+
+

बहिनी तिमीले कुरा बुझ्नुपर्छ है !

सीता भट्टराई सीता भट्टराई
२०७८ फागुन २२ गते १७:३९

तिमी हुर्किंदै गर्दा तिमीले गरेको तरक्कीको खबर पूर्वी नेपालबाट म बेला–बेला सुनिरहन्थें । आफ्ना साथीहरूको बीचमा स्कुले ड्रेसमा तिमीले गाएको गीत सुन्दा त्यो आवाजले चाँडै धेरै श्रोता भेट्नेछ भन्ने अनुमान मलाई त्यतिबेलै थियो ।

आफूमा भएको असाधारण कलाको प्रस्फुटन गर्नुथियो । त्यो क्षमताले माग गरेको अवसरका लागि उपयुक्त ठाउँ काठमाडौं जानु नै थियो तिमीले घर, आफन्त र ठाउँ छाडेर ।

केही समय अगाडि तिम्राबारे गसिपहरू अनि त्यसमा तिम्रो खण्डन आयो । जब त्यो खण्डनमा अर्को खण्डन आयो, त्यसबाट तिमी साँच्चै पीडामा छौ भन्ने बुझिन्थ्यो । मिडियामा आएका तिम्रा फरक–फरक अभिव्यक्तिहरूले तिमीलाई कसैले प्रभावमा पारिरहेको छ कि भन्ने भान हुन्थ्यो ।

नभन्दै घटनाको वृत्तान्त बताउने दुई अडियोहरूले यसलाई प्रष्ट पार्‍यो । यसले मलाई आफ्ना घरमा भएका साना–साना र तिम्रा उमेरका नानीहरू सम्झेर बेचैन बनायो ।
मान्छे सानी फुच्ची भए पनि तिम्रो स्वर परिपक्व भएकाले होला, वयस्क श्रोता दर्शकलाई लक्षित गरेर धेरैजसो गीतहरू तिमीबाट गवाइयो । यस्तै विविध कारणले आफ्नो उमेरभन्दा धेरै अग्रजहरूसँग तिम्रो संगत हुनु स्वाभाविकै थियो ।

तर, ती अग्रजले गायन कलामा परिपक्व भए पनि तिमी एक नाबालिग भनेर बुझेनन् । फलस्वरुप तिमीले कलिलो उमेरमा आज यो खालको परिस्थितिको सामना गर्नु परिरहेको छ ।

त्यति धेरै कुरा बुझ्न नसक्ने उमेर, संघर्ष गर्दै गरेको, भर्खरै सुनौलो करियरको यात्रामा रहेको कसैलाई पनि एक प्रतिष्ठित, स्थापित र सबैमा चिरपरिचित व्यक्ति विरुद्ध बोल्ने आँट लरतरो साहसले आउँदैन ।

तिमीले यो निर्णय लिंदा यसका पछाडि तिमीले भोगेका अथाह पीडा छ भन्ने बुझ्न सकिन्छ । आफू विरुद्ध भएको अन्यायबारे बोल्ने क्रममा कतिपटक मानसिक अन्तरद्वन्द्वमा परेर आत्तियौ होला । कतिपटक आफैंले आफैंलाई दोषी पनि बनायौ होला । तर म अभिनेत्री रेखा थापासँग सहमत छु । दोष तिम्रो होइन, तिमी जस्ती नाबालिगलाई सुरक्षा दिन नसक्ने ठूला मान्छेहरूको हो ।

अर्को कुरा तिमी कुनै एक व्यक्तिसँग मात्र लडिरहेकी छैनौ । यो लैङ्गिक पूर्वाग्रही सिंगो समाजलाई तिमीले चुनौती दिइरहेकी छौ । अचम्म नमान । तिम्रो विरुद्ध प्रतिवादी बनेर समाज उभिएको छ अहिले । तिमीलाई कलिलो उमेरमा गायिका बनाउने समाजले नै तिमीलाई तिम्रो उमेरले थेग्न नसक्ने गरी मानसिक यातना दिएको छ ।

परिणाम जे होस्, त्यसले तिमीलाई विचलित बनाउनुहुँदैन । आफू र आफ्नो कलाप्रतिको विश्वास कायमै रहोस् । किनकि यत्ति मात्र कहाँ हो र ? खास जीवन त अझै तिमीले भोग्नै बाँकी छ ।

सायद तिमीले अनुमान गरेकी थिएनौ होला, न्याय माग्दा यो तहको लाञ्छना, घृणा र तिरस्कार व्यहोर्नुपर्छ भनेर । आउँदा दिनमा तिमीले सामाजिक लडाइँ अझै लड्नुपर्नेछ समाजमा आफूलाई पुनस्र्थापित गर्न ।

तिमीले लिएको यो कदमले समाजलाई धेरै महत्वपूर्ण पाठ सिकाएको छ । जो यस्ता अपराधहरू बाहिर ल्याउन नसकेर सहिरहेका थिए, तिनलाई आत्मबल बढाएको छ । बलात्कारका सम्भावित प्रभावितलाई हिंसाको प्रतिकार गर्ने प्रेरणा मिलेको छ ।

मनोरञ्जन क्षेत्रमा हुने यस्ता घृणित कार्यप्रति सबैको ध्यानाकर्षण गराएको छ, अपराधका घटनाको प्रभावितप्रति पूर्वागही समाजको चरित्र उदाङ्गो भएको छ । कानुन बनाएर के के न उपलब्धि भयो भन्ने राज्य, महिला संघ–संगठन र सरोकारवालाहरूलाई कानुनप्रतिको वास्तविक जनबुझाइ देखाइदिएको छ ।

अन्त्यमा तिमीले आफूमाथि शोषण भएकै हो भनेर न्यायालयमा मात्र नभएर विभिन्न माध्यमबाट सबैलाई पटक–पटक भनेको हामीले सुनेका छौं । तिमीलाई न्याय मिलोस् । तर यस्ता केसमा ठोस प्रमाण नहुँदा पीडितले न्याय नपाएका धेरै दृष्टान्त पनि छन् ।

परिणाम जेहोस्, त्यसले तिमीलाई विचलित बनाउनुहुँदैन । आफू र आफ्नो कलाप्रतिको विश्वास कायमै रहोस् । दैनिक जीवनका गतिविधिहरू यथावत् अगाडि बढोस् । किनकि यत्ति मात्र कहाँ हो र ? खास जीवन त अझै तिमीले भोग्नै बाँकी छ । खास सफलता त अझै तिमीले चाख्नै बाँकी छ ।

यसक्रममा पल–पलमा फेरि पनि तिम्रा बाटामा पलहरू भेटिन सक्छन् । चनाखो भई तिनलाई बेलैमा चिन्न सक्नुपर्छ । अनि तिमी जस्तो छोरी, कलाकार तथा नागरिकहरू हाम्रा परिवार, कला क्षेत्र र देशलाई धेरै चाहिएको छ । तिमीले यति कुरा चाहिं बुझ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?