+
+

८ दिनमा दुई म्याराथन : प्रतिस्पर्धा फितलो हुने डर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १९:११
पोखरा म्याराथनको फाइल तस्वीर ।

४ फागुन, काठमाडौं । अर्धव्यवसायिक खेल गतिविधि हुने नेपालमा प्रतियोगिताहरु कमै आयोजना हुने गर्छ । अझ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्यालेण्डरसँग मिलाएर र वैज्ञानिक प्रणालीमा प्रतियोगिता निकै कम हुन्छन् ।

चुस्त व्यवस्थापन वा नियमनकारी निकायबीच समन्वयको अभावले एकै समयमा आयोजना हुने उस्तै प्रतियोगिताले खेलको विकास र खेलाडीको ‘एक्स्पोजर’मा समेत प्रत्युत्पादक हुने खतरा छ ।

त्यसको एउटा उदाहरण हो, सिटी म्याराथनको अवधारणामा हुने पोखरा म्याराथन र नेपाली सेनाको स्थापना दिवसका अवसरमा हुने प्रधानसेनापति म्याराथन ।

पोखरा म्याराथनको १६औं संस्करण फागुन ७ हुनेछ भने प्रधानसेनापति म्याराथन को सातौं संस्करण फागुन १४ । अर्थात ८ दिनमा दुई म्याराथन हुने भएपछि राष्ट्रिय खेलाडीहरुले दुई मध्ये एक रोज्नुपर्ने अवस्था आएको छ ।

नेपालमा हरेक वर्ष नियमित चारवटा म्याराथन हुने गरेका छन् । काठमाडौं, नेपालगन्ज म्याराथन, पोखरा र प्रधानसेनापति म्याराथन । कोरोना महामारीका कारण दुई वर्षदेखि काठमाडौं म्याराथन भएको छैन । नेपालगञ्ज म्याराथन हरेक वर्ष मंसिर पहिलो शनिबार हुने गरेको छ । तर पोखरा म्याराथन र प्रधानसेनापति म्याराथनको समय भने जुध्ने गरेको छ । २०२० मा एकै दिन ३ फागुनमा परेको थियो । यो पटक पनि एक साताको अन्तरमा हुनेछ ।

दुई म्याराथन एकै समयमा पर्दा खेलाडीहरुले आफूअनुकुलको प्रतियोगिता रोज्नुपर्नेछ । यसपल्ट अधिकांश राष्ट्रिय खेलाडीले नेपाल आर्मीले आयोजना गर्ने म्याराथन खेल्दैछन् । पुरस्कार रकमको आकर्षण, काठमाडौंको रुट र विभागीय टोलीमा आवद्धताका कारण पनि धावकले आर्मी म्याराथन रोजेका छन् । म्याराथन धावक गोपीचन्द्र पार्कीले पनि यसपल्ट आर्मी म्याराथन नै रोजेका छन् ।

‘एकै समयमा दुई म्याराथन हुँदाका फाइदा र बेफाइदा दुवै छन् । दुवै प्रतिष्ठित प्रतियोगिता भएको हुनाले खेलाडीहरु बाँडिन्छन् र पुरस्कार रकमबाट धेरैले आर्थिक फाइदा लिन्छन्,’ गोपीले अनलाइनखबरसँग भने, ‘तर दुई प्रतियोगितामा धावकहरु बाडिँदा प्रतिस्पर्धा फितलो हुने हो कि भन्ने डर पनि छ ।’

तपाईंले आर्मी म्याराथन नै रोज्नुको कारण के हो त भन्ने प्रश्नमा गोपी भन्छन् ‘यो एथ्लेटिक्स संघले प्राथमिकतामा राखेको प्रतियोगिता हो । नेपालका धेरैजसो स्तरीय खेलाडी त्रिभुवन आर्मी क्लबमै भएको हुनाले राम्रो प्रतिस्पर्धा हुने ठानेको छु ।’

यही वर्ष बर्लिन म्याराथन दौडिएर फर्किएका गोपीले एथलेटिक्स संघ र प्रतियोगिता आयोजकबीच राम्रो समन्वय भइदिए सबै प्रतियोगितामा दौडिन पाइने धारणा राखे ।

विगतका प्रतियोगिता जितेका झण्डै एक दर्जन म्याराथन धावक त्रिभुवन आर्मीमा छन् । त्यसबाहेक अधिकांश धावक एपीएफ र नेपाल पुलिसका लागि खेल्ने गर्छन् । पोखरा म्याराथनको उपाधि विजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउँछन् । त्यसमा २५ प्रतिशत करकट्टाको व्यवस्था छ । आर्मी म्याराथनको विजेताले ३ लाख रुपैयाँ नगद र एक थान मोटरसाइकल पुरस्कार पाउँछन् । त्यसबाहेक  काठमाडौंको रुटमा धावकहरुले सहज महसुस गर्ने गरेका छन् ।

