+
+

प्रदेश-१ का नौ जिल्लाको जनसंख्या घट्यो

विवश कुलुङ विवश कुलुङ
२०७८ माघ १३ गते १७:३६

१३ माघ, काठमाडौं । पछिल्लो १० वर्षमा प्रदेश-१ का नौ जिल्लाको जनसंख्या घटेको पाइएको छ । प्रदेश १ का पहाडी जिल्लाहरू खोटाङ, भोजपुर, पाँचथर, धनकुटा, ओखलढुंगा, इलाम,सोलुखुम्बु पाँचथर र ताप्लेजुङको जनसंख्या २०६८ सालमा भन्दा २०७८ सालमा कम भएको पाइएको हो ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा देशका ३२ जिल्लाको जनसंख्या २०६८ सालमा भन्दा कम भएको छ, जसमा प्रदेश १ का नौ जिल्ला रहेका छन् ।

खोटाङमा २०६८ सालमा भन्दा ३० हजार ९७२ जनाले जनसंख्या कम भएको छ । २०६८ सालमा दुई लाख ६ हजार ३१२ रहेकामा २०७८ सालमा एक लाख ७५ हजार ३४० मा झरेको छ ।

भोजपुरको जनसंख्या २०६८ सालमा एक लाख ८२ हजार २५९ रहेकामा २०७८ मा एक लाख ५८ हजार ९९१ मा झरेको छ ।

तेह्रथुममा २०६८ सालमा एक लाख एक हजार ५७७ जनसंख्या रहेकामा २०७८ सालमा ८९ हजार १२५ मा झरेको छ ।

पाँचथरमा ०६८ सालमा एक लाख ९१ हजार ८१७ जनसंख्या रहेकामा २०७८ सालमा एक लाख ७४ हजार ४१९ कायम भएको छ ।

धनकुटाको जनसंख्या २०६८ सालमा एक लाख ६३ हजार ४१२ रहेकामा २०७८ सालमा एक लाख ४९ हजार ९८४ कायम भएको छ । ताप्लेजुङमा २०६८ मा एक लाख २७ हजार ४६१ जना रहेकामा २०७८ मा एक लाख २० हजार ३५९ मा झरेको छ ।

‌ओखलढुङ्गामा २०६८ सालको जनसंख्या एक लाख ४७ हजार ९८४ रहेकामा २०७८ मा एक लाख ४० हजार ९१४ मा झरेको छ ।

इलामममा २०६८ सालमा दुई लाख लाख ९० हजार २५४ जनसंख्या रहेकामा २०७८ सालमा दुई लाख ८० हजार ५६५ मा झरेको छ ।

सोलुखुम्बुमा २०६८ सालमा एक लाख पाँच हजार ८८६ जना रहेकामा २०७८ सालमा एक लाख चार हजार ७६८ मा झरेको केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश १ को पहाडी जिल्ला संखुवासभामा भने जनसंख्या बढेको छ । संखुवासभाको जनसं‌ख्या १० वर्षमा ३०४ जना बढेर एक लाख ५९ हजार ४६ पुगेको छ ।

प्रदेश १ को ५ जिल्लामा भने २०६८ सालको भन्दा जनसंख्या बढेको छ । प्रतिशतका आधारमा सबैभन्दा धेरै जनसंख्या झापाको बढेको छ । झापाको जनसंख्या २०६८ सालमा आठ लाख १२ हजार ६५० रहेकोमा अहिले एक लाख ८१ हजार ४४० ले बढेर नौ लाख ९४ हजार ९० पुगेको छ ।

त्यस्तै मोरङ, सुनसरी र उदयपुरको पनि जनसं‌ख्या बढेको छ । मोरङको जनसंख्या एक लाख ८१ हजार ८१६ जना बढेर एघार लाख ४७ हजार १८६ पुगेको छ ।

सुनसरीमा १० वर्षको अवधिमा २९ हजार २६ जना बढेर जिल्लाको कूल जनसंख्या नौ लाख ३४ हजार ४६१ पुगेको छ भने उदयपुरको २०६८ को जनस‌ंख्या तीन लाख १७ हजार ५३२ रहेकोमा बढेर तीन लाख ४२ हजार ७७४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?