 
																						११ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकामा वडाध्यक्षकै संलग्नतामा गुठीको जग्गा अतिक्रमण भएको पाइएको छ । महानगरको वडा नम्बर ७ का वडाध्यक्ष कुलबहादुर महर्जनको प्रत्यक्ष संलग्नतामा ललितपुर गुठीको जग्गा अतिक्रमण भएको गुठी कार्यालयले जनाएको छ ।
वडा नम्बर–८ बालकुमारीमा रहेको कित्ता नम्बर ९७ को क्षेत्रफल १–१०–२–० जग्गामा बालकुमारी रिमिक्स कल्बले अहिले धमाधम पक्का भवन बनाइरहेको छ । गुठी कार्यालय ललितपुरका अनुसार उक्त जग्गा गुठीको जग्गा हो । पक्का भवन बनाइरहेको क्लबका अध्यक्ष समेत वडाध्यक्ष महर्जन आफैं हुन् ।
केही समय अघि गुठीको जग्गामा वडाध्यक्षले क्लबको भवन बनाउन थालेपछि स्थानीयले विरोध गरेका थिए । ‘अहिले एक तला त ढलान नै भइसकेको छ, अर्को तला पनि ढलान हुने तयारीमा छ,’ एक स्थानीयले भने, ‘नजिकै ब्याडमिन्टन कोर्ट पनि बनाइएको छ, तर यो गुठीको जग्गा हो भनेर बोल्न पनि पाइँदैन, धाकधम्की आइहाल्छ ।’
गुठीको जग्गा अतिक्रमण भएको विषयमा ललितपुर गुठी शाखा कार्यालय समेत जानकार छ । कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले अतिक्रमण भएको आफूहरुले जानकारी पाएको र निर्माण कार्य रोक्न पत्राचार गरिएको बताए । वडाध्यक्ष महर्जनले यो जग्गा बालकुमारी मन्दिरको नाममा रहेको स्वीकार गरे । ‘जग्गा धनी बालकुमारी मन्दिर र मोही चाहिं गुठी रहेछ, कहीं नभएको यहाँ देखियो,’ उनले भने, ‘अब यसबारे विस्तृतमा चाहिं बालकुमारी मन्दिर संरक्षण समितिका संयोजकलाई थाहा छ ।’
संरक्षण समितिका संयोजक खड्गलाल महर्जनका अनुसार यस जग्गामा धेरै पहिले पोखरी थियो । पोखरी पुरेपछि केही मान्छेले खनजोत गर्न पनि खोजिएको थियो । पछि बालकुमारी मन्दिर जग्गाधनी र गुठी संस्था मोही कायम भएको थियो । खाली अवस्थामा रहेको जग्गामा सांसद विकास कोषबाट आएको १५ लाख रुपैयाँ बजेट खर्च गरेर अहिले त्यहाँ संरचना बनिरहेको छ ।
यहाँ समुदायको कसैको विरोध भने नभएको संयोजक महर्जनले बताए । यस क्षेत्रबाट धेरै राष्ट्रिस्तरका खेलाडीहरु उत्पादन भइरहेको भन्दै उनले यसको विरोध पनि कसैले नगर्ने दाबी गरे । गुठी संस्थानमा आएका नयाँ प्रमुखसँग पनि बसेर यस विषयमा छलफल गरिने उनको भनाइ छ ।
हेर्नुहोस् गुठी संस्थानले अतिक्रमण सम्बन्धमा प्रशासनलाई लेखेको पत्रः

 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4