+
+

‘हिरोको वरपर नाच्ने हिरोइन बन्नुछैन’

कलाकार, प्रेमिका, मिस नेपाल, छोरी र मान्छे । यी सबै आयामको आँखीझ्यालबाट हेर्दा सृष्टिको निष्कर्ष छ- श्वासलाई महसुस गरौं । यही नै जीवनको वास्तविक खुसी हो ।’

विष्णु शर्मा विष्णु शर्मा
२०७८ फागुन २५ गते ८:००

यहाँ जो आउँछन्

मुटुभरि आगोओठभरि ज्वाला बोकेर आउँछन्

यहाँ जो बस्छन्

हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन्…

भूपि शेरचनको अर्थपूर्ण कविता ‘चिसो एस्ट्रे’का पंक्तिसँग उनको जीवन सादृश्य महसुस हुन्छ । नहोस् पनि किन ? हिरोइन बन्न उनी दश वर्षअघि लण्डनबाट काठमाडौं खाल्डो आइपुगेकी थिइन् ।

चारभञ्ज्याङ काठमाडौं खाल्डोमा उनको अभिनय करिअर गतिशील छ । दश वर्षको छेकोमा उनले के मात्र पाइनन् ? जीवनबोध सिकिन्, ‘नेम-फेम’ पाइन्, मायालुको स्पर्श महसुस गरिन् । त्योभन्दा ठूलो उनले आफूले आफूलाई बुझिन् ।

उनी अर्थात् पूर्वमिस नेपाल एवं अभिनेत्री सृष्टि श्रेष्ठ ।

‘आफूले आफैंलाई बुझ्नु जीवनको ठूलो कुरा रै’छ । अहिले म साना कुरामा खुसी हुन सिकिरहेकी छु । आफूले आफूलाई समय दिइरहेकी छु,’ हालै हात्तीसारस्थित नेपालहाउसमा २७ वर्षीया यी डीभा ‘कूल’ मुडमा सुनिइन् ।

किनभने, पछिल्लो तीन वर्षयता सृष्टि भूपिकै कविताबाट प्रभावित फिल्म ‘चिसो एस्ट्रे’की प्रमुख पात्र हुन् । उक्त फिल्मकी ‘प्रोटागोनिस्ट’ युवती शालीनता पात्रको भूमिकामा सृष्टि फिचर्ड छिन् । शालीनता र सृष्टिबीच रिल-रियल लाइफमा धेरै समानता छ ।

शालीनता नेपालमा खुसी खोज्दै काठमाडौं आइपुगेकी केटी हो । ‘अब्रोड रिटर्न’ केटीको रुपमा उसको सपना नेपालमै भविष्य खोज्ने छ । रियल लाइफकी सृष्टि पनि लण्डनबाट काठमाडौं फर्किएकी ठिटी हुन् । शालीनता र सृष्टिको जीवनको ‘केमेस्ट्री’ खुसी र शान्ति खोज्दै देश फर्कन चाहने धेरै युवतीको प्रतिनिधि उदाहरण पनि हो । ‘अब्रोड ड्रिम’ देख्ने पछिल्लो छिमलका तन्नेरीका लागि आख्यानकी शालीनता र गैरआख्यानकी सृष्टि दुवै अर्थपूर्ण पात्र हुन् ।

‘चिसो एस्ट्रे’की शालीनता मात्र हैन, डेब्यु फिल्म ‘गाजलु’की सुजाता शाक्य र रोमियो एण्ड मुनाकी मुनाजस्ता ‘इन्टोभर्ट’ पात्रसँग सृष्टिको निकट सम्बन्ध छ । ती फिल्म हेर्नेहरु सृष्टिलाई शालीनता, सुजाता र मुनाकै पात्रको रुपमा बुझ्छन् र व्यवहार गर्छन् । सृष्टिले अभिनय गरेका यी तीनैजना पात्रसँग एउटा समानता छ- लाउड सहरमा हृदयको शान्ति खोज्नु ।

ती चरित्र चित्रण गरिएको ‘चिसो एस्ट्रे’ चैत ४ गते रिलिजको तयारीमा छ । यसअघि उनका ‘बाँध मायाले’, ‘पोइ पर्‍यो काले’ फिल्म रिलिज भइसकेका छन् । ‘द सिक्रेट्स अफ राधा’ र ‘द रेड सुट्केस’को छायांकन सकिएको छ । अरजित सिंहको हिट ट्रयाक ‘कभी जो बादल बर्से’ र देविका बन्दनाको ‘सधैं सधैं’ सृष्टिका हिट म्युजिक भिडियो हुन् ।

