२८ माघ, काठमाडौं । विगत ४५ वर्षदेखि लालपुर्जाविहीन काभ्रे भुम्लू गाउँपालिकाका करिब एक हजार दुई सय परिवारको जमिनबारे छानबिन गरिने भएको छ । यसका लागि आगामी फागुन पहिलो साताभित्रै पुनः टोली फिल्डमा पठाइने भएको छ ।
आन्तरिक विवादलगायत कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब डेढवर्ष छानबिनको काम रोकिएको थियो । गाउँपालिकाको वडा नम्बर ७ र ८ मा जग्गा विवाद छानबिन गरी लालपुर्जा वितरणका लागि गाउँपालिका, वडा तथा जिल्लास्थित मालपोत र नापी कार्यालयबीच बिहीबार एक हप्ताभित्रै पुनः टोली पठाउने सहमति भएको हो ।
‘एक हप्ताभित्र पुनः फिल्डमै कर्मचारी पठाउने निर्णय भएको छ, उहाँहरूले रोकिएको काम पुन:सुरु गर्नुहुनेछ’ नापी कार्यालय प्रमुख राम विनयकुमार सिंहले भने । उनका अनुसार नापीका केही कर्मचारी फिल्डमै छन् । दुवै वडामा २०७६ साल पुसमा नापी र मालपोतका दुई कार्यालय स्थापना गरिएको थियो ।
यसलगत्तै नेपालमा पनि महामारी फैलिएपछि थालिएको काम रोकिएको हो । करिब दुई वर्षदेखि स्थानीयस्तरका नापी र मालपोतका कार्यालय कर्मचारीविहीन बनेका थिए । फिल्डमा खटेको नापीको टोली स्थापनाको केही महिनापछि नै फर्किएपछि ४५ वर्षदेखि लालपुर्जाको पर्खाइमा बसेका करिब एक हजार दुई सय परिवारमा पुनःनिराशा छाएको थियो भने लालपुर्जा वितरणमा थप अन्योलता कायम हुँदै आएको थियो ।
उक्त गाउँपालिकाको ७ र ८ नम्बर वडामा स्थानीयवासीको जग्गाधनी र जग्गाको छानबिन गरी लालपुर्जा दिन जिल्लास्थित कार्यालयमा सिफारिस गर्न दुई कार्यालय राखिएको थियो । तत्कालीन नक्शाङ्कनको अवस्थामा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि उनीहरूले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपुर्जा प्राप्तिका लागि निवेदन दर्ता गरेका थिए । कार्यालयका प्रमुख सिंहले तीन लहरको कोरोना सङ्क्रमणका कारण करिब डेढ वर्ष भुम्लु गाउँपालिकाको जमिनको छानबिन गरी लालपुर्जा वितरणको काम प्रभावित बनेको हो ।
साविकको भुम्लुटार र फलाँटे गाउँ विकास समितिबीचको सिमाना विवादका कारण ४५ वर्षदेखि यी दुई तत्कालीन गाविसका सर्वसाधारणले हालसम्म पनि आफूले प्रयोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र(लालपुर्जा) प्राप्त गर्न सकेका छैनन् । कार्यालयका अनुसार ७ नम्बर वडास्थित कार्यालयमा ९३२ र ८ नम्बरमा ३१७ निवेदन दर्ता भएको छ । नापी कार्यालयद्वारा निवेदन बुझ्ने काम भएको तर थप प्रक्रिया अघि बढेको छैन ।
कार्यालयले मालपोत कार्यालयबाट जमिनको सुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा श्रेस्ता आएपछि मात्रै निवेदन दिएका व्यक्तिको जग्गा दर्तागरी लालपुर्जा दिन सकिने जनाउँदै आएको छ । हाल दुवै वडामा तेस्रोपक्ष व्यक्तिमा किनबेच नभएको जग्गामात्रै दर्ता गर्न सकिने तथा अन्यको हकमा कानुनी आधारमा निर्क्यौल गरी प्रक्रिया थाल्नुपर्ने देखिएको जनाइएको छ ।
अध्यक्ष गुमानध्वन कुँवरका अनुसार अनुसार साविकको पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा खेतीयोग्य जमिन परेपछि त्यो जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण तत्कालीन नापी टोली फर्किएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4