+
+

मधेशबाट राष्ट्रियसभामा निर्वाचित अर्याल र सिद्दिकी को हुन् ?

बुधबार भएको राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका मोहम्मद खलिफ सिद्धिकी निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते २१:२०

१२ माघ, जनकपुरधाम । बुधबार भएको राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका मोहम्मद खलिफ सिद्धिकी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनबाट निर्वाचित उर्मिला अर्याल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पनि हुन् । पर्सा जिल्लाको बीरगंज उपमहानगरपालिका १६ गण्डक निवासी उनी एक पटक मन्त्री र एक पटक राज्यमन्त्री भइसकेकी छन् ।

२०३५ सालदेखि नै कम्युनिष्ट पार्टीमा लागेकी उनी २०३६ सालमा ठाकुरराम क्याम्पसमा विद्यार्थी यूनियनको उपाध्यक्षमा जितेकी थिइन् ।

२०४८ सालमा नेकपा एमालेको तर्फबाट पर्सा क्षेत्र नम्बर ४ बाट सांसद चुनाव लडेकी उनी पराजित भइन् । २०५६ मा उनी सोही पार्टीबाट उम्मेदवार भएर जितिन् । र, गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारमा महिला राज्यमन्त्री बन्न सफल भएकी थिइन् ।

२०६४ को पहिलो संविधान सभामा उनी समानुपातिक पद्धतिबाट सांसद् बनिन् । र, झलनाथ खनाल नेतृत्वको सरकारमा २०६८ सालमा स्थानीय विकास मन्त्री भइन् ।

उनी २०७० सालको दोस्रो संविधानसभा र २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरेकी थिइन् । तर, दुबै चुनावमा पराजित भइन् ।

२०७० सालमै उनले पार्टी परिवर्तन गर्दै एमालेबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गरिन् । उनी अहिले पार्टीको केन्द्रीय सदस्य तथा महिला विभाग इन्चार्ज र स्थानीय निकाय इन्जार्च पनि हुन् ।

यस्तै, सत्ता गठबन्धनबाट निर्वाचित मो. खलिफ सिद्धिकी जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य हुन् । सिरहाको सिरहा नगपालिका ५ रमौल निवासी उनी २०५० सालदेखि कांग्रेसबाट राजनीति शुरु गरेका थिए । कांग्रेसमा रहँदा केन्द्रीय सदस्य र पार्टीको तर्फबाट हज कमिटिमा पनि रहन सफल भएका थिए ।

२०५९ सालमा उनी कांग्रेस छाडेर तत्कालिन मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए । फोरम नेपाल जसपा बन्दासम्म उनी यही पार्टीमा छन् । ‘यसअघि पार्टीले कुनै मौका नदिएको र अहिले राष्ट्रियसभाको सदस्य बन्ने मौका दिएपछि खुशी लागेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?