हिरोको वरपर नाच्ने हिरोइन बन्नुछैन

तपाईं चाहना हिरोइन बन्नु हो वा अभिनेत्री ? नेपाली फिल्मको चरित्र चित्रणमा महत्वपूर्ण मानिने प्रश्नमा सृष्टिको जवाफ उत्तिकै सुन्दर थियो- ‘म अभिनेत्री नै बन्न चाहन्छु । हिरोइन टाइटल सतही लाग्छ मलाई । अभिनेत्री बन्दा मैले हरेक समय आफूमा ग्रोथ महसुस गर्छु । हिरोइन भनेको एउटा पर्सपेक्टिभ मात्र हो ।’

‘द गर्ल नेक्स्ट डोर’ टाइपका चरित्रले खासै उनलाई अपील गर्दैनन् । हुनसक्छ यही कारण सृष्टिको रोजाइमा ‘फेमिनिस्ट’ पात्र प्रिय छन् । ‘मलाई हिरोको वरपर नाच्ने हिरोइनजस्ता पात्र बन्न मनपर्दैन । तर हामीलाई लाइट हार्टेड रोलहरु पनि चाहिन्छ किनभने हाम्रा फिल्म कम लगानीमा बन्छन् र यसमा दर्शकका अनेकथरी रोजाइ हुन्छन् जसले गर्दा जज गरिहाल्न पनि मुस्किल छ,’ उनी अगाडि भन्छिन्, ‘मेरो चाहना मानवीय संवेदना बोकेका र नारीवादी चरित्र गर्नु हो ।’

आफ्नो व्यक्तिगत चाहनाभन्दा पनि उद्योग, निर्माता र दर्शकको चाहनामा पनि काम गर्नुपरेको अनुभव सृष्टिसँग छ । ‘यिनै कारण मैले आफूलाई जस्ता फिल्ममा पनि ट्राइ गर्नुपर्छ भन्ने लाग्छ । मलाई माइकल अधिकारीजस्तो कमर्सियल पनि गर्न मन छ । भाग्यवस मैले कन्टेन्ट बलियो भएको फिल्ममा काम गर्न पाएकी छु । खुसी लाग्छ ।’

चरित्र मात्र हैन, सृष्टिको छनोटमा गाउँका कथा प्रिय लाग्छन् किनभने उनी स्वयं पनि बेलायती गाउँमा हुर्किइन् । ‘मेरो लागि त काठमाडौं निकै ठूलो सहर हो । मलाई गाउँका कथा मनपर्छ । मलाई यिनै चीजमा नयाँ अनुभव बटुल्न मन लाग्छ,’ सृष्टि भन्छिन्, ‘नेपालका गाउँहरु संसारमै सुन्दर छन् । यहाँ प्रशस्तै ट्राइब छन् । ती ठाउँमा भ्रमण गर्नु मेरो रुचि हो । गाउँका नभनिएका कथामा फिल्म खेल्न मन लाग्छ ।’

उनलाई सुदुरपश्चिमको नेपाल घुम्न असाध्यै मन छ । ‘सुदुरपश्चिमतिरको कथामा फिल्म गर्न मन छ । म त्यहाँ अहिलेसम्म घुम्न पनि गएकी छैन । त्यहीं बसेर त्यहाँको लाइफ अब्जर्भ गर्न मन छ । मेरो आफ्नै नेचरले गर्दा पनि त्यहाँको लाइफ अति मनपर्छ,’ उनले भनिन् । सन् २०१२ मा नेपाल आएलगत्तै सृष्टिले आधा नेपाल चाहिं घुमिसकेकी छिन् र उनीसँग पश्चिम नेपाल घुम्ने सौख अझै बाँकी छ ।

जीवनको आध्यात्मिक मोड

टिकटक बनाउने, रमाइलो गर्ने र रोमान्समा जीउने बेला सृष्टिको शब्दकोशमा चाहिं यी शब्दहरु छैनन् । उनको जीवनमा यतिबेला ठूलो ‘आध्यात्मिक मोड’ आएको छ । सन् २०१७ मा मुम्बईमा अभिनय सिक्न जाँदाको विन्दुदेखि उनमा ठूलो आध्यात्मिक मोड आएको हो । यो मोडले छाडेका आध्यात्मिक पदचापहरु उनको मुहारमा देखिने गाम्भीर्यता र दार्शनिक गफगाफबाटै महसुस गर्न सकिन्छ ।

‘म जीवनलाई बाहिरीभन्दा पनि इन्टर्नल रुपबाट हेर्छु । मेरो जीवनको दर्शन भनेकै बी विथ माइ ब्रिथ भन्ने हो । अर्थात् बाँचुञ्जेल श्वासको महसुस गर्नु,’ उनको कथन छ, ‘सचेत भएर कन्सियसली जीवन बाँच्नु मेरो जीवनको गोल हो ।’

