+
+

हतियारसहित हिँड्छन् गाउँपालिका अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १८:०२
गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत र हतियार बोकेका उनका सहयोगी ।

२३ फागुन, सुर्खेत । जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत गाउँमा हतियारसहित हिँडडुल गरेपछि स्थानीय त्रसित भएका छन् ।

आइतबार गाउँपालिका–६ स्थित घरंगामा बन्दुक बोकेका उनका सहयोगीको तस्वीर सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीरमा एक युवक बन्दुक बोकेर मोटरसाइकलमा बसेका छन् । अध्यक्षा बस्नेतले पनि बन्दुक आफ्नो भएको र बन्दुक बोक्ने युवक आफ्नो साथी भएको बताए ।

‘बन्दुक मेरो हो तर बोक्ने मान्छे म होइन । मेरो साथी हो । म बाइक चलाउनै जान्दिन’ उनले भने, ‘त्यो फोटो कसले पछाडिबाट खिचेछ । सार्वजनिक कार्यक्रमको फोटो होइन ।’

अध्यक्ष बस्नेतले आफ्नो गाडी अन्यत्र जाने भएपछि साथीलाई बन्दुक घर पु¥याइदिन आग्रह गरेको बताए । उनले आफूसँग बन्दुकको लाइसेन्स भएको पनि बताएका छन् ।

अध्यक्ष बस्नेत बन्दुक बोकेर गाउँ डुलेको जानकारी जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले पनि पाएका छन् । उनले आफूले अध्यक्ष बस्नेतसँग यस विषयमा कुराकानी भएको बताए ।

‘अध्यक्षज्यूसँग मेरो भर्खरै कुरा भयो, उहाँले बोकेको बन्दुक लाइसेन्स प्राप्त रहेछ’ प्रजिअ शाहीले भने, ‘लाइसेन्स भएका बन्दुक पनि कहाँ बोक्न पाइने कहाँ नपाइने सीमित क्षेत्रमा हुन्छ । सार्वजनिक रुपमा बोकेर हिँड्न मिल्दैन ।’

प्रमुख जिल्ला अधिकारी शाहीले हतियार बोकेर गाउँमा हिँडेको विषयमा थप बुझ्न प्रहरीलाई निर्देशन दिएको बताए । अध्यक्ष बस्नेतले सुरक्षा जोखिम भएर हतियार बोकेको बारे आफूलाई जानकारी नभएको प्रजिअ शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?