
१० फागुन, धनगढी । नेकपा एमालेका नेता महेश बस्नेतले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गिजोलेको आरोप लगाएका छन् ।
मंगलबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमसीसीका सम्बन्धमा प्रचण्ड र नेपालका चार मुख देखिएको टिप्पणी गरे ।
‘एमसीसीमा प्रचण्ड र माधव नेपालका चार मुख छन्, उहाँहरु संसदबाट पास गरौँ पनि भन्नुहुन्छ, एमसीसीलाई चिठी लेखेर पाँच महिनाभित्र पारित गछौँ पनि भन्नुहुन्छ’, बस्नेतले भने, ‘प्रधानन्यायाधीशलाई महाअभियोग लगायो भने पास पनि गछौँ गठबन्धन पनि जोगाउछौं, संशोधन भए पनि नभएपनि संकल्प प्रस्ताव लैजाऔं भन्नुहुन्छ विरोधमा सडकमा कार्यकर्ताहरु पनि उतार्नुहुन्छ।’
माओवादी र एकीकृत समाजवादी पार्टीले आफ्ना कार्यकर्ताहरुलाई सडकमा उतारेर रमिता देखाएको पनि टिप्पणी गरे । नेता बस्नेतले आफूहरु प्रतिपक्षको भूमिकामा रहेकाले एमसीसीका विषयमा आफूहरुको धारणा राख्ने बेला नभएको बताए ।
‘समान्यतया प्रधानमन्त्री र सत्ताधारी दलहरु बहुमतमा हुन्छन् भन्ने मान्यता हुन्छ, बहुमतमा नभए नैतिक हिसाबले सत्ता छोड्नुपर्ने हुन्छ’ उनले भने ।
प्रतिक्रिया 4