यही कारण फागुन ७ गते हुने पोखरा म्याराथनमा राष्ट्रियस्तरका अधिकांश धावकहरु सहभागी हुने छैनन् । यसले भूतपूर्व खेलाडी संघको आयोजनाको सफलतामै प्रश्न उठ्ने देखिएको छ । यद्यपि यस पटक केन्याका धावकहरुले समेत नाम दर्ता गरेका छन् । ‘उनीहरुको टाइमिङ नेपाली धावकको भन्दा राम्रो छ,’ गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव समेत रहेका संघका अध्यक्ष तेज गुरुङ भन्छन्, ‘तर एक साताको बीचमै प्रतियोगिता आयोजना हुँदा राष्ट्रिय खेलाडीहरु बाँडिने भएका छन् । यो एउटा गम्भीर समस्या हो ।’

एथ्लेटिक्स संघसँग समन्वय गरी आयोजकहरुले समाधान खोज्नुपर्ने महसुस गरेको भन्दै उनले प्रतियोगिता सकिएलगत्तै सरोकारवाला सबै बसेर उचित निर्णय गर्ने बताए ।

प्रतियोगिता जुध्दा हुने समस्यालाई पूर्वानुमान गर्न नसक्नु आयोजकसँगै नियमनकारी निकाय नेपाल एथलेटिक्स संघको कमजोरी हो । घरेलु म्याराथन घावकहरुको उपलब्धता र सीमित प्रतियोगिताका बीच भएका म्याराथन पनि एकै समयमा आयोजना हुनुले दीर्घकालीन विकासको चरणमा बाधा पुग्ने विज्ञको तर्क छ ।

‘हामीकहाँ म्याराथन प्रतियोगिता सीमित हुने गरेका छन् । अहिले देखिएको चारवटा म्याराथन प्रतियोगिताको आयोजना मिति व्यवस्थापनमा हामी चुकिरहेका छौं,’ एथलेटिक्सका पूर्व मूख्यप्रशिक्षक तथा खेल विज्ञ सुशील नरसिंह राणाले भने, ‘म्याराथन धावकका एक साता वा एक महिनामै लतागार प्रतियोगिता खेल्न सक्दैनन्/हुँदैन । आयोजकबीच पनि राम्रो समन्वय भयो भने खेलाडीले आफ्नो तयारी देशभित्रकै प्रतियोगितामा प्रदर्शन गर्नसक्छ ।’

‘एउटा धावकले दुई म्याराथनको बीचमा ५ महिनाको अन्तर राख्नुपर्छ’

सुशील नरसिंह राणा

एथलेटिक्स प्रशिक्षण प्रशिक्षक, खेल विज्ञ

अन्तर्राष्ट्रिय क्षेत्रमा हेर्नुहुन्छ भने एउटै देशभित्र एउटै मितिमा ६/७ वटा म्याराथन भइरहेको हुन्छ । तर, हाम्रोजस्तो देशमा म्याराथनका इभेन्ट निकै कम हुन्छ । हाम्रो देशमा नियमित भएको देखिएको म्याराथन चारवटा छन् ।

प्रतियोगिता निकै थोरै हुने हाम्रो जस्तो देशमा सम्बन्धित खेल निकायले समन्वय गरेर तीन महिनाको अन्तरमा मात्र राखिदिन सक्यो भने त्यसले आन्तरिक एक्स्पोजरका रुपमा खेलाडीले प्रशस्त अवसर पाउँछन् । यो दुईवटा म्याराथन सकिएपछि एकैपल्ट मंसिरमा हुने नेपालगञ्ज म्याराथन कुर्नुपर्ने बाध्यता छ । यो धेरै ठूलो अन्तर भयो । त्यसबीचमा खेलाडीले आफूलाई परीक्षण गर्नै पाउँदैनन् ।

जहाँसम्म एउटै समयमा एकभन्दा बढी प्रतियोगिताको कुरा छ, त्यसले खेलाडीहरुलाई प्रतियोगिता रोज्न सजिलो हुन्छ । जस्तै राम्रा धावकहरुले आर्मी म्याराथनमा दौडिए भने अन्यले पोखरा म्याराथनमा अवसर पाउँछन् । त्यो भनेको सबैका लागि अवसर पनि हो ।

यहाँ मैले के देखेको छु भने सबैले आफ्नो प्रतियोगिता यति वर्षदेखि यही समयमा गर्दै आएको छु म किन छाड्ने भन्ने इगो पनि राखेका छन् । नेपालगञ्ज म्याराथनले एउटा राम्रो समय रोजेको छ । बाँकी सबै प्रतियोगिता लगभग एकै समयमा छन् ।

