्थ्यकर्मी सहित ८५ जनालाई कोरोना संक्रमण देखिएको थियो ।

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि भारत पुगेका नेपालीहरु घर फर्किरहेका छन् । भारतबाट आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टी भइरहेको छ ।

‘पछिल्लो संक्रमणको अवस्था हेर्दा नाकामात्रै नभएर जिल्लामा पनि संक्रमण बढेको देखिन्छ’ कोभिड–१९ फोकल पर्सन वलीले भने, ‘एक साता यता संक्रमित ह््वातै बढेको छ ।’

उनका अनुसार भारतबाट आएका व्यक्तिलाई कोरोना जाँच्नेक्रममा स्वास्थ्यकर्मी स्वयं संक्रमित भइरहेका छन् । हालसम्म जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा कार्यरत आठ जना स्वास्थ्यकर्मी संक्रमित भइरहेको फोकल पर्सन वलीले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले अधिकांश भारतबाट फर्केकाहरुमा संक्रमण देखिएको बताए । भारतमा ओमिक्रोन फैलिरहेका बेला त्यहाँबाट आउनेहरुमा देखिएको भेरियन्ट ओमिक्रोन हुन सक्ने उनले बताए ।

‘अहिले देखिएको भेरियन्ट डेल्टा भन्दा फरक छ’ उनले भने, ‘ओम्रिकोन हो, होइन भनेर नमुना जाँचका लागि टेकु अस्पतलामा पठाएको छौं, तर लक्षण हेर्दा ओमिक्रोन नै हुन सक्ने हाम्रो अनुमान छ ।’ अहिले भारतबाट फर्केकाहरुमा देखिएको भेरियन्ट छिटो–छिटो फैलिरहेको उनले बताए ।

नेपालगञ्जका अस्पतालहरुमा बिरामीको संख्या पनि बढ्दै गएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबारसम्म बाँकेको भेरी अस्पतालमा एचडीयूमा ८ जना, आईसीयूम २ जना र भेन्टिलेटरमा १ जना कोभिड संक्रमितका विरामी छन् । हाल बाँकेमा सक्रिय संक्रमितको संख्या १४३ पुगेको छ ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?