मुम्बईबाट फर्किएपछि सृष्टिको आत्मा पहिलेजस्तो रहेन बरु उनी योगिनी बनेर काठमाडौं फर्किइन् । ‘त्यसपछि जीवनलाई बुझ्ने मेरो बुझाइ नै बदलियो । हरेक दिन जब म बिहान ब्युँझन्छु, मेरा लागि यो ठूलो खुसीको कुरा हो । राति सुत्ने धेरैजना बिहान ब्युँझन पाउँदैनन् । म जिउँदै छु, त्यो नै ठूलो कुरा हो,’ सृष्टिले भनिन् ।

मुम्बई नै किन ? ‘कलाकारको रुपमा म आफ्नो अभिनयलाई तिखार्न म त्यहाँ गएकी थिएँ । कुनै योजना थिएन । तर कहिलेकाहीं योजना नभइकन गरिने यात्राले पनि मान्छेलाई सही गन्तव्यमा लैजान्छन्,’ मुम्बई र त्यहाँ पाएको आध्यात्मिक मोडबारे उनले सुनाइन् ।

अहिले सृष्टिको प्रत्येक बिहानी योगबाट सुरु हुन्छ । भगवानको यादमा हराउँछिन् र पूजाआजा पनि गर्छिन् । उनलाई प्रत्येक भगवानका अलग पर्सनालिटी हुन्छ भन्ने थाहा छ । ‘सोहीअनुसार म योग र पूजा गर्छु अनि सानो कुरामा पनि खुसी हुन्छु । जीवनबोधको सौन्दर्य र अर्थ मैले यिनै कुरामा भेट्छु,’ सृष्टि बताउँछिन् ।

्रेमबिहे र भविष्यको योजना

सन् २०१६ देखि सृष्टि र सौगात मल्ल प्रेम सम्बन्धमा छन् । पहिलोपटक उनीहरु कुमारी हलमा ‘झुम्की’ फिल्म हेर्न हलमा सँगै देखिएका थिए । केही वर्षसम्म प्रेम सम्बन्धलाई गुपचुपमा राखेको यो जोडीले प्रेमको सार्वजनिक स्वीकारोक्ति भने केही वर्षपछि मात्र गरेको हो । सृष्टिले प्रेमी तथा अभिनेता सौगातसँग आगामी वर्ष २०७९ मा बिहे गर्दैछिन् । सृष्टि र सौगातलाई भेट्न केही महिना पहिले सृष्टिका बुवाआमा लण्डनबाट काठमाडौंमा आइपुगेका थिए ।

दुवै जनालाई भेटेपछि सृष्टिको बिहे सौगातसँग गर्न बुवाआमा राजी भएका थिए । परिवारको सल्लाहमै आगामी वर्ष बिहे गर्ने तयारी सुरु भएको सृष्टि बताउँछिन् । ‘बुवाआमाले उहाँ (सौगात)लाई धेरै मन पराउनुभयो । सौगातले पनि बुबाआमालाई निकै केयर गर्नुभयो । बिरामी हुँदा लुकआफ्टर पनि गर्नुभयो । केयर गर्ने उहाँको स्वभावले हाम्रो मन जित्यो,’ सौगातबारे सृष्टिले भनिन्, ‘बुबाआमा उहाँबाट निकै प्रभावित हुनुहुन्छ ।’

परिवारले पनि सृष्टि र सौगातलाई उनीहरुको भविष्यको योजनामा सघाउने वचन दिएको छ । ‘बुबाआमाले हामीलाई हाम्रो भविष्यको प्लानलाई सघाउँछु भन्नुभएको छ । हामी यसलाई लिएर एक्साइटेड छौं । टाइम लिएर काम गर्ने हाम्रो प्लान छ,’ उनी भन्छिन्, ‘फिल्मदेखि अन्य सोसल वर्क गर्ने कुरामा पनि हामीबीच कुरा मिलेको छ । यसमा परिवारको पनि साथ छ र हामी सोहीअनुसार अघि बढ्छौं ।’

रियलमा मात्र हैन, रिलमा पनि सृष्टि र सौगातबीच जोडी जमेको छ । ‘पोइ पर्‍यो काले’देखि ‘राधा’ र ‘रेड सुट्केस’सम्म सौगात र सृष्टिले जोडी बाँधेका छन् । कतिपय फिल्म निर्माता सौगातको हिरोइनको रुपमा सृष्टिकै प्रस्ताव फिल्मको कुरा गर्न सौगातकहाँ पुग्नेपनि छन् । सृष्टि भने यो कुरालाई फिल्ममा दुई जनाको सहकार्यको रुपमा लिन्छिन् ।

