+
+

निर्माण व्यवसायी महासंघको अध्यक्षमा ५ दाबेदार

कांग्रेसको समर्थन लिन दौडधुप

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १८:१३
बायाँबाट क्रमशः रमेश शर्मा, रवी सिंह, रामशरण देउजा, निकोलस पाण्डे र हुमनाथ कोइराला

२५ फागुन, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षका पाँच जना आकांक्षी देखिएका छन् । २७ फागुनमा नयाँ नेतृत्वका लागि हुने चुनावमा अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष रमेश शर्मा, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, पूर्व महासचिव रामशरण देउजा र व्यवसायी हुमनाथ कोइरालाले उम्मेदवारी दिने तयारी गरेका छन् ।

अहिलेसम्म अध्यक्षका कुनैपनि आकांक्षीले प्यानल घोषणा गरेका छैनन् । निर्माण व्यवसायी महासंघका सदस्यहरु धेरैजसो नेपाली कांग्रेस निकट रहेकाले पाँचै जना आकांक्षीले कांग्रेसको निर्णय कुरिरहेका छन् । उनीहरु कांग्रेसको समर्थन लिन दौडधुपमा पनि लागेका छन् ।

शुक्रबार काठमाडौंमा सुरु हुने २३औं साधारणसभा तथा १२औं अधिवेशनमा महासंघका सातवटै प्रदेश र ७७ वटै जिल्लाबाट आउने प्रतिनिधिले केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन् । त्यसबाहेक ३९ जना एसोसिएटतर्फका प्रतिनिधिले पनि मतदान गर्नेछन् । प्रत्येक प्रदेशबाट १५ जना प्रतिनिधि आउनेछन् । जिल्ला प्रतिनिधिको संख्या भने सम्बन्धित संघको सदस्य संख्यामा निर्भर हुनेछ । जिल्ला स्तरबाट आउने साना व्यवसायी नै निर्णायक हुने भएकाले दलहरूको समर्थन पाएकाले मात्रै महासंघमा चुनाव जित्ने अवस्था छ ।

अध्यक्ष पदको आकांक्षी पूर्वअध्यक्ष शर्मा ‘शर्मा एन्ड कम्पनी’ का सञ्चालक हुन् । कांग्रेस निकट शर्मा ‘निर्माण व्यवसायी संघ’ बाट महासंघमा रुपान्तरण भएपछिको पहिलो अध्यक्ष पनि हुन् । २० वर्षपछि अध्यक्षमा दोहोरिन इच्छा व्यक्त गरिरहेका उनी महासंघमा असक्षम नेतृत्व ल्याउने क्रम रोक्नुपर्ने बताउँछन् ।

वर्तमान अध्यक्ष सिंह यसअघि नेपाली कांग्रेसकै समर्थनमा अध्यक्ष निर्वाचित भएका थिए । कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतरको टिमबाट केन्द्रीय सदस्यमा पराजित भएका थिए । यसपटक पनि महासंघको अध्यक्ष बन्न सिंहले कांग्रेसबाट समर्थन खोजिरहेका छन् । महादेव खिम्ती निर्माण सेवाका सञ्चालक सिंहविरुद्ध मध्यपहाडी लोकमार्ग, लालबकैया नदी नियन्त्रण आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दुई वटा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अध्यक्ष बन्ने दौडमा रहेका पाण्डे कालिका कन्स्ट्रक्सनको सञ्चालक हुन् । राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेका छोरा उनले अघिल्लो कार्यकालमा नै अध्यक्षमा दावी गरेका थिए । तर अध्यक्ष  सिंहले अर्को कार्यकालमा सहयोग गर्ने वचत दिएर वरिष्ठ उपाध्यक्षमा समर्थन गरेका थिए । तर, यसपटक सिंहले दोहोरिन खोजे पनि पाण्डेले दावेदारी छाडेका छैनन् । पाण्डेले ठूला व्यवसायी, नेकपा एमाले र राप्रपाको समर्थन लिन सक्नेछन् । तर, कांग्रेसको समर्थन नपाइ चुनाव जित्न कठिन हुने भएकाले भएकाले विभिन्न नेतामार्फत लबिङ गरिरहेका छन् ।

पूर्वमहासचिव देउजा आर कोमल कन्स्ट्रक्सनका सञ्चालक हुन् । कांग्रेस निकट उनी शरद गौचन अध्यक्ष हुँदा महासचिव थिए ।

बिकोइ बिल्डर्सका सञ्चालक र कांग्रेस निकट लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष कोइराला अध्यक्षमा आफूलाई समर्थन खोज्दै नेताहरुलाई भेटिरहेका छन् । गत वर्ष मल आयातको ठेक्का लिएर समयमै ल्याउन नसकेपछि उनको आपूर्ति कम्पनी ‘होनिको मल्टिपल’ कालोसूचीमा परेको छ ।

कसका एजेन्डा के ?

