+
+

तोकिएको मितिमा किन आइरहेका छैनन् म्युजिक भिडियो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १३:५८

१६ फागुन, काठमाडौं । ‘द भ्वाइस किड्स’का विजेता जेनिश उप्रेतीको गीत ‘बाटो’ गत शनिबार सार्वजनिक गर्ने तयारी थियो । प्रमोद खरेल र जेनिश उप्रेतीको स्वर, प्रमोदकै निर्देशनमा गीतको भिडियो तयार पारिएको थियो । लक्ष्मी बर्देवा, जेनिश उप्रेतीसँगै प्रमोद स्वयंको अभिनय रहेको भिडियोको पोस्टर समेत सार्वजनिक गरिएको थियो ।

तर गत शनिबार यो गीत सार्वजनिक हुन सकेन । गायक प्रमोदले शनिबार रिलिज हुने भनिएपनि प्राविधिक कारणले रिलिज नभएको बताएका छन् ।

यता, सुप्रिम मल्ल ठकुरीले स्वर भरेको ‘फोटो फिरिममा’ गत शुक्रबार सार्वजनिक गर्ने तयारी थियो । सोही तयारीले भिडियोको पोस्टर समेत सार्वजनिक गरिएको थियो । तर शनिबार गीतको टिजर मात्र सार्वजनिक भयो । भिडियो केही दिनमा सार्वजनिक हुने जनाइएको छ ।

त्यस्तै सर्जक एवं गायक नरेश खातीले ‘यो माया मर्दैन’ बोलको गीतको भिडियो तयार पारेको केही दिन भइसकेको छ । उनले गत शुक्रबार गीतको भिडियो सार्वजनिक गर्ने तयारीका साथ पोस्टर सार्वजनिक गरेका थिए । तर सोमबारसम्म उक्त गीत सार्वजनिक भएको छैन ।

यी तोकिएको मितिमा सार्वजनिक नभएका पछिल्ला केही प्रतिनिधि गीत हुन् । यतिबेला भिडियो निर्माण सकेर रिलिज नगरी ‘होल्ड’मा रहेका गीतहरु थुप्रै छन् । सोही कारण हिजोआज हरेक दिन युट्युबमा सार्वजनिक हुने म्युजिक भिडियोको संख्या पनि ह्वात्तै घटेको छ ।

निर्देशकहरुका अनुसार तोकिएको समयमा गीत रिलिज नहुनुको कारण पछिल्लो समयमा विकसित घटनाक्रम हुन् । सार्वजनिक गर्ने भनेर तोकिएको समय अमेरिकी सहायता सम्झौता एमसीसी र अभिनेता पल शाहविरुद्धको मुद्दाको विषय उत्कर्षमा पुगेका कारण धेरैले म्युजिक भिडियो सार्वजनिक नगरी केहीदिन ‘होल्ड’ गरेको निर्देशकहरु बताउँछन् ।

यतिबेला सबैको चासो ती विषयमा भइरहेको र आफ्नो भिडियोमा दर्शकले चासो नदिने हुन् कि भनेर लगानीकर्तामा डर रहेको पाइन्छ ।

‘म्युजिक भिडियो पनि एउटा व्यवसाय त हो । त्यसका लागि माहोल राम्रो हेर्नुपर्‍यो । अहिले राम्रो माहोल नभएरै होल्डमा रहेको हुनुपर्छ,’ निर्देशक शान थापा भन्छन् ।

सर्जक एवं गायक नरेश खातीले अहिलेको माहोललाई मध्यनजर गर्दै तोकिएको मितिमा आफूले गीत सार्वजनिक नगरी ‘होल्ड’ गरेको बताए । ‘अहिले गीतसंगीततिर श्रोता-दर्शकहरु गइहाल्ने अवस्था नदेखेर केही दिन होल्डमा राखिएको हो,’ उनले भने, ‘हामी नै खुसी छैनौं भने हाम्रा कोसेलीहरु कसरी बजारमा ल्याउन सक्छौं ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?