+
+

विदेशीले नेपालमा दुई दलीय व्यवस्था चाहेका छन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १७:४२

२९ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न विदेशी शक्तिहरू लागेको टिप्पणी गरेका छन् ।

आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा उनले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउने षड्यन्त्र भइरहेको दावी गरे । उक्त षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने प्रचण्डको भनाइ छ ।

‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरूलाई सिध्याउन र दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ’, उनले भने, ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन । नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धि हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ ।’

प्रचण्डले चