+
+

दुवै महामन्त्रीले भने : कांग्रेसमा भागबण्डाको राजनीति सकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २१ गते १६:३४

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा गुटगत राजनीति कम हुँदै गएको बताएका छन् ।

कांग्रेसको शुभेच्छुक संस्था निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा बोल्ने क्रममा थापा र शर्माले पार्टी एकजुट रहेको बताएका हुन् ।

उनीहरुले पार्टीभित्र भागण्डाको राजनीति अन्त्य भएको, मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित गर्ने कुरामा पार्टी एकढिक्का भएको र आगामी निर्वाचनका लागि कटिवद्ध हुनुले पार्टी एकजुट भएको सन्देश प्रवाह गरेको धारणा राखे ।

महामन्त्री थापाले महाधिवेशनपछि पार्टीलाई शत प्रतिशत विधिसंगत तरिकाले सञ्चालन गर्ने प्रयास भइहेको बताए । महाधिवेशनमा प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको र त्यसपछि पार्टीलाई विधि र पद्धति अनुसार सञ्चालन गर्न सबै एक ठाउँमा भएको उनले दावी गरे ।

‘पार्टीमा सभापतिको हातलाई बलियो बनाउनुपर्छ । भागवण्डा हिजो जे चल्दै आयो त्यसलाई बन्द गराउनुपर्छ भनेर नै हामी एक ठाउँमा उभिएका छौं’ उनले भने ।

अर्का महामन्त्री शर्माले पार्टी सम्पूर्ण रुपमा एकतावद्ध रहेको दाबी गरे । ‘कसले कसलाई मत दियो दोस्रो कुरा हो । तर कांग्रेस पार्टी एक ठाउँमा छ । निर्वाचन जित्ने सवालमा एक ठाउँमा छ’ शर्माले भने ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ नजिक बहुमत भए पनि एमसीसी पारित गर्न नसकेको भन्दै महामन्त्री शर्माले जनताको भरोसा कांग्रेसतिर रहेकाले अहिले पारित भएको दावी गरे ।

भ्रातृ तथा शुभेच्छुक संस्थामा भागवण्डा र गुटबन्दीको राजनीति नगर्न उनले सुझाए । भ्रातृ संस्था र शुभेच्छुक संस्थालाई क्रियाशील बनाउन विधानमा एकरुपता ल्याउन लागिएको महामन्त्री थापाले बताए ।

उनले भ्रातृ संस्थालाई स्वायत्त बनाउनुपर्ने भन्दै गुटबन्दी नगर्न पनि सुझाव दिए । ‘निजामति कर्मचारीको अधिवेशनमा गुटबन्दी गर्न आउनेलाई ढोका बन्द गरिदिनुस्’ उनले भने, ‘सबै भ्रातृ संस्थालाई गुटबन्दी मुक्त बनाउन चाहिरहेका छौं । निजामति कर्मचारी युनियनलाई त झनै गुटबन्दी मुक्त बनाउन चाहन्छौं ।’

कम्युनिस्टहरुले आफ्नै घरमा आगो लगाएका कारण अहिले कांग्रेसले मुलुक सम्हाल्नुपर्ने अवस्था आएको टिप्पणी गरे । ‘हामीले सम्हाल्नुपर्नेछ ,सम्हाल्छौं । योपटक सानदार ढंगले जितेर पाँच वर्ष सरकार पनि चलाउँछौं’ उनले भने ।

नेकपा एमालेले यसरी नै संसद अवरुद्ध गरिरह्यो भने शीघ्र निर्वाचनको विकल्प खुला रहेको पनि थापले बताए । उनले भने, ‘यस्तै गरिरहने भने सोच्नुपर्ने हुन सक्छ । त्यो बेला चुनाव अगाडि पनि हुनसक्छ ।’

संसद अवरोध नहटे पनि संघीय निजामती कर्मचारीसम्बन्धी विधेयक पास गर्ने थापाले बताए । निजामती कर्मचारीको मनोभावना अनुसार नै संघीय निजामति ऐन बन्ने महामन्त्री शर्माले बताए । ‘ट्रेड युनियन अधिकारसहितको संघीय निजामती ऐन बनाउन पार्टी कटिवद्ध छ । सरकारलाई घचघच्याउँछौं’ शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?