मिस नेपालको आँखाबाट जीवन

पब्लिक फिगर भएपछि र हुनुअघि व्यक्तिको पर्सनालिटीबीच धेरै भिन्नता महसुस हुन्छ । सेलिब्रेटी यी दुई पर्सनालिटी हुँदै अघि बढिरहेका हुन्छन् । सृष्टिसँग पनि यी अनुभवहरु स्मृतिमा ताजै छन् । मान्छे बदलियो भन्दा पनि नियत गलत हुन नहुने सृष्टिको तर्क छ । ‘म सानैदेखि लजालु स्वभावकी थिएँ । समयसँगै अघि बढ्दा उतारचढाव आउँदा मान्छेको स्वभावमा परिवर्तन आएका होलान् । परिवर्तन आउनु स्वभाविक पनि हो, तर नियत चाहिं गलत हुनुभएन,’ उनको बुझाइ छ ।

उसो भए किन मिस नेपालहरु समाजसँग गाँसिन सकेनन् त ? यसबारे सृष्टिको आफ्नै खाले तर्क छ । मिस नेपाल बन्ने उमेरमा मानसिक रुपमा परिपक्व भइनसक्ने हुनाले उमेर बढ्दै जाँदा वास्तविकता र अपेक्षाबीचमा फरक आउने उनको भनाइ छ । ‘जब हामी मिस नेपाल हुन्छौं नि, त्यतिबेला हामी परिपक्व हुँदैनौ,’ उनी भन्छिन्, ‘त्यसपछि हामी आफैंलाई बुझ्दै जान्छौं । मच्योर्ड हुँदै जाँदा जीवनको सानो कुरामा पनि रुचि हुँदै जान्छ । स्लोली हामीले धेरै फरक पाउँछौं ।’

उमेर र परिपक्वताबीचको यो भिन्नताले नै मिस नेपालहरु समाजसँग जोडिन नसकेको बुझाइ सृष्टिको छ । ‘हामी जतिबेला मिस नेपाल हुन्छौं, त्यतिबेला समाजप्रतिको बुझाइ अलग हुन्छ । जब हामी मिस नेपालबाट बाहिरिन्छौं तब समाजको बुझाइ अलग हुन्छ,’ उनी भन्छिन् ।

समस्या हाम्रा वेक-अप कल हुन्

नेपाली तन्नेरीमा पछिल्लो समय एउटा सोच व्याप्त छ- नेताहरु बिग्रिए, देश बिग्रियो, अब विदेश जानुपर्छ ।’ तर सृष्टिलाई लाग्छ- सबै कुराहरु वेक-अप कल हुन् । उनी समस्या र अस्थिरतालाई जीवनको मूल्यबोध गराउने घण्टीको रुपमा व्याख्या गर्छिन् । ‘हामीले हामीलाई सचेत गराउनु जरुरी छ,’ उनी भन्छिन्, ‘हाम्रो देश भर्खरै विकासतर्फ अघि बढेको छ । सबै कुराहरु राम्रो हुनकै लागि भइरहेका हुन् । हामीले समस्यालाई वेक-अप कलकै रुपमा बुझ्न सक्नुपर्छ’ ।

सृष्टि ‘ग्राटिच्युडी’ (आभार)लाई आफ्नो जीवनको दर्शन बताउँछिन् । ‘खुसी हुने उपाय भनेकै ग्राटिच्युड हुनु हो । म यो कुरालाई विश्वास गर्छु । हामीले आफैंलाई माया गर्न सिक्नुपर्छ । हामीले सेल्फ-टाइम पनि छुट्याउनुपर्छ,’ खुसी हुने उपायबारे सृष्टि भन्छिन् । आफैंले आफैंलाई माया गर्न सके समस्या नहुने उनको बुझाइ छ । ‘सेल्फ लभ भन्नुको अर्थ मपाईंत्व होइन,’ उनी भन्छिन्, ‘अहिलेसम्मको जर्नीलाई रेस्पेक्ट गर्न सिक्नुपर्छ ।’

कलाकार, प्रेमिका, मिस नेपाल, छोरी र मान्छे । यी सबै आयामको आँखीझ्यालबाट हेर्दा सृष्टिको निष्कर्ष छ- श्वासलाई महसुस गरौं । यही नै जीवनको वास्तविक खुसी हो ।’

शंकर गिरीले खिचेका सृष्टिका थप तस्वीरहरू 

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?