+
+
कर्म :

अमेरिकाबाट फर्किएपछि कुखुरापालनमा लागेका सुपरस्टार

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ फागुन ७ गते १९:००

६ फागुन, काठमाडौं । नेपाली सिने क्षेत्रका लोकप्रिय अभिनेता सरोज खनाल २०५५ सालपछि एक्कासी सिनेमामा देखिन छाडे । उकालो लाग्दै गरेको आफ्नो ‘करिअर’ छाडेर उनी अमेरिका गए । स्टारडमको शिखरमा पुगेको बेला खनालको अमेरिका यात्रासँगै नेपाली चलचित्र क्षेत्रमा एक जीवन्त अभिनय गर्ने ‘हिरो’को अभाव खड्कियो ।

१७ वर्ष अमेरिकाको भर्जिनिया सहरमा बसेर पाँच वर्षअघि खनाल स्वदेश फर्किए । नेपाल फर्किने बेलासम्म उनको पहिलेको स्टारडम ‘कमजोर’ भइसकेको थियो । स्वदेश फर्किएपछि उनले ‘नाइँ नभन्नु ल २’बाट सिने क्षेत्रमा ‘कमब्याक’ गरे । त्यसपछि उनले अन्य केही चलचित्रमा काम गरे । उमेरलगायतका कारणले ‘हिरो’को भूमिकामा नभएपनि अन्य भूमिकामार्फत दर्शकहरुसँग जोडिइरहेका छन् ।

तर सिनेमाको पर्दामा चलनचल्तीको हिरो बनेर नदेखिएपनि खनाल नेपाल फर्किएपछि अहिले जुन काममा लागेका छन्, त्यसले उनलाई पर्दाको होइन रियल हिरो बनाएको छ । उनी व्यावसायिक कृषिमा एउटा अनुकरणीय व्यक्ति बन्न पुगेका छन् ।

चितवनको खैरहनी-१ मा चलिरहेको खनाल पोल्ट्री फार्ममा पुग्ने हो भने कुखुरापालनमा अनौठा प्रविधि अपनाएको देखिन्छ । अटोमेटेड स्यानिटाइजेसन, पानी शुद्धीकरणको नयाँ प्रविधि जस्ता प्रविधिले यो फार्म अरुभन्दा विशेष छ । प्रविधिमै करोड बढी खर्च गरिएको त्यही फार्म हो, जसलाई खनालले अमेरिकाबाट फर्किएपछि अत्याधुनिक प्रविधिले भरिभराउ बनाएका थिए । जहाँ अहिले साना-ठूला गरी साढे चार लाख कुखुरा रहेको खनाल बताउँछन् ।

*** ***

आफ्ना दुईमध्ये दोस्रो सन्तान १८ वर्ष पूरा हुँदै गर्दा खनाल नेपाल फर्किने तरखर गर्दै थिए । फास्टफुड कम्पनीमा विश्वकै दोस्रो ठूलो प्रतिष्ठित कम्पनी वेन्डिजमा क्षेत्रीय प्रबन्धकसम्म पुगिसकेका खनालले एक्कासी जागिर छाड्ने निर्णय सुनाए । कम्पनीका थुप्रै सेवासुविधा त्यागेर नेपाल फर्किने फैसला सुनाएका खनाललाई आफन्त र साथीभाइले मात्रै होइन, कार्यालयबाट समेत काम नछाड्न सुझाव आयो । तर खनालको भौतिक शरीर अमेरिकामा भएपनि मन नेपाल आइसकेको थियो । नेपाल आएर पोल्ट्री फार्मको आधुनिकीकरण गर्ने सपना उनले अमेरिकामै बुनिसकेका थिए । त्यसैले उनी रोकिएनन् ।

‘मलाई नेपाल फर्किएपछि सिनेजगतमै पहिलेजस्तो घुलमिल हुन सक्छु भन्ने थिएन, त्यसैले मैले खनाल एग्रो फार्मको आधुनिकीकरणको सपना पहिले नै बुनिसकेको थिएँ,’ खनाल सुनाउँछन्, ‘अमेरिकामै पनि मैले कुखुरा व्यवसायलाई आधुनिक ढंगले कसरी गर्न सकिन्छ ? भन्ने बुझ्न केही फार्मको अवलोकन गरिसकेको थिएँ । त्यसैले मलाई सजिलो भयो ।’

अहिले खनाल तनहुँमा व्यावसायिक खेतीको अन्तिम तयारीमा छन् । उनले करिब २०० रोपनी जग्गामा व्यावसायिक खेती गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए । ‘हामी कुखुरापालनबाट व्यावसायिक कृषि उत्पादनमा पनि लाग्ने सोच बनाएका छौं,’ उनी भन्छन्, ‘कोरोना महामारी थिएन भने सुरु भइसक्थ्यो, जनशक्ति अभावले पनि समस्या भइरहेको छ ।’

कसरी पुगे अमेरिकाकिन फर्किए ?

