+
+

प्रविधिमार्फत समाज परिवर्तन गर्दै महिला

प्रविधिमा विकसित नयाँ–पुराना उपलब्धिलाई परिवार, समाज अनि राष्ट्रको हित हुने गरी उपयोगमा ल्याउन कसैले आफ्नो जीवन नै समर्पण गरेका छन् भने कसैले विज्ञान प्रविधिलाई पछ्याएर नयाँ पुस्तामा अनुभव बाँडिरहेका छन् ।

सहदेव चौधरी सहदेव चौधरी
२०७८ फागुन २४ गते २०:२५

२४ फागुन, काठमाडौं । सूचनाप्रविधिले विश्वभर फड्को मारिरहँदा नेपाली महिलाले पनि आफूलाई यस क्षेत्रमा सफल मात्र होइन, अब्बल नै साबित गरिरहेका छन् । चाहे त्यो बैंक, वित्तीय क्षेत्रमा होस् वा सफ्टवेयर कम्पनी र विज्ञान प्रविधिको क्षेत्रमा ।

प्रविधिमार्फत मानिसको दैनिक जीवनमा सहजता ल्याउन उनीहरुले अहम् भूमिका खेलेका छन् ।

प्रविधिमा विकसित नयाँ–पुराना उपलब्धिलाई परिवार, समाज अनि राष्ट्रको हित हुने गरी उपयोगमा ल्याउन कसैले आफ्नो जीवन नै समर्पण गरेका छन् भने कसैले विज्ञान प्रविधिलाई पछ्याएर नयाँ पुस्तामा अनुभव बाँडिरहेका छन् ।

विश्वभर र नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा प्रविधिमा महिलाको नेतृत्वदायी भूमिका कस्तो छ भनेर खोजी गर्ने प्रयास गरिएको छ ।

महिलामा पहिलो कम्प्युटर इन्जिनियर : गुणकेशरी

२०३२ सालमा गुणकेशरी प्रधान मानन्धर होस्टेलमा बसेर कक्षा १० मा पढिरहेको बेला शिक्षकहरुले भविष्यमा के बन्ने भनेर सोधिरहन्थे । गणितमा राम्रो भएकाले उनलाई शिक्षक र साथीहरुले पनि इन्जिनियर बन्न सल्लाह दिन्थे ।

उनका जेठा दाजु पनि इन्जिनियरिङकै विद्यार्थी थिए । गुणकेशरीले पनि २०३२ सालमा एसएलसी पास गरेपछि इन्जिनियरिङ पढ्ने घर सल्लाह भयो । त्यतिबेला पुल्चोकमा सर्टिफिकेट अफ इन्जिनियरिङ (आइएस्सी सरह) भनेर इन्ष्टिच्युट खुलेको थियो । उनले त्यो कोर्ष अध्ययनका लागि प्रतिस्पर्धाबाट नाम निकालिन् ।

उनलाई मेकानिकल इन्जिनियरिङ पढ्न मन थियो, तर त्यसमा एक्लै परेपछि शिक्षकहरुले आर्किटेक्चरतिर सारिदिए । दुई वर्षमा आर्किटेक्चर पास गरेपछि उनले कम्प्युटर इन्जिनियरिङमा स्नातक गर्न सोभियत संघ (रसिया) जाने मौका पाइन् । उनी २०३६ सालमा अध्ययनका लागि सोभियत संघ पुगिन् ।

त्यतिबेला सोभियत संघमा रहेका नौ जना नेपाली विद्यार्थीमध्ये गुणकेशरी एक्ली छात्रा थिइन् । ६ वर्ष कम्प्युटर इन्जिनियरिङ अध्ययन गरेपछि उनी २०४२ सालमा नेपाल फर्किइन् र नेपाल टेलिकममा काम सुरु गरिन् ।

‘त्यतिबेला अवस्था कस्तो थियो भने, टेलिकम पुगेपछि मलाई नियुक्तिपत्र नलिई जानै दिएनन्’ गुणकेशरी सम्झिन्छिन्, ‘भोलिपल्टदेखि नै टेलिकममा कम्प्युटर इन्जिनियरको जागिर सुरु गरें।’