पूर्वअध्यक्ष शर्मा महासंघको नेतृत्वले नै ठूला र साना व्यवसायीबीच विभेद खडा गरेर महासंघलाई कमजोर बनाएको बताउँछन् । महासंघ लथालिङ्ग भएकाले आफूलाई देशभरका व्यवसायीले नेतृत्वमा आउन आग्रह गरेको शर्माको दावी छ ।

‘केही व्यवसायीलाई धेरै ठेक्का लिए भनेर आरोपित गरेर आफ्नो रोटी सेकाउने काम भइरहेको छ,’ उनी भन्छन्,’महासंघलाई एकतावद्ध बनाउन र सबै व्यवसायीमैत्री नीति, नियम बनाउन पहल गर्न पनि बलियो नेतृत्व आवश्यक छ ।’ सर्वसम्मतिमा सक्षम नेतृत्व आए आफू बाधक नहुने अन्यथा उम्मेदवारी दिने शर्मा बताउँछन् ।

अध्यक्ष सिंह भने साढे ३ वर्षको कार्यकालमा व्यवसायमैत्री वातावरण बनाउन गरेको प्रयास संस्थागत गर्न आफूले पुनः अध्यक्षमा उम्मेदवारी दिन लागेको बताउँछन् ।

अरु व्यक्ति नेतृत्वमा आउँदा अहिलेसम्मको उपलब्धी संस्थागत हुन नसक्ने उनको दावी छ । ‘केही ठूला कम्पनीहरुले कार्टेलिङ गरेरै निर्माण उद्योग धरापमा परेको हो,’उनी भन्छन्,’कार्टेलिङ विरुद्धको अभियानलाई पूर्णबिराम लाग्न नदिन मैले फेरि उम्मेदवारी दिन लागेको हुँ ।’

करिब १७ हजार निर्माण कम्पनी रहेको र वर्षमा १३ हजार वटा ठेक्का निस्कँदा ८० प्रतिशत रकमको ठेक्का एक दर्जन कम्पनीको हातमा पुग्ने सिंह बताउँछन् ।

‘यसले ठेक्काहरु जताततै लथालिंग भएको छ, जनता पनि प्रताडित छन्,’ सिंह भन्छन्,’निर्माणको काममा कार्टेलिङ हुँदा भ्रष्टाचार बढेको छ, यसलाई निमिट्यान्न पर्ने गरी काम गर्न महासंघमा म दोहोरिन लागेको हुँ ।’

अध्यक्षका अर्का आकांक्षी वरिष्ठ उपाध्यक्ष पाण्डे सामूहिक समृद्धिलाई आफूले पहिलो प्राथमिकतामा राखेको पाण्डेले बताए । आफू निर्वाचित भएपछि निर्माण व्यवसायमा रहेको अस्वस्थ प्रतिस्पर्धा हटाउने र यो व्यवसायप्रतिको सामाजिक दृष्टिकोण बदल्ने उनको दावी छ ।

धेरै निर्माण व्यवसायीलाई ठेक्का व्यवस्थापनको ज्ञान नभएको भन्दै पाण्डेले दक्षता अभिवृद्धिलाई चुनावी एजेण्डा बनाएका छन् । सबै व्यवसायीले समान अवसर प्राप्त गर्ने र सहज रुपमा काम गर्ने वातावरण बनाउन पहल गर्ने पाण्डे बताउँछन् ।

अहिले ठूला व्यवसायीलाई गाली गरेर पदमा पुग्ने अनि पदमा बसेर फेरि ठूला व्यवसायीलाई नै पोस्ने प्रवृत्ति देखिएको पाण्डेको टिप्पणी छ । ‘म ठूला र साना व्यवसायीबीच बनाइएको खाडलमाथिको पुल बन्न चाहन्छु,’ उनले भने, ‘दुरी मेटाउन सम्वाद गर्ने, व्यवसायिक हितका लागि एकतावद्ध हुने लगायतका पक्षमा काम गर्नेछु ।’

अध्यक्षका अर्का दावेदार देउजा व्यवसायीलाई अस्वस्थ प्रतिस्पर्धाको शिकार हुनबाट जोगाउने आफ्नो उद्देश्य रहेको बताउँछन् । ‘मूल्यवृद्धिले व्यवसायी पीडित छन्, अस्वस्थ प्रतिस्पर्धाले न्युन रकममा ठेक्का लिने प्रचलन झांगिएको छ, म्याद थप जस्ता विषयका नियम अव्यवहारिक छन्,’ उनले भने,’महासंघले व्यवसायीको हित हेरेर जति काम गर्नुपर्ने हो त्यो नगिररहेकाले म पनि चुनावी मैदानमा आएको हुँ ।’  व्यवसाय गर्नेहरुको शिर उँचो बनाउने गरी नीति, नियम ल्याउन पहल गर्ने उनको प्रतिवद्धता छ ।

अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका कोइराला अस्वस्थ प्रतिस्पर्धा हटाउने, भुक्तानीका समस्या फुकाउने र म्याद थपको जटिलता अन्त्य गर्नसक्ने खालको नेतृत्व आवश्यक भएको बताउँछन् ।

व्यवसायीले भोगिरहेका बीमा, बैंकिङ कर्जा, मूल्यवृद्धि, भेरियसनसम्बद्ध समस्या हटाउन पहल गर्न आफूले अध्यक्षमा आकांक्षा राखेको कोइरालाले बताए ।

निर्माणका लागि ठेक्का आह्वान गर्दा सुरक्षाको पाटो पनि समावेश गर्ने, ग्यारेन्टीका व्यवस्था व्यवसायी अनुकल बनाउने, ऐनलाई व्यवसायीमैत्री बनाउने, काम गर्नसक्ने खालका मात्रै विदेशी कम्पनी ल्याउने कानुनी व्यवस्था गर्नुपर्ने आफ्नो एजेण्डा रहेको कोइरालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?