+
+

सुदूरपश्चिममा सुधार भएन बजेट खर्चको अवस्था

जनक विष्ट जनक विष्ट
२०७८ फागुन ८ गते १८:४७

८ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा जम्मा चार अर्ब ७२ करोड २३ लाख रुपैयाँमात्र खर्च गरेको छ । ३० अर्ब ३३ करोड ९४ लाखको बजेट ल्याएको प्रदेश सरकारले ६ महिनाको अवधिमा १३ प्रतिशत मात्र खर्च गरेको हो ।

प्रदेश सरकारले पूँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख रुपैयाँ विनियोजन गरेकामा एक अर्ब ५७ करोड २० लाख ७२ हजार रुपैयाँ मात्र खर्च भएको छ । त्यस्तै चालूतर्फ १२ अर्ब ३८ करोड ५४ लाख रुपैयाँ विनियोजन गरेकामा दुई अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारले पूँजीगततर्फ करिब ८.९ प्रतिशत र चालूतर्फ करिब २० प्रतिशत खर्च गरेको छ ।

प्रदेश सरकारले पूर्ण बजेट कार्यान्वयन गरेको पहिलो आर्थिक वर्ष २०७५/७६ मा पूँजीगततर्फ ११ अर्ब ७१ करोड विनियोजन गरिएका पहिलो ६ महिनामा १५ करोड ६४ लाख ८५ हजार रुपैयाँ खर्च भएको थियो । चालूतर्फको १३ अर्ब ३५ करोड विनियोजन भएकामा एक अर्ब करोड खर्च गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा पूँजीगततर्फ १३ अर्ब ६७ करोड विनियोजन भएकामा पहिलो ६ महिनामा एक अर्ब ३४ करोड रुपैयाँ खर्च गरेको थियो । चालूतर्फ १४ अर्ब ६९ करोड ४८ लाखमध्ये ६ महिनामा एक अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको थियो ।

गत आर्थिक वर्ष २०७७/७८ मा पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ विनियोजन भएकामा पहिलो ६ महिनामा एक अर्ब ९८ करोड ५८ लाख रुपैयाँ खर्च गरेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । चालूतर्फ १६ अर्ब ३२ करोड विनियोजन गरेकामा दुई अर्ब २९ करोड खर्च गरेको थियो ।

आर्थिक मामिला मन्त्रालयले पूँजीगत खर्च कम हुनुको १० कारण औंल्याएको छ । आर्थिक मामिलामन्त्री तारा लामा तामाङले योजना तर्जुमा, प्राथमिकीकरण र विनियोजन दक्षता कमजोर हुनु, ठूला आयोजनामा धेरै बजेट नराखी साना र टुक्रे प्रकृतिका आयोजनामा बजेट दिँदा समस्या देखिएको बताए ।

उनले बजेट कार्यान्वयनमा दक्ष प्राविधिक कर्मचारीको अभाव, मन्त्रालयहरुले निश्चित कार्यक्रममा बजेट प्रस्ताव नगरी अबण्डा (डल्लो बजेट) राख्ने प्रवृत्ति हाबी हुनु पनि बजेट कार्यान्वयनको चुनौती भएको उल्लेख गरेको छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?