+
+

ओमिक्रोनको ‘सब भेरियन्ट’ कति घातक ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १८:०७

१३ माघ, काठमाडौं । कोभिड-१९ को संक्रामक भेरियन्ट ओमिक्रोनको सहप्रजाति फेला परेसँगै महामारीले आगामी दिनमा कस्तो रुप लिनसक्छ भन्ने चर्चा हुन थालेको छ ।

अमेरिकासहितका मुलुकमा ओमिक्रोनका संक्रमित घटिरहेका बेला ‘बीए.२’ भनिएको सहप्रजाति (सब भेरियन्ट) युरोप र एसियामा फैलिन थालेको छ । जन स्वास्थ्यविद्हरूले यो सब भेरियन्टलाई निगरानी गर्नुपर्ने बताइरहेका छन् । तर, ओमिक्रोनभन्दा के-कति संक्रामक वा घातक छ भनेर हालसम्म प्रस्ट भइसकेको छैन ।

ओमिक्रोनका अन्य दुईवटा सब भेरियन्ट (बीए.१ र बीए.३)समेत छन् । जाडो मौसममा नयाँ संक्रमण सुरु गरेको बीए.१ र बीए.२ सँग कैयौं समान म्युटेशन रहेको विज्ञहरूको भनाइ छ । त्यस्तै, दुबै सब भेरियन्टमा २० पटकसम्म फरक-फरक म्युटेशन भइसकेको छ ।

तर, यतिबेला बीए.२ को बढी चर्चा हुनुको पछाडि यसमा केही जेनेटिक विशेषताको हात छ । यिनै विशेषताका कारण यसले पीसीआर परीक्षण छल्न सक्ने बताइएको छ । पहिचान गर्न गाह्रो हुने भएकाले यसलाई चोर भेरियन्ट (स्टल्थ भेरियन्ट) समेत भन्न थालिएको छ । तर, यसको अर्थ बीए.२ ले ल्याब परीक्षण छल्छ भन्ने होइन । अर्थात् ल्याब परीक्षणबाट यसलाई पहिचान गर्न सकिन्छ ।

पछिल्लो रिपोर्ट अनुसार अमेरिका, बेलायत र भारतसहित ४० भन्दा बढी मुलुकमा बीए.२ सब भेरियन्ट फेला परिसकेको छ । बेलायतमा यसको अनुसन्धान सुरु भइसकेको छ भने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसका विशेषतालाई चीरफार गर्नुपर्ने बताएको छ ।

डेनमार्कमा बीए.२ ले बीए.१ लाई उछिनिसकेको छ वा यसको संक्रमण क्षमता झण्डै २ गुणा रहेको अधिकारीहरूको भनाइ छ । उक्त मुलुकमा देखिने नयाँ संक्रमितमध्ये झण्डै ६५ प्रतिशत यसैका रहेको बताइन्छ । तर, आईसीयूमा भर्ना हुने संक्रमितको संख्या घटिरहेका कारण यसले संक्रमितलाई गम्भीर अवस्थामा नपुर्‍याउने भनेर सहजै अनुमान गर्न सकिन्छ ।

कैयौं मुलुकमा संक्रमित भेटिने क्रम जारी रहेका कारण बीए.१ भन्दा बीए.२ संक्रामक हुन सक्ने लण्डन इम्पेरियल कलेजका भाइरस विज्ञ टोम पिकक बताउँछन् । ‘बीए.१ भन्दा बीए.२ कति संक्रामक वा घातक छ भनेर हालसम्म प्रस्ट भइसकेको छैन’, पिककले ट्विटरमा लेखेका छन्, ‘तर हामीले केही अनुमान भने गर्न सक्छौं ।’ आउँदा हप्तामा यसबारे सबै कुरा प्रस्ट हुने पनि उनको भनाइ छ ।

खासगरी तीनवटा विशेषता अर्थात् बढ्दो संक्रामक क्षमता, संक्रमितलाई गम्भीरमा पुर्‍याउने अवस्था र खोपको प्रभावकारिता हेरेर कोभिड-१९ को कुनै पनि भेरियन्टको घातकता मापन गरिने भन्डेरविल्ट युनिभर्सिटी मेडिकल सेन्टरका प्राध्यापक डा. विलियम सेफनर बताउँछन् ।

तर, ओमिक्रोनभन्दा यसको भेरियन्ट फरक भएको भनेर कुनै तथ्य फेला नपरेको भन्दै सेफनरले भने, ‘ अरू भेरियन्टलाई ओमिक्रोनभन्दा संक्रामक हुन कठिन हुन्छ र यो सब भेरियन्ट बढी संक्रामक भएको कुनै संकेत पाइएको छैन ।’

बीए.२ सब भेरियन्टका कारण विज्ञहरू चिन्तित हुनुका पछाडि थप दुईवटा कारणसमेत छन् । पहिलो कारण ओरिजिनल ओमिक्रोनबाट संक्रमित व्यक्ति पुन: बीए.२ बाट संक्रमित होलान् वा नहोलान् भन्ने हो । दोस्रो, यसले खोपप्रति कस्तो प्रतिक्रिया जनाउँछ भन्ने हो ।

-एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?