+
+
अन्तर्वार्ता :

‘निगमले घाटा थेग्न सक्दैन, उपभोक्ता आफैंले पेट्रोल खपत घटाउनुपर्छ’

महँगोमा इन्धन प्रयोग गर्न हुन्न भन्ने चेत अब उपभोक्तालाई हुनुपर्छ । अहिले १६६ परिसकेको पेट्रोलको हाम्रो लागत नै १८० सम्म पुग्ने देखिन्छ । यस्तो अवस्थामा उपभोक्ताले खपत घटाउनुपर्छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ फागुन २७ गते १९:४६

२७ फागुन, काठमाडौं । रुस–युक्रेन युद्धका कारण यतिबेला कच्चा तेलको मूल्य एक दशकयताकै उच्च बिन्दुमा छ । सबै प्रकारका इन्धनको मूल्य खरिद बिन्दुमै बढेको नेपाल आयल निगमको भनाइ छ । बढ्दो मूल्यका कारण आर्थिक वर्षको ७ महिनामै २८ अर्ब नोक्सानीमा गएको दाबी पनि निगमको छ ।

यहीबेला घट्दो रेमिट्यान्स् र बढ्दो आयातका कारण मुलुकको अर्थतन्त्र गम्भिरता अवस्थातर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । बुधबार प्रतिनिधिसभाको उद्योग समितिले आयल निगमका अधिकारीहरुलाई बोलाएर इन्धन आयातको परिमाण नै घटाउन र स्वदेशभित्र पनि कोटामा इन्धन बिक्री गर्न निर्देशन दिएको छ ।

यही पृष्ठभूमीमा निगमको अवस्था, इन्धन आपूर्तिको सुनिश्चिता र अवको बाटोबारे अनलाइनखबरले निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंशः

नेपाल आयल निगमले अहिले तोकेकोे इन्धनको बिक्री मूल्य कच्चा तेलको भाउ कति हुँदाको हो ?

अहिले हामीले निर्धारण गरेको इन्धनको खुद्रा बिक्री मूल्य कच्चा तेलको मूल्य प्रतिब्यारेल ९५ डलर हुँदाको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यपछि हामीले भ्याएसम्मको अधिकार प्रयोग गरेर उपभोक्ताको हित हुनेगरी मूल्य निर्धारण गरेका हौं । त्यसयता पनि मूल्य निकै आकासिएको छ ।

मूल्य बढाएर बिक्री गर्दा पनि निगमलाई नोक्सानी छ हो ?

बढेको मूल्यमा पनि निगमलाई १५ दिनमा साढे दुई अर्ब रुपैयाँ नोक्सानी हुन्छ । महिनामा ५ अर्बको नोक्सानीमा रहेको निगम अन्तर्राष्ट्रिय परिस्थितिका कारण झन् पिरलोमा परेको छ । अब मासिक कति अर्ब नोक्सानीमा जान्छौं भन्ने अनुमान लगाउन सकेका छैनौं ।

अहिले हामीलाई डिजेलमा प्रतिलिटर ११ रुपैयाँ घाटा छ । यस्तो घाटा १५ दिनमा १ अर्ब हुन्छ । यस्तै पेट्रोलमा ५६ करोड र ग्याँसमा १५ दिनमा एक अर्ब २६ करोड नोक्सानी छ ।

केही प्रडक्टमा कुस्त नाफा कमाएको भन्ने पनि छ नि ?

अहिले हामीलाई हवाई इन्धन र मट्टितेलमा नाफा छ । तर, नाफा भएको प्रडक्टको बजार र बिक्री निकै सानो छ । जम्मा नाफा ३१ करोड छ भने घाटा अढाइ अर्ब छ । अन्तर्राष्ट्रिय वायुसेवालाई बिक्री गर्ने हवाई इन्धनमा १५ दिनमा २४ करोड र आन्तरिकमा ६ करोड तथा मट्टितेलमा १ करोड रुपैयाँ नाफा छ । तर, नाफाको तुलनामा घाटा निकै धेरै छ ।