२०४३ सालमा नेपाल टेलिकममा गुणकेशरी प्रधानसहित तीनजना कम्प्युटर इन्जिनियरको टिम बन्यो र पहिलो पटक कम्प्युटरसम्बन्धी प्रोजेक्ट सुरु भयो । त्यसको नेतृत्व गुणकेशरीले गरिन् ।

त्यतिबेलासम्म नेपाल टेलिकमको आफ्नै बिलिङ सिष्टम थिएन । ठमेलको एक निजी कम्प्युटर सेन्टरमा बिलिङ गर्थ्याे । गुणकेशरीको टिमले करिब डेढ वर्षमा टेलिकमको आफ्नै बिलिङ सिष्टम बनायो । ‘अनि टेलिकमका टेक्निसियनहरुलाई बिलिङ तालिम दियौ’ उनी भन्छिन्, ‘त्यसपछि टेलिकमको लागि अकाउन्टिङ सफ्टवेयर पनि सुरु गर्‍यौं ।’

त्यसबाट नेपाल टेलिकमको बिलिङ र अकाउन्टिङ सिस्टम आधुनिक युगमा प्रवेश गर्‍यो ।

२०५० सालतिर नेपालमा पर्सनल कम्प्युटर (पीसी) धमाधम आउन थालेको थियो । टेलिकमकी तीनजना महिला इन्जिनियर गुणकेशरी प्रधान, कामिनी राजभण्डारी (पछि नेपाल टेलिकमकी एमडी) र प्रतिमा प्रधान मिलेर ठमेलमा कम्प्युटर नेट नामक इन्ष्टिच्युट खोले । त्यसले नेपालको कम्प्युटर शिक्षामा अग्रणी भूमिका खेल्यो ।

‘हामीले खोलेको इन्ष्टिच्युटले धेरैलाई कम्प्युटर इन्जिनियरिङ पढ्न प्रेरित गर्यो’, गुणकेशरी भन्छिन्, ‘अभिभावकहरु आफ्ना छोराछोरीलाई कम्प्युटर पढाउन हौसिए । पछि उनीहरुले नै धमाधम कम्प्युटर इन्ष्टिच्युट खोल्न थालेपछि हामीले बन्द गर्‍यौं ।’

टेलिकममा कम्प्युटर विभाग

कम्प्युटर इन्ष्टिच्युट बन्द गरेपछि गुणकेशरीको टिमले नेपाल टेलिकममा विभिन्न सफ्टवेयरहरु विकास गर्न थाल्यो । थप इन्जिनियरहरु भर्ना गरेर कम्प्युटर विभाग (डिपार्टमेन्ट) स्थापना भयो ।

‘टेलिकम्युनिकेसनका हार्डवेयर र सफ्टवेयर बाहिरबाट ल्याएर कल सेन्टर सपोर्ट सिष्टम, मेन्टिनेन्स, ब्याकअप लगायतको विकास गर्‍यौं’ गुणकेशरी भन्छिन्, ‘त्यो बेलासम्म नेपाल टेलिकम विशाल संस्थामा परिणत भइसकेको थियो ।’

टेलिकमले मोबाइल सेवा सुरु गरेपछि यसको बिलिङ सिस्टम पनि गुणकेशरीको टिमले नै तयार पार्‍यो । त्यसलाई सपोर्टका लागि रोबोट सफ्टवेयरहरु बनाउन थाल्यो ।

प्रिपेड मोबाइल आउँदा सम्हाल्नै गाह्रो

२०५७ देखि २०६३ सालसम्ममा नेपालमा पोस्टपेड र प्रिपेड दुवै मोबाइल सेवा आइसकेको थियो । प्रिपेड सेवा दिन थालेपछि टेलिकमका कर्मचारीलाई सम्हाल्नै गाह्रो परेको गुणकेशरी सम्झिन्छिन् । मोबाइल लिन टुँडिखेल घेर्ने गरी लाइन लागेको देखेर गुणकेशरी आफैं पनि आत्तिइन् ।

‘प्रिपेड मोबाइलको माग यति भयो कि मानिसहरु बिहानदेखि बेलुकैसम्म लाइनमा बस्न आए’ उनी भन्छिन्, ‘त्यस्तो बेला प्रिपेड मोबाइल सेवाको व्यवस्थापन प्रमुखको रुपमा रातदिन नभनी सजिलो पार्ने प्रयास गरियो । त्यो मेरो जीवनको बिर्सन नसक्ने समय हो ।’

