७ फागुन, धनगढी । धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ क्रिकेट प्रतियोगितामा हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौं र विद्याभूषण पब्लिक स्कुल विजयी भएका छन् ।
धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले अत्तरियाको एभरेस्ट एकेडेमीलाई ८१ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हिमालयन ह्वाइट हाउसले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनायो । १ सय ९२ रनको विजयी लक्ष पछ्याएको एभरेस्टले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय १० रन मात्रै बनाउन सक्यो ।
एभरेस्टका सन्दीप विष्टले ३० बलमा २९, योगेश भाटले १६ बलमा १९ र दीपक रोकायाले १५ बलमा १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक रहेन । हिमालयनको बलिङतर्फ सन्दीप शाहीले ३, राहुल भण्डारी र सतिष यादवले २/२, दीप बोहरा, नारायण जोशी र अनुप कुँवरले १/१ विकेट लिए ।
पहिलो इनिङ्समा ह्वाइट हाउसका लागि वसन्त सिंह कार्कीले ७ चौका र ७ छक्काको मद्दतले ४९ बलमा सर्वाधिक ९२ रनको शानदार पारी खेले । त्यस्तै दीपक बोहराले ३५ बलमा ४३ र राहुल भण्डारीले १२ बलमा १२ रनको योगदान गरे । वसन्त र दीपकले १ सय ३२ रनको साझेदारी पारी खेले ।
एभरेस्टको बलिङमा धर्मराज जोशी र मुकेश ओझाले ४ ओभर बलिङ गर्दै समान ३/३ विकेट लिए । हिमालयनले आफ्नो पहिलो खेलमा जित निकाल्दा एभरेस्टले पहिलो हार ब्यहोर्यो । खेलको प्लेयर अफ दी म्याच हिमालयन ह्वाइट हाउसका वसन्त कार्की घोषित हुँदा सर्वाधिक छक्काको अवार्ड पनि उनैले पाए । गेम चेन्जर अवार्ड राहुल भण्डारीले पाए ।
आजै भएको दोस्रो खेलमा विद्याभूषण पब्लिक स्कुलले लम्कीको गुरुकुल स्कुलमाथि ६ विकेटको जित निकालेको छ ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गुरुकुल एकेडेमीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनायो । १ सय ४१ रनको विजयी लक्ष पछ्याएको विद्याभूषणले १७ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष भेट्टायो ।
विद्याभूषणका लागि नरेन साउदले ७ छक्काको मद्दतले ३२ बलमा सर्वाधिक ५६ रन बनाए । उसका वीरेन्द्र नाथले २९, प्रदीप चन्दले २० रन बनाएर आउट हुँदा सुरेन्द्र ऐरी १५ रनमा नट आउट रहे । गुरुकुलको बलिङतर्फ दिनेश अधिकारीले २, देव खनाल र बसिर अहमदले समान १/१ विकेट लिए ।
यसअघि पहिलो इनिङ्समा गुरुकुलका लागि कप्तान देव खनालले ३ छक्का र १ चौकाको मद्दतले ४४ बलमा ४७ रन बनाएर आउट भए ।
२९ बलको सामना गरेका बसिर अहमदले ३ छक्का र २ चौका प्रहार गर्दै टिमका लागि ४१ रनको योगदान दिए । विद्याभूषणको बलिङतर्फ अर्जुन साउद र प्रवेश बुढ्थापाले २/२ विकेट तथा शेर मल्ल, वीरेन्द्र नाथ र रोशन थापाले समान १/१ विकेट लिए ।
खेलको प्लेयर अफ दी म्याच नरेन साउद भए । सर्वाधिक छक्काको अवार्ड पनि नरेनले नै पाउँदा, गेम चेन्जर अवार्ड सुरेन्द्र ऐरीले पाए ।
प्रतियोगिता अन्तर्गत आइतबार हुने पहिलो खेलमा बिहान ९:३० बजे हिमालयन ह्वाइट हाउस स्कुल र शारदा सरस्वती स्कुल दोधारा आमनेसामने हुनेछन् । आइतबारको दोस्रो खेलमा दिउँसो १:३० बजे आयोजक लिटल फ्लावर र विद्याभूषण भिड्नेछन् ।
फागुन १४ गतेसम्म चल्ने लिटल फ्लावर प्रिमियर लिगमा जारी संस्करणको विजेताले एक लाख ५० हजार र उप–विजेताले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4