
१६ माघ, काठमाडौं । उत्तर कोरियाले ५ वर्षपछि पहिलो पटक शक्तिशाली मिसाइल परीक्षण गरेको छ । आइतबार उत्तर कोरियाले २०१७ यताकै लामो दूरीको मिसाइल (क्षेप्यास्त्र) परीक्षण गरेको विज्ञहरूले बताएका हुन् ।
जापान र दक्षिण कोरियाले उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र जस्तै वस्तु परीक्षण गरिएको बताएलगत्तै विज्ञहरूले ५ वर्षयताकै शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको बताएका हुन् ।
दक्षिण कोरियाको सेनाले उत्तर कोरियाको जागाङ प्रान्तबाट आइतबार बिहान ७:५२ बजे ब्यालिस्टिक मिलाइलजस्तो वस्तु समुन्द्रतर्फ प्रहार गरिएको बताएको छ ।
त्यस्तै जापानी मन्त्रिपरिषद्का प्रमुख सचिव हिरोकाजु मात्सुनोले उत्तर कोरियाद्वारा परीक्षण भएको क्षेप्यास्त्र २ हजार किलोमिटर माथिसम्म पुगेको र ३० मिनेटमा ८ सय किलोमिटर पार गरेको बताएका छन् ।
सबै तथ्य हेर्दा उत्तर कोरियाले यसअघि २०१७ मा परीक्षण गरेको ह्वासङ-१२ नामक मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको विज्ञहरूको भनाइ छ ।
‘२०१७ को नोभेम्बरयता परीक्षण भएकाभन्दा यो क्षेप्यास्त्र शक्तिशाली छ’, कार्नेगी इन्डोमेन्ट फर इन्टरनेशनल पिसका अंकित पाण्डाले ट्विटरमा लेखेका छन् ।
उत्तर कोरियाले शुक्रबार मात्रै २ वटा लामो दूरीका क्रुज मिसाइल परीक्षण गरेको बताएको थियो । त्यस्तै, उसले यसै महिनाको सुरुमा आणविक बम र अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण फेरि गर्ने संकेत गर्दै सबै स्थगित आणविक कार्यक्रम पुन: सुचारु गर्ने तयारी भइरहेको बताएको थियो ।
उत्तर कोरियाले नयाँ वर्ष सुरु भएयता हाइपरसोनिक मिसाइलसहित ७ पटक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । त्यहाँका नेता किम जोङ उनले आफूहरू मुलुकको सैन्य क्षमता बढाउँदै हतियार भण्डारलाई आधुनिक बनाउने बताइरहेका छन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4