
२५ माघ, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकामा दुईवटा बर्थिङ सेन्टरको शिलान्यास गरिएको छ । वीरगञ्ज-१७ अलौं र वडा नं २६ सुगौली विर्तामा बन्न लागेको बर्थिङ सेन्टरको शिलान्यास गरिएको हो ।
नगरप्रमुख विजय कुमार सरावगीले मंगलबार दुवै बर्थिङ सेन्टरको शिलान्यास गरेका छन् । नगर क्षेत्रमा स्वास्थ्य संस्थामा प्रसूती गराउन प्रोत्साहन गर्नुको साथै सुरक्षित प्रसूती सेवा प्रदान गर्ने उद्देश्यले बर्थिङ सेन्टर बनाउन लागिएको नगर प्रमुख सरावगीले जानकारी दिए ।
वडा नं २६ का वडा अध्यक्ष शम्भु मिश्राले बर्थिङ सेन्टर तयारभएपछि वडाबाटै सामान्य प्रसूती सेवा प्रदान गर्न सकिने बताए । ‘ गाउँघरमा सुत्केरी ब्यथाले च्यापेपछि रातबिरात वीरगञ्ज लैजानुपर्ने अवस्था छ ।’ उनले भने ‘ राति एम्बुलेन्स खोजेर गर्भवती महिलालाई अस्पताल पुर्याउन गाह्रै हुन्छ, वडामै बर्थिङ सेन्टर तयार भएपछि यो समस्याबाट छुटकारा मिल्छ ।’
बर्थिङ सेन्टर तयार भएपछि आवश्यक जनशक्ति माग गरेर सञ्चालनमा ल्याउने उनको भनाइ छ । वीरगञ्ज महानगरपालिकाको पूर्वाधार विकास शाखाका अनुसार राष्ट्रिय योजना आयोगको विशेष अनुदानबाट नगर क्षेत्रमा पाँचवटा बर्थिङ सेन्टर बनाउन लागिएको छ ।
वीरगञ्ज-२२ जगरनाथपुर, २६ नं सुगौलीविर्ता, १७ नं अलौं, ३१ नं बेल्वा र २९ नं बसडिल्वामा चालु आर्थिक वर्षभित्र नै बर्थिङ सेन्टर बनाईसक्ने गरी काम अघि बढाइएको छ । पाँचवटा बर्थिङ सेन्टर बनाउने जिम्मा पीएमसप्तपथड्रामा जेभीले पाएको छ । उसले ३ करोड ६८ लाख ८ हजार ४ सय रुपैयाँमा ५ वटै बर्थिङ सेन्टर तयार पार्नेछ ।
बाँकी तीनवटा बर्थिङ सेन्टरको निर्माणको काम पनि छिट्टै सुरु हुने महानगरपालिकाका ईन्जिनियर प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार महानगरले तयार पारेको डिजाइन अनुसार नै निर्माण कम्पनीले बर्थिङ सेन्टर बनाउनेछ ।
महानगरपालिकाले प्रति बर्थिङ सेन्टर निर्माण लागत १ करोड ११ लाख रुपैयाँ अनुमान गरेको थियो । १ तल्ले पक्की बर्थिङ सेन्टर भवन सुविधा सम्पन्न हुने सहरी पूर्वाधार विकास महाशाखाका प्रमुख ईन्जिनियर राकेश साह बताउँछन् ।
बर्थिङ सेन्टरमा प्रि डेलिभरी, पोष्ट डेलिभरी, जाँच कक्ष, ड्रेसिङ रुम, ल्याब, स्टोर, प्रशासनिक कार्य गर्नका लागि छुट्टाछुट्टै कोठा र शौचालयको व्यवस्था भवनमा हुनेछ । १६ वटा ग्रामिण वडा सहित ३२ वटा वडा रहेको वीरगञ्जमा हाल दुईवटा मात्रै बर्थिङ सेन्टर सञ्चालनमा छ ।
वडा नं २८ स्थित बगही प्राथमिक स्वास्थ्य केन्द्र र वडा नं २१ लिपनीविर्तास्थित स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छ । वीरगञ्ज बजार क्षेत्रमा नारायणी अस्पताल लगायत विभिन्न नीजि अस्पताल तथा क्लिनिकले विशेषज्ञ डाक्टर मार्फत प्रसूती सेवा प्रदान गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4