२०२१ को सुरुदेखि नै निगम घाटामा गएको भन्ने सुनिन्थ्यो । चालु आवको घाटा चाहिं कति छ ?
साउनदेखि फागुन अन्तिमसम्म आइपुग्दा निगमको नोक्सानी २८ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । कुल नोक्सानीको आधा हिस्सा ग्याँसको मात्रै छ । साउनयता ग्याँसमा मात्रै १५ अर्ब रुपैयाँ नोक्सानी छ । ग्याँसमा प्रतिसिलिण्डर ६६५ रुपैयाँ नोक्सानी छ ।

मूल्य बढेको बढ्यै छ, बढ्ने अनुमान पनि भएको थियो । सस्तो भएकै बेला भण्डारण बढाएको भए उपभोक्ता मूल्य बढाउन पर्ने अवस्था आउँदैनथ्यो होला नि ?

भण्डारणलाई उच्च क्षमतामा प्रयोग गरेका छौं । पूर्ण क्षमतामा ७ करोड लिटर पेट्रोलियम भण्डारण गर्न सक्छौं । अहिले हामीसँग साढे ५ करोड लिटर अर्थात् क्षमताको ८५ प्रतिशत मौज्दात (भण्डारण) छ । खपत उच्च भएका कारण यो भण्डारण केही दिनका लागि मात्रै हुन्छ । त्यसैले, कति दिन धान्छ भन्ने प्रश्न नगर्नु भए हुन्छ ।

अहिले निगमले दैनिक गर्ने आयात र खपत कति छ ?

हाम्रो बजारको दैनिक खपत पेट्रोल २० लाख लिटर, डिजेल ६० लाख लिटर छ । ग्याँस मासिक एक लाख १५ हजार सिलिण्डरभन्दा बढी छ । बजारको दैनिक मागअनुसार नै आयात गरिने हो ।

निगम तेल किन्नै नसक्ने अवस्थामा पुगेको चर्चा हुन थालेको छ । आपूर्ति अवस्था बिग्रिने अवस्था आएको हो त ?

निगम आर्थिक हिसाबले अहिले निकै जटिल मोडमा पुगेको साँचो हो, तर तेल किन्नै नसक्ने अवस्था पक्कै होइन । हामीले ८ मार्चमा साढे १४ अर्ब हाराहारी रकम आईओसीलाई तिर्‍यौं । अब २३ तारिखमा बुझाउनु पर्छ ।

अहिलेको अवस्था अनुमान गरेभन्दा निकै गम्भीर हो । महिनाको १० अर्ब रुपैयाँ नोक्सानी भयो भने त मूल्य समायोजन पनि गर्ने अवस्था रहन्न । हामीले निगम चलाउन अहिलेसम्म प्रयोग गरेको संयन्त्रले नै अब काम नगर्ने भयो ।

हरेक पटकको भुक्तानी कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । ८ मार्चको भुक्तानी पनि बिक्रीको रकमले नपुगेर स्थिरीकरण कोषबाट लियौं । २३ तारिखमा भुक्तानी कसरी गर्ने भन्ने तनाव छ । फेरि ८ अप्रिलमा पैसा तिर्न सक्ने अवस्था छैन । प्रत्येक महिना ४ अर्बदेखि ५ अर्ब रुपैयाँ नपुग्ने अवस्था छ । अब बढेको मूल्यअनुसार नयाँ मूल्य आएपछि कसरी तिर्ने होला भन्ने छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य कति बढ्दा हाम्रोमा कति बढ्छ ?

अहिले अन्तर्राष्ट्रिय बजारम कच्चा तेलको मूल्य १२० देखि १२५ डलरको बीचमा बसेको छ । कच्चा तेलको मूल्य एक डलरले बढ्दा मासिक रुपमा नेपालबाट बाहिरिने रकम पनि २५ देखि ३० करोड रुपैयाँसम्मले बढ्छ । एक महिनाको बीचमा करिब २५ डलरले मूल्य बढेको छ । यो भनेको थप ५ अर्बदेखि ६ अर्ब रुपैयाँ नोक्सानी थपिने अवस्था छ । १५ दिनमै निगम अब १२ अर्ब रुपैयाँ नोक्सानीमा जान सक्छ ।

यत्रो दबाब धान्न सक्ने अवस्थामा निगम छ ?