२०५५ सालमा खनाल र प्रेमराजा महतलाई अमेरिकामा बस्ने नेपालीहरुले स्टेज कार्यक्रमको लागि निमन्त्रणा गरेका थिए । त्यतिबेलाका उम्दा दुई कलाकारका लागि नेपालमा पैसा र प्रतिष्ठाको कुनै कमी त थिएन । तर अमेरिका पुगेका उनीहरु नेपाल फर्किएनन् । त्यतिबेला अमेरिकामै बस्नुको पछाडि दुईवटा कारण रहेको खनाल सुनाउँछन् ।

पहिलो त नेपालमा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुग्दै थियो । उनीहरुलाई जनमत जुटाउने चुनौती थियो । त्यसका लागि उनीहरुले चर्चित सेलिब्रेटीलाई आफ्नो निशानामा पारेका थिए । जसमा त्यतिबेलाका स्टार अभिनेता खनाल पनि नपर्ने कुरै थिएन । एकातिर नियमित चन्दा आतंक र अर्काेतिर पार्टीमा आबद्धताको लागि धम्कीपूर्ण दबाब बढ्दै गएकाले उनी नेपाल फर्किएर असुरक्षित हुन चाहेनन् । अर्काेतर्फ माओवादी द्वन्द्वकै कारण मुलुकको शैक्षिक प्रणाली पनि ध्वस्त बन्दै गएको थियो । जसले गर्दा छोराछोरीको भविष्यको लागि पनि आफूले अमेरिका रोजेको उनी सुनाउँछन् ।

अमेरिकामा जाने बेलामा उनले पाँचवटा चलचित्रमा अभिनयको लागि सम्झौता गरेर गएका थिए । जबकि, त्यतिबेला वर्षको ११/१२ वटा चलचित्र बन्ने गर्थे । त्यसमा झण्डै आधा खनालकै पोल्टामा आउने गर्दथ्यो । तर ती सबै छाडेर उनी अमेरिका गएका थिए ।

उनलाई त्यहाँ भाग्यले पनि साथ दियो । उनी ६ महिना बस्न मिल्नेगरी भिसा पाएकोमा अमेरिकी प्रशासनको गल्तीका कारण आफू थप एक वर्ष अमेरिका बस्ने अनुमति पाएको बताउँछन् । भिसाअनुसार जुलाईमा फर्किनुपर्ने मान्छे प्राविधिक कमजोरीले भिसा एक वर्षअघि नै भिसा सकिएको मिति उल्लेख गरिएपछि उनीहरुको सोही गल्तीले गर्दा एक वर्षसम्म थप बस्नेगरी भिसा मिल्यो । त्यसपछि उनी अमेरिकामै बसेर काम गर्न थाले । सुरुमा उनले सेभेन इलाभेन मार्टमा काम गरे । त्यहाँ तीन वर्ष काम गरेपछि उनी वेन्डिजतिर लागे ।

उनी अमेरिकामा हुँदा केही समय आफ्नै व्यवसायमा पनि नलागेका होइनन् । उनले बाल्टिमोरमा तीन वर्ष ‘कुमारिज्’ रेस्टुरेन्ट सञ्चालनमा ल्याए । तर त्यसमा धेरै नाफा कमाउन नसकेपछि रेस्टुरेन्ट बेचेर उनी पुनः वेन्डिज रेस्टुरेन्टमा काम गर्न सुरु गरे ।

‘मलाई कतिपयले पैसा कमाउनका लागि अमेरिका गएको पनि भन्ने गर्नुभएको छ,’ उनी भन्छन्, ‘मेरो पृष्ठभूमि भन्ने हो भने पनि म जमिन्दारको छोरा, त्यसैमाथि चलचित्र खेलेरै पनि आम्दानी राम्रै थियो । तर अमेरिका पुगेपछि आफूलाई बिर्सिएर छोराहरुको भविष्य सम्झिएर केही समय म नेपाल फर्किनँ ।’

अमेरिकामा बस्दा पनि उनले नेपाली चलचित्रलाई चटक्कै बिर्सिन सकेनन् । ‘नियमित काम सकेर हामी स्टेज प्रोग्राम र अन्य चाडपर्वमा हुने कार्यक्रममा प्रस्तुति दिन जान्थ्यौं । हामीले अमेरिकामै बसेर पनि चलचित्र बनाएकै हो । तर नेपालमा बसेर गरेको जस्तो सन्तुष्टि मिल्दो रहेनछ,’ उनी सुनाउँछन्, ‘छोराहरुलाई छाड्न मिल्ने भएको भए म बीचैमा नेपाल फर्किन्थें । तर छोराछोरीको कारणले म १७ वर्षसम्म बस्नुपर्‍यो ।’

