
१७ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध भ्रामक आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार एमाले अध्यक्ष ओलीले सभामुखले कुनै समय एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिएको भनी टिप्पणी गरेका थिए । उनले एमसीसी सम्झौता टेबुल गर्ने विषयलाई लिएर सभामुखले पदीय कर्तव्यको पालना भन्दा दल विशेषको आज्ञापालन गरेको पनि आरोप लगाएका थिए ।
ओलीको वक्तव्य आएको भोलिपल्ट सभामुखको सचिवालयले प्रेस नोट जारी गर्दै सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले सभामुखले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई गलत भाष्य बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।
‘लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिनुभएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ’ प्रेस नोटमा उल्लेख छ । सञ्चार विज्ञ न्यौपानेले एमालेले सभामुखले बोलेको भनी प्रचार गरेको विषयको पुष्टि गर्न पनि चुनौती दिएका छन् ।
सभामुखको सचिवालयले आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले भ्रम सिर्जना गर्न खोजेको टिप्पणी गरेको छ ।
प्रतिक्रिया 4