+
+

‘म यस्तो गीत गाउँछु २’ले फिल्म क्षेत्रको आगामी बाटो देखाउला ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १३:५०

११ फागुन, काठमाडौं । बलिउड चलचित्र ‘सूर्यवंशी’ले बक्स अफिसमा बम्पर व्यापार गर्दा भारतीय मात्र होइन, नेपाली चलचित्र निर्माता–निर्देशकमा पनि आत्मविश्वास बढ्यो ।

कोरोनाका कारण थिलोथिलो बनेको नेपाली चलचित्र उद्योगलाई अब लयमा फर्काउन सकिन्छ भन्ने विश्वास धेरै निर्मातामा पलायो । यही कारणले होला निर्माताहरुले धमाधम चलचित्रको प्रदर्शन मिति तय गर्न थाले । साउथ चलचित्र ‘पुष्पा’ले बक्स अफिसमा करोडौं रुपैयाँ कमाउँदा नेपाली चलचित्र ‘कठपुतली’ले पनि आशा जगायो । तर चलचित्र ‘चपली हाइट ३’ नचलेपछि भने अबको बाटो कस्तो होला भन्ने डर पनि छ ।

यही डर र अन्योलका बीचमा आशा सञ्चित गर्दै निर्माता तथा निर्देशक सुदर्शन थापाले फागुन १३ गतेबाट चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति तय गरे । छोटो समय नै भएपनि कलाकारहरुले प्रचारमा कुनै कसर बाँकी राखेनन् ।

यो चलचित्रको व्यापार सुदर्शनका लागि नाफा र घाटाको आँकलन मात्र होइन, आगामी दिनमा नेपाली चलचित्रले कस्तो बाटो कोर्नुपर्नेछ भन्ने रेखाचित्र पनि हो । किनकि, प्रतीक्षामा रहेको यो चलचित्रले शिवरात्रीको अवसरमा रिलिज मिति तोकेर व्यापारमा नयाँ आशा छर्ने अपेक्षा गरिएको छ ।

उसो त देशमा विगत केही समयदेखि चर्किएको एमसीसीको विरोधका कारण चलचित्रलाई असर पर्छ कि भन्ने डर वितरकलाई छ । वितरकले यही कारणले पनि चलचित्र पछि सार्न सकिन्छ कि भन्ने विषयमा निर्देशक थापासँग छलफल गरेका थिए । तर निर्देशक थापाले कोरोना महामारीको तीनवटै चरण पार गर्दै आफू अगाडि बढेकाले नतिजा जे भएपनि रिलिज गर्ने अडान राखे ।

पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारले अभिनय गरेको चलचित्रको गीतसंगीत हिट छ । यो हिट चलचित्रको सिरिज पनि हो । सुदर्शन थापा आफैंमा प्रेमका भाषा चलचित्रको माध्यमबाट बोल्न सिपालु पनि छन् । गीतसंगीतमा अर्जुन पोखरेलले यो चलचित्रमा फेरि एकपटक धमाका बोलेका छन् । पल र पूजाका फ्यानहरुको प्रतीक्षा पनि चलचित्रमाथि छ ।

यो चलचित्रपछि ‘लप्पन छप्पन २’, ‘आकाशे खेती’, ‘चिसो एस्ट्रे’, ‘ए मेरो हजुर ४’ लगायतका चलचित्र रिलिजको बाटोमा छन् ।

तीनवटा विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्दै यो विषम परिस्थितिमा व्यापारिक रुपमा सफलता हात पार्नु ‘म यस्तो गीत गाउँछु २’का लागि चुनौतीपूर्ण नै छ । तर यो परिस्थितिलाई सुदर्शन थापा र उनको टिमले पार लगाउन सकेको खण्डमा उनको आगामी यात्रा त सुखद् बन्ने नै छ, नेपाली चलचित्रका लागि पनि आशाको सञ्चार गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?