समन्वयको समस्या यहींनेर छ । त्यसका लागि मुख्य दायित्व एथलेटिक्स संघको पनि हो । संघले एउटा मापदण्ड कायम गरेर वार्षिक क्यालेन्डर निकाल्नुपर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्यालेण्डरअनुसार खेलाडीलाई आफूअनुकुल प्रतियोगितामा सहभागिताको निर्णय लिन सजिलो हुन्छ ।

सबै खेलाडीले सबै प्रतियोगिता खेल्नैपर्ने भन्ने हुँदैन । सबैले एउटा टार्गेट सेट गरेर खेल्नुपर्छ । म्याराथन भन्ने खेल एकैपल्टमा उल्लेख्य नतिजा आउने खेल होइन । खेलाडीले राम्रो गर्नका लागि वर्षमा दुईदेखि तीनवटा म्याराथनको एक्स्पोजर पाउनुपर्छ । हरेक चारदेखि ६ महिनाको बीचमा प्रतियोगितामा सहभागिता हुनुपर्छ । अन्तर्राष्ट्रियरुपमा हेर्ने हो भने राम्रो धावकले वर्षमा दुईदेखि तीनवटा म्याराथन दौडिन्छन् ।

सामान्यतः तपाईंले एउटा म्याराथन प्रतिस्पर्धात्मक रुपमा पूरा गरेपछि तपाईंले आफ्नो शरीरमा विकास गरेको इन्जाइमहरु यसरी ध्वस्त पार्छ कि त्यसलाई पुन: प्राप्ति गर्नका लागि हामीलाई धेरै लामो समय लाग्छ । त्यस समयमा रि–जेनेरेसनको प्रशिक्षण गर्नुपर्छ । त्यसका लागि एक महिनाको समय लाग्छ । त्यसपछि तपाईं ‘गोल पेस’ र ‘जनरल प्रिपरेसन’मा जानुहुन्छ । त्यसपछि अर्को म्याराथनको टार्गेट सेट गर्ने भनेको चारदेखि छ महिनापछि मात्रै हो ।

म्याराथन धावकहरुले हाइ मेटावोलिक लोडमा दौडिएका हुन्छन् । त्यसबाट रिकभर हुन लामो समय लाग्छ । हाई स्टक्चरल लोड हुन्छ । हड्डी र जोर्डीहरुमा पनि असर पारेको हुन्छ । त्यसमाथि कतिपय मांशपेशीहरु च्यातिने समस्या हुन्छ । दौडमा प्रतिस्पर्धीको गतिअनुसार दौडिनुपर्छ । आफूभन्दा राम्रो धावकसँग प्रतिस्पर्धा भयो भने अतिरिक्त शक्ति खर्च गर्नुपर्ने हुन्छ ।

तागतको क्षति हुनेदेखि हारको मनोविज्ञानले पनि धावकलाई माथि उठ्न धेरै कठिन हुन्छ । जितपछि पनि अर्को प्रतियोगिता सम्झिन पनि मन लाग्दैन । त्यसले गर्दा करिव एक महिनाको समय खेलाडीका लागि शारीरिक, मानसिक र मनोवैज्ञानिक रुपमा पुनउत्थानका लागि आवश्यक पर्छ । त्यसबाट फेरि सुरुवात गर्नका लागि चारदेखि ६ महिनाको समय नभई अर्को प्रतियोगिता खेल्नै सकिँदैन । किनभने दौडिनु मात्र आफ्नो लक्ष्य पूरा हुने होइन ।

म्याराथनको प्रशिक्षण गरिरहेको खेलाडीले दैनिक ४०/४२ किलोमिटर सहजै दौडिन सक्छ । तर त्यसको अर्थ यो होइन कि हरेक दिन म्याराथन दौडिन्छ । एउटा प्रतियोगिताका लागि ७० देखि ९० प्रतिशतसम्मको बीचमा रहेर तयारी गरिएको हुन्छ । तर प्रतियोगितामा १०० देखि ११० प्रतिशतसम्म प्रयास गर्नुपर्ने अवस्था आउँछ ।

एउटा राम्रो म्याराथन धावकले पाँच महिनायता अर्को म्याराथन त्यही पेसमा दौडिन सक्दैन । यहाँ यो कुरा बुझ्ने मान्छेहरु धेरै कम छन् । खेलाडी पालेर राखेका संस्थाहरुलाई आफ्नो खेलाडीले धेरैभन्दा धेरै पदकमा ध्यान दिन्छन् ।

हाम्रा संस्थाहरुले कहिल्यै पनि आफ्ना खेलाडीलाई अन्तर्राष्ट्रिय टार्गेट सेट गर्न दिएनन् । यो वैज्ञानिक कुरा हो, सामान्य मान्छेले बुझ्न सक्दैन । यस्ता कुराहरुको ज्ञान नभएका कारण हाम्रो देशमा एथलेटिक्सले विकास गर्न नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?