अहिलेको अवस्था अनुमान गरेभन्दा निकै गम्भीर हो । महिनाको १० अर्ब रुपैयाँ नोक्सानी भयो भने त मूल्य समायोजन पनि गर्ने अवस्था रहन्न । हामीले निगम चलाउन अहिलेसम्म प्रयोग गरेको संयन्त्रले नै अब काम नगर्ने भयो ।

यो भनेको खरिद र बिक्रीको आधारमा मूल्य समायोजन गर्ने, नपुगे स्थिरीकरण कोष चलाउने अवस्थाले अब नधान्ने देखियो । अब १६ मार्चमा आउने नयाँ मूल्यले अझै चपेटामा पार्छ । हामीले निगम बोर्ड, मन्त्रालय, ससदीय समिति हुँदै विभागीय मन्त्रीको हिसाबले प्रधानमन्त्रीज्यूसम्मलाई यो विषय ब्रिफिङ गरेका छौं । सरकारले सघाउने भनेको छ ।

निगमले इन्धन बिक्रीमा कोटा प्रणालीको तयारी थालेको भन्ने सुनियो । संसदीय समितिले पनि त्यस्तै निर्देशन दिएछ । अब के हुन्छ ?

यो विषयमा निगम बोर्डमा छलफल भएको थियो । संसदीय समितिले पनि भनेको हो । तर, कार्यान्वयन कसरी गर्ने भन्ने अन्योल छ । पेट्रोल, डिजेललाई छुट्टै हिसाबले र एलपी ग्याँसमा छुट्टै कसरी गर्ने भन्ने छ । यो जटिल पनि छ ।

मुख्यतः हामीलाई महँगीमा खपत घटाउनुपर्छ भन्ने लागेको हो । तर, त्यो कसरी भन्ने छ । पेट्रोलमा जोर–बिजोर लगाउँदा खपत कति घट्छ भनेर अध्ययन भएको छैन । त्यसैले, यो तत्काल चाल्ने कदम होइन ।

त्यसअघि केही विकल्प निगमले सोचेको छ ?

मूल्य बढाएरै उपभोक्तालाई कम खपत गर्नुस् भन्ने अवस्था आउन सक्छ । त्यसले पनि इन्धन आयातको भुक्तानी नधाने वाणिज्य बैंकरुहसँग ऋण लिने भन्ने कुरा छ । यी सबै उपायबाट केही नलागे कम खपतका सबै विकल्पमा जाने हो ।

भनेपछि अब इन्धनको उपभोक्ता मूल्य बढ्छ ?

महँगोमा इन्धन प्रयोग गर्न हुन्न भन्ने चेत अब उपभोक्तालाई हुनुपर्छ । अहिले १६६ परिसकेको पेट्रोलको हाम्रो लागत नै १८० सम्म पुग्ने देखिन्छ । यस्तो अवस्थामा उपभोक्ताले खपत घटाउनुपर्छ ।

उपभोक्तालाई कस्दै निगमका कार्मचारी र व्यवसायीलाई लाभ दिन सुहाउँछ ?

निगम गम्भीर संकटमा भएको बेला हामी सबैले योगदान गर्नुपर्छ । उपभोक्ता, सरकार वा कुनै एक पक्षलाई मात्रै मारमा पारेर अर्को पक्षले कमाउने वा रमाउने भन्ने हुँदै हुन्न । त्यसैले सञ्चालक समितिबाट निर्णय गरेर व्यवसायीको कमिसन र निगमका कर्मचारीको सुविधा कटौती गरेका छौं ।

कर्मचारीको ट्रेड युनियनले यसमा सहजीकरण र सहयोग गर्ने भनेको छ । पेट्रोलियम व्यवसायीलाई पनि आन्दोलन नगर्न सम्झाएका छौं । उपभोक्ता, निगम र सरकार अप्ठ्यारोमा परेका बेला व्यवसायीले पनि सहयोग गर्नु पर्छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?