मोबाइल सेवा विस्तार भएपछि टेलिकमले त्रिपुरेश्वरमा अन्तर्राष्ट्रिय कल सेन्टर स्थापना गर्‍यो । जसमा गुणकेशरीको टिमकै मुख्य भूमिका रह्यो । सर्भरको सफ्टवेयरको डिजाइन उनी आफैंले गरेकी थिइन् ।

२०६३ देखि २०६७ सालसम्म उनले टेलिकमको आईटी प्रमुख भएर टिमको नेतृत्व गरिन् । २०७० देखि २०७१ सम्म टेलिकमको केन्द्रीय मेन्टेनेन्स तथा सपोर्ट सिस्टम म्यानेजर र २०७२ देखि २०७३ सालसम्म टेलिकमको सम्पूर्ण सूचना प्रणालीको प्रमुख निर्देशक रहेकी उनले २०७४ सालमा सेवाबाट अवकाश लिइन् ।

अवकाशपछि पनि गुणकेशरी प्रधानले आईसिटी क्षेत्रमा करियर बनाउन युवा र महिलालाई उत्प्रेरित गरिरहेकी छन् । सूचनाप्रविधि सम्बन्धी जनचेतना कार्यक्रम र आधारभूत कम्प्युटर कोर्षमा अहिले पनि उनी सक्रिय छिन् ।

हाल उनी वुमन इन इन्फर्मेसन टेक्नोलोजीको अध्यक्ष र कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान महासंघ)को सदस्य छिन् ।

बैंकिङ कारोबारलाई डिजिटलाइज गर्ने सुनैना

सुनैना पाण्डे घिमिरेले २०५५ सालमा कम्प्युटर सिकाउने कामबाट पेशा सुरु गरेकी थिइन् ।

त्यसपछि विद्यालयमा कम्प्युटर शिक्षिका भएर काम गर्दै कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरिन् । अनलिमिटेड न्यू मिडियामा विन्डोज एक्सपीको नेपाली भर्सन बनाउने प्रोजेक्ट म्यानेजर बनिन् ।

त्यही बेला उनले माइक्रोसफ्टको नेपाली भर्सनमा धेरै कामहरु गर्ने मौका पाइन् । उनले मंगलराज जोशीसँग मिलेर नेपाली भर्सनमा तिथिमिति बनाउने (लोक्याल) काम गरिन् ।

अंग्रेजी मितिलाई नेपालीमा गते र बारसमेत मिल्ने गरी मापदण्ड बनाउन उनको मूख्य भूमिका निर्वाह रह्यो । यसपछि उनले त्यतिबेलाका प्रज्ञा पतिष्ठानका उपकुलपति वासुदेव त्रिपाठीसँग मिलेर कम्प्युटरमा हेर्न मिल्ने नेपाली शब्दकोश निर्माणको काम गरिन्, जुन अहिले वेबसाइट र एप्सको रुपमा उपलब्ध छन् ।

नेपालको कम्प्युटरमा स्पेलिङ जाँच गर्ने स्पेल चेकर, नेपाली रुपैयाँको ‘रु’ अगाडि कसरी लेख्ने, पूर्वाह्न–अपराह्न कसरी लेख्ने लगायतका नेपाली लोक्याल पनि सुनैनाले तयार पारिन् ।

उनले सरकारले गठन गरेको उच्चस्तरीय सूचनाप्रविधि आयोग (एचएलसीआइटी) अन्तर्गतको सूचनाप्रविधिमा नेपाली भाषा नामक समितिमा पनि काम गर्ने मौका पाइन् ।

उनले एचएलसीआइटीमा सन् २००९ सम्म काम गरिन् । २०१० मा साइबर संसार नामक आइटी म्यागेजिनमा प्रबन्ध निर्देशकका रुपमा काम गरेकी सुनैनाले उक्त म्यागेजिनलाई देशभर विस्तार गरिन् ।

त्यसपछि सुनैनाले २०११ मा टेकवान ग्लोबल मल्टिनेशनल कम्पनीमा २०१८ सम्म सहायक प्रबन्धकको रुपमा काम गरिन् । त्यतिबेला मल्टिनेशनल कम्पनीहरुले नेपालमा सफ्टवेयरको काम दिंदैनथ्यो । तर, उनले त्यो काम पनि ७ वर्षसम्म नेपालमै बसेर गरिन् ।

