+
+

उखुबारीमा शव भेटिएको घटनामा ६ जनाविरुद्ध ज्यान मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १९:०७

१६ फागुन, विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित उखुबारीमा शव भेटिएका दुई जनको हत्या आरोपमा जिल्ला अदालत मोरङमा ६ जनाविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले सिरहा नगरपालिका-२१ का ३१ वर्षीय अनिलकुमार मण्डल, मोरङको जहदा गाउँपालिका–४ का २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान–७ का ६२ वर्षका नासिर आलम, रंगेली नगरपालिका–३ का ३३ वर्षका मोहमद सुभाम र सुनसरीको देवानगञ्ज गाउँपालिका–६ का १८ वर्षीय मोहमद हकिमविरुद्ध ज्यानसम्बन्धी मुद्दा दायर गरेको हो । अर्का एक आरोपी भने हाल फरार छन् ।

गत माघ १२ गते मोरङको धनपालथान गाउँपालिका– ७ मा रहेको उखुबारीमा गाडिएको अवस्थामा सप्तरीको शम्भुनाथ नागरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षका शम्भुकुमार चौधरी र १३ गते सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव फेला परेको थियो ।

दुई जनाको शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोस्थित एउटा घरको कम्पाउण्ड भित्र गाडेको अवस्थामा तेह्रथुमको संक्रान्ति–२ घर भई काठमाडौं महानगरपालिका–८ गोठाटारमा बस्दै आएका ६३ वर्षीय मोहन लिम्बूको शव फेला परेको थियो ।

मोरङ र ललितपुरको हत्या प्रकरणमा संलग्न एउटै गिरोह रहेको प्रहरीको भनाइ छ । मोहन लिम्बुको हत्या प्रकरणको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय ललितपुरले नै मुद्दा चलाउनेछ । मोरङ जिल्ला अदालतले मोरङ घटनामा आदेश दिइसकेपछि प्रतिवादीहरुलाई ललितपुर उपस्थित गराइने प्रहरीले जनाएको छ ।

सोमबार मुद्दा दर्ता भएपनि आरोपीको बयान बुधबार मात्रै लिइने जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । अदालतमा प्रतिवादीको बयानपछि थुनछेक बहस हुनेछ ।

तीन जनाको हत्यामा संलग्न भएको आरोपीमध्ये एक जना अझै फरार छन् । राजेन्द्र, शम्भु र मोहन व्यावसायिक साझेदार हुन् ।

नेपाल–बंगलादेश बैंकमा धितो राखिएको ललितपुरको हरिसिद्धिस्थित एक हस्पतालको नामको २५ रोपनी ७ आना जग्गा उकास्दा प्राप्त हुने ३ प्रतिशत कमिसनमा कुरा नमिल्दा अर्का साझेदार अनिलको योजनामा घटना गराइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?