अमेरिकाबाट फर्किएपछि फेरियो ‘खनाल पोल्ट्री फार्म’

नेपालमा व्यावसायिक कृषि र पशुपालनका लागि पर्याप्त सम्भावना हुँदाहुँदै पनि नीतिगत र प्रशासनिक समस्याका कारण धेरै कृषकले झन्झट व्यहोर्नुपरेको छ । सरकारले स्पष्ट व्यवस्था ल्याएर नेपालमा नै उद्यम गर्न सकिन्छ भन्ने वातावरण बनाउने हो भने मान्छे विदेशिनुपर्ने अवस्था शायद आउँदैन -सरोज खनाल

खनाल पोल्ट्री फार्म २०४३ सालमा ५०० कुखुराबाट सुरु भएको फार्म हो । तर यो बजारमा चर्चित र विश्वासिलो हुँदाहुँदै पनि आधुनिकीकरणको सवालमा भने निकै पछि थियो । त्यही कुखुरापालनलाई थप व्यावसायिक बनाउने सोच लिएर उनी नेपाल फर्किए । चलचित्र क्षेत्रका एक सुपरस्टार पोल्ट्री व्यावसायमा रम्न थाले । अहिले नेपाल कुखुरा तथा अण्डा उत्पादनमा लगभग आत्मनिर्भर बनिसकेको छ । आफू संलग्न पेशामा नेपाल आत्मनिर्भर छ भन्दा निकै खुसी मिल्ने खनाल सुनाउँछन् ।

उनी नेपाल फर्किएको खबर पाएपछि उनलाई आदर्श मान्ने १०० जनाभन्दा धेरै नेपालीले उद्यमशीलताको योजनासहित नेपाल फर्किएको खनाल बताउँछन् ।

‘केही गर्न नसक्नेले कृषि पेशा अपनाउँछ भन्ने सोचलाई बदलेर गर्न सक्नेले मात्रै कृषिमा भिज्न सक्छन् भन्ने सोचको विकास गराउनु थियो,’ उनी भन्छन्, ‘आधुनिक हिसाबले व्यावसायिक कृषि गर्ने हो भने नेपाल आत्मनिर्भर बन्न सक्छ भन्ने मानसिकता रहेको ठाउँमा कुखुरापालनमा होमिनु पनि कम्ती चुनौतीपूर्ण थिएन,’ उनी सम्झन्छन्, ‘अमेरिका जानुभन्दा पहिले म बजारमा चम्सुर किन्न जाँदा पनि समाचारको हेडलाइन बनाउने गर्थे । अब कुखुरा पाल्न थाल्दा के होला ? भन्ने पनि सोचें । तर कृषि र पशुपालनमा आधुनिकीकरण गर्ने हो भने मात्रै नेपाल आत्मनिर्भर बन्छ भन्ने सोचेर यही क्षेत्रमा लागेको हुँ ।’ उनी खनाल पोल्ट्री फार्मको मार्केटिङ प्रमुखको रुपमा कार्यरत छन् । यो झण्डै तीन दशकअघि सुरु भएको पारिवारिक व्यवसाय हो ।

अमेरिकामा मासुको खपत देखेपछि व्यावसायीकरणको सोच

अमेरिका पुग्नुभन्दा पहिलेसम्म नेपालमा हप्तामा एक दिन मासु खाने चलन थियो । उच्चवर्गकाले हप्तामा दुई दिनसम्म खाने गर्थे । तर अमेरिका पुगेपछि त्यहाँका मान्छेले नियमित मासु खाने गरेको देखेपछि उनले नेपालमा पनि मासुको सम्भावना देखे । अमेरिका वरपर रहेका केही व्यावसायिक फार्मको प्रविधिबारे अध्ययन र अवलोकन पनि गरे । त्यसपछि उनी नेपालमा मासुजन्य उत्पादनको तरिका नै गलत रहेको निष्कर्षमा पुगेर खनाल पोल्ट्री फार्मलाई व्यावसायिक गराउने सोचमा पुगे ।

‘अमेरिकामा २/३ वटा फार्ममा घुमेपछि मलाई लाग्यो सबैभन्दा धेरै फाइदा हुने र धेरै घाटा हुने पनि व्यवसाय हो भन्ने बुझें,’ उनी भन्छन्, ‘त्यसैले मैले फर्किएपछि व्यावसायिक कुखुरापालनको प्रविधिलाई भित्र्याएँ ।’

के-के प्रविधि भित्र्याए ?

नेपाल फर्किएपछि उनले सबैभन्दा पहिले खनाल पोल्ट्री फार्मलाई बायो सेक्युरिटीमा ध्यान दिए । त्यतिबेलासम्म नेपालको कुखुरा व्यवसायमा बायो सेक्युरिटीबारे खासै ध्यान दिने चलन थिएन । उनले त्यसमै बढी ध्यान दिए । ‘चितवनमा गर्मीयाममा ४७ डिग्रीसम्म तापक्रम पुग्छ, तर हाम्रो कुखुराको खोरमा २८ डिग्रीभन्दा बढी तापक्रम पुग्दैन,’ उनले भने । त्यसरी कुखुराको खोरलाई पूर्ण एयर कन्डिसनमा राखेका छन् ।

दोस्रो, उनी कुखुराको पानी शुद्धीकरणमा लागे । त्यसको लागि पनि झण्डै करोड खर्च गरेको उनी सुनाउँछन् । ‘हामीले पाल्ने कुखुराले खाने पानी यति शुद्ध छ कि हामीले यसैको लागि झण्डै एक करोडको फिल्टर मेसिन राखेका छौं, जबकि मान्छेले खाने पानीको लागि ७ हजार रुपैयाँको एपोगार्डले पानी फिल्टर गर्ने गर्छाैं,’ उनी भन्छन् ।

तेस्रो उनले जनशक्ति कटौती गरेर कुखुरालाई सुरक्षित बनाउने नीति लिए । उनले नयाँ प्रविधिलाई कुखुराको खोरमा यसरी व्यवस्थित बनाए कि दुई जना मान्छेले सबै काम गर्न सक्छन् । यदि प्रविधि थिएन भने त्यही फार्ममा अहिले कम्तीमा ३० जना कर्मचारी आवश्यक पथ्र्याे । ‘मान्छे कम हुँदा अनेक रोग सर्ने जोखिम कम हुन्छ,’ खनाल भन्छन् ‘जो कोही भित्र छिर्दा मूल गेटमै स्प्रेले स्यानिटाइज गरेर जानुपर्छ ।’

जोखिम कायमै

यति धेरै ध्यान दिंदा पनि कुखुरामा जोखिम भने छ । बायो सेक्युरिटी सिस्टम अपनाउँदा फार्मको कुखुरा मृत्युदर कम रहेको उनी बताउँछन् । उनका अनुसार अहिले दुई प्रतिशत मात्रै मृत्युदर छ । तर त्यसैले प्राविधिक जानकारीविना नै कुखुरा पाल्दा घाटा हुन सक्नेतिर सचेत रहन उनी सुझाव दिन्छन् ।

अहिले बजारमा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको भन्दै राम्रोसँग बजारमा भिज्न नसके यसमा जोखिम पनि उत्तिकै रहेको बताउँछन् । ‘सरकारले यसबारेमा कुनै नीति बनाइदिएको छैन । जसले जतिमा सक्यो उतिमै बेच्नुपर्ने स्थिति देखिएको छ । जुन जोखिमपूर्ण काम हो । फार्ममा आफैंले चल्ला उत्पादन पनि गर्ने गरेका छन् । त्यस्तै सुमंगल दाना उद्योग भन्ने आफ्नै दाना उद्योग छ । सोही उद्योगले दाना उत्पादन गर्ने र सबै उत्पादन आफ्नै फार्ममा उपभोग गरिने खनाल बताउँछन् ।

नीतिगत समस्या सुधार्न जरुरी

खनाल नेपालमा व्यावसायिक कृषि र पशुपालनका लागि पर्याप्त सम्भावना हुँदाहुँदै पनि नीतिगत र प्रशासनिक समस्याका कारण धेरै कृषकले झन्झट व्यहोर्नुपरेको बताउँछन् । ‘गुणस्तरीय मल र बीउ पाइँदैन, आफैंले ल्याउँछु भन्यो भने अनेक बहाना बनाएर रोक्ने काम गरिन्छ,’ खनाल भन्छन्, ‘नीतिगत झन्झट मात्रै नदिने हो भने पनि नेपालमा व्यावसायिक कृषि र पशुपालनमार्फत धेरैलाई रोजगारी दिन सकिन्छ ।’

अहिले नयाँ उद्यम तथा व्यवसाय गर्न खोज्दा जनशक्ति नपाएको भन्दै उनी सरकारले स्पष्ट व्यवस्था ल्याएर नेपालमा नै उद्यम गर्न सकिन्छ भन्ने वातावरण बनाउने हो भने मान्छे विदेशिनुपर्ने अवस्था नआउने बताउँछन् । उनी विदेशिनेहरुले पनि नेपालमा नै फर्किएर केही गर्न सके स्वयं व्यक्ति र मुलुकको लागि फाइदा हुने बताउँछन् ।

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?