टेकवान ग्लोबलले नेपालमा माइक्रोसफ्टको प्रतिनिधिको रुपमा काम गर्‍यो, यसले माइक्रोसफ्ट अफिस, एक्सेललगायतका प्रडक्टहरु नेपाली बजारमा फैलाउन भूमिका खेल्यो । उनी यो कम्पनीमा काम गर्दागर्दै नेपालको बैंकहरुको सफ्टवेयर निर्माणमा लागिन् । बैंकहरुको ऋण प्रक्रियामा अटोमेशन लागू गने सफ्टवेयरको सुनैनाले नै निर्माण गरिन् ।

एनआइसी बैंक र बैंक अफ एसिया मर्ज भएर एनआइसी एसिया बैंक बनेपछि उनले बनाएको सफ्टवेयर पहिलो पटक अटोमेशन सिस्टममा लागू भएर आयो । नेपालमा यो पहिलो प्रविधि थियो ।

त्यसपछि उनले लगालग गरेर करिब १० वटा बैंकको ऋणलाई अटोमेशनमा लैजाने प्रविधिको विकास गरिदिइन् ।

आफ्नै कम्पनी

प्रविधिमा केही नयाँ काम गरिसकेपछि उनले आफ्नै कम्पनी खोल्ने सोच बनाइन् । त्यसपछि सबै जागिर छाडेर सन् २०१८ मा जेनेरल टेक्नोलजिज नामक कम्पनी खोलिन्, जसले बैंकिङ कारोबारलाई सघाउ पुग्ने सफ्टवेयरहरु बनाउने र सेवा दिने काम गर्दै आएको छ ।

उनी प्रबन्ध निर्देशक रहेको जेनेरल टेक्नोलोजीले २१ वटा बैंकलाई सेवा दिंदै आएको छ । ‘सानिमा बैंक, माछापुच्छ्रे बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंकहरुमा हामीले यो कियोस्क सिस्टम लागु गरिसकेका छौं’, उनी भन्छिन् ।

सम्पत्ति शुद्धीकरणमा दिव्येश्वरीको देन

दिव्यश्वरी दली डिजिटल एज नेपालकी सिईओ हुन् । उनको संस्थाले एन्टी मनी लन्ड्रिङ (सम्पत्ति शुद्धीकरण)विरुद्ध सोलुसन नामक प्रडक्ट बनाएर विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई सपोर्ट गर्दै आएको छ ।

उनको संस्थाले खासगरी सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित डिजिटल प्लेटर्फम बनाएको छ जहाँ बैंकहरुले सम्पत्ति शुद्धीकरणबारेको रिपोर्टिङ गर्नुपर्दा यसको प्रयोग गर्दै आएका छन् ।

डिजिटल एज नेपालले बनाएको यो प्रडक्ट खासगरी नेपाल राष्ट्र बैंकको (एनआरबी एफआईयू गो एएमएल) सफ्टवेयरमार्फत निगरानी गर्ने गरी २२ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुले प्रयोग गर्दै आएको छ । एन्टी मनी लन्ड्रिङ सोलुशन नामक प्रडक्टले आईसिटी अवार्ड २०२० जित्न सफल भएको थियो । हाल उनको बैंकिङ सोलुशन सेवा एमसीबी बै‌ंक म्‍यानमारले पनि प्रयोगमा ल्याएको छ ।

यस्तै ओम्नी च्यानल अनबोर्डिङ एण्ड केवाइसी म्यानेजमेन्ट सिस्टम, अनलाइन अकाउन्टिङ ओपनिङ, अनलाइन भिडियो केवाइसी, सीपीएफडीएस, कष्टमर स्क्रिनिङ, रिस्क प्रोफाइलिङलगायत बैंकिङ सोलुशनहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

आइसिटी क्षेत्रमा २० वर्षदेखि काम गरिरहेकी दिव्येश्वरी वुमन इन इन्फरमेसन टेक्नोलोजीको माध्‍यमबाट आइसिटी क्षेत्रमा महिला सशक्तिकरण गर्दै आएकी छिन् ।

नेपाललाई आइसिटी क्षेत्रमा सक्षम बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।  प्रेरक वक्तासमेत रहेकी उनले किशोरीहरुलाई आइटी क्षेत्रमा लाग्‍न प्रेरित गरिरहेकी छिन् ।

किशोरीहरुमा सूचनाप्रविधि फैलाउँदै रोजा

नेपालको दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणमा उप–निर्देशकको रुपमा कार्यरत छिन्, रोजा किरण बासुकला ।

दक्षिण कोरियाको चोसान युनिभर्सिटीबाट इन्फरमेशन तथा कम्युनिकेसन्स इन्जिनियरिङमा स्नातकोत्तर गरी नेपालको सरकारी निकायमा १२ वर्षदेखि काम गर्दाको उनको अनुभवले सूचना तथा सञ्चारप्रविधिको क्षेत्रमा महिला सहभागिता अनिवार्य रहेको बताउँछ ।

उनी भन्छिन्, ‘नेपालको सूचना तथा सञ्चारप्रविधिको उद्योगमा केही महिलाहरु नेतृत्वदायी भूमिकामा रहेको भए पनि पर्याप्त मात्रामा छैनन् ।’

प्रविधि क्षेत्रलाई नै आफ्नो कर्म बनाएर लाग्न चाहने महिलाहरु पारिवारिक र सामाजिक परिवेशको कारण अपेक्षित रुपमा अगाडि बढ्न नसकेको उनको भनाइ छ ।

उनी भन्छिन्, ‘प्रविधि क्षेत्रलाई महिलाहरुले दिमागी विषय भनेर बुझिदिने र आत्मविश्वासको कमी हुनाले यो क्षेत्रमा सहभागिता कम भएको हो । जनचेतनाको अझै बढाउन जरुरी छ । तर जो आत्मविश्वासी छन्, उनीहरुको करियर राम्रो छ ।’

महिलाहरुलाई सञ्चार तथा सूचनाप्रविधि क्षेत्रमा सक्षम र सवल बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले गर्ल्स इन आईसिटी लगायतका जनचेतनामूलक कार्यक्रम विगत एक दशक देखि गर्दै आएको रोजा बताउँछिन् ।

दूरसञ्चार क्षेत्रको फ्रिक्वेन्सी व्यवस्थापन, अनुगमन, निरीक्षण, साइबर सुरक्षालगायत महत्वपूर्ण कार्यहरुमा उनको सक्रिय भूमिका छ ।

यस्तै नेपालमा फोरजी सेवाको विस्तार लागि रेडियो फ्रिक्वेन्सी सम्बन्धी नीति सिफारिस, फ्रिक्वेन्सी बढाबढको कार्यविधि सिफारिस, फाईभजी सेवाको लागि फ्रिक्वेन्सी व्याण्ड पहिचान लगायतका काममा रोजाको मुख्य भूमिका छ । उनले दूरसञ्चारको फ्रिक्वेन्सी सम्बन्धी दक्षिण एसियाली कार्यदलमा लिड एक्सपर्टको रुपमा काम गरेकी छन् ।

दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली, मोबाइल ब्यालेन्स प्रयोग गरी विद्युतीय वस्तु तथा सेवा खरिद सम्बन्धी कार्यविधि निर्माण, अन्तर आबद्दता निर्देशिका संशोधन लगायतका कार्यमा समेत उनी संलग्न भइन् ।

दूरसञ्चार क्षेत्रमा रेडियो फ्रिक्वेन्सीको प्रयोग, अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथको आयात, सेवा गुणस्तर, सेवा प्रवाह लगायतको अनुगमन निरीक्षण, बिलिङसम्बन्धी गुनासो निरीक्षण, भीओआईपी कल बाइबास सम्बन्धी अनुसन्धानमा पनि रोजा संलग्न छिन् ।

कोभिड–१९ को विषम परिस्थितिमा दूरसञ्चार क्षेत्रमा भएका विभिन्न साइबर आक्रमणहरुका बारेमा अध्ययन गरी साइबर सुरक्षासम्बन्धी विनियमावली सिफारिस तथा कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गरिन् ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले हरेक वर्ष अप्रिलको चौथो बिहीबार विश्वभर ‘गर्ल्स इन आईसीटी डे’ मनाउँदै आएकोले नेपालमा पनि यसको प्रभाव परेको बताउँछिन् ।

उनकै अग्रसरतामा नेपालमा सन् २०१३ देखि ‘गल्र्स इन आईसिटी’ सम्बन्धी अभियान सुरु भएको थियो । किशोरीहरुलाई आईटी विषय लिएर अध्ययन गर्न घरपरिवार, समाजबाट प्रोत्साहन गरेमा अझै उल्लेख्य वृद्धि हुने दाबी गर्छिन् ।

महिला उद्यमीलाई सोनिकाको साथ

पेशाले कम्प्युटर इन्जिनियर हुन् सोनिका मानन्धर । उनी एलोइ नामक कम्पनीको सहसंस्थापक हुन् । उनले चलाएको कम्पनीले महिला उद्यमीहरुको लागि वित्तीय पहुँचका लागि काम गर्दै आएको छ ।

महिला उद्यमीलाई वित्तीय संस्थाबाट ऋणका लागि चाहिने सबै स्रोत, साधन जुटाउने काम गरिरहेकी उनी भन्छिन्, ‘महिला उद्यमीहरुलाई ऋण चाहिएको छ, तर कहीं कतै पहुँच छैन भने हामीले उहाँहरुलाई बैंक तथा वित्तीय संस्थासँग सहज रुपमा जोडिदिने काम गर्छौं ।’

महिला उद्यमीलाई दिएको ऋण नमासियोस् भनेर डिजिटल टोकनमा परिणत गरेर एसएमएसबाट पहुँच पुर्‍याइरहेको उनको भनाइ छ ।

सोनिकाले विशेष गरी कृषि र इलेक्ट्रिक भेहिकलको उद्यम गरिरहेका महिला उद्यमीहरुलाई सजिलै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सघाइरहेकी छिन् ।

काठमाडौंमा चल्ने सफा टेम्पोका महिला चालकहरुले उनले बनाएको डिजिटल टोकनको प्रयोग गर्दै आएका छन् भने टेम्पो चलाउन सिक्ने महिलाहरुका लागि समेत यसले साथ दिइरहेको उनको भनाइ छ ।

यसले महिला ड्राइभरहरु उत्पादन गर्न सहज भएको छ भने उनीहरुले आफूलाई चाहिने स्रोतसाधन जुटाउन माध्यम बनेको छ सोनिकाको कम्पनी एलोइ । सोनिका यो प्लेटफर्मलाई काठमाडौं बाहिर धादिङ र रसुवामा लैजाने योजनामा छिन् ।

काेरोना संक्रमितलाई वेबसाइटमार्फत सहयोग

इदा रिजाल सोच वेयर नामक कम्पनीको सीईओ हुन् । कोरोना महामारीको बेला संक्रमित बिरामीहरुलाई चाहिने अक्सिजन, आईसीयू बेड, रगत एम्बुलेन्सलगायत सामग्री जुटाउन इदाले केही साथीहरुसँग मिलेर कोभिड कनेक्ट नेपाल नामक वेबसाइट खोलिन् ।

उनको टिमले यही वेबसाइटमार्फत कोरोनाका बिरामीका लागि स्वयंसेवा थाल्यो । उनीहरुलाई मेडिकल डक्टर्स, मेडिकलका विद्यार्थीहरुले समेत साथ दिए ।

उनी भन्छिन्, ‘कोरोना महामारीको समयमा हामीले प्रविधिको प्रयोग गरेर बिरामीहरुलाई चाहिने डाक्टर, बेड र एम्बुलेन्स अनलाइनबाटै मिलाइदिने वा परामर्शको सुविधा दिएका थियौं ।’

उनको टिमसँग कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले पनि सहकार्य गर्‍यो जसका कारण कोभिड कनेक्ट नेपालले कोरोनाको बिरामीहरुलाई आवश्यक पर्ने एम्बुलेन्स, मेडिकल डाक्टर तथा बेडको व्यवस्थापन गर्न सक्रिय भूमिका खेल्यो ।

अब आउने कुनै पनि विपद् वा महामारीमा कोभिड कनेक्ट नेपाल उद्धारको भूमिका निभाउने सशक्त माध्यम बन्न सक्ने उनी दाबी गर्छिन् ।

लेखकको बारेमा
सहदेव चौधरी

समसामयिक र सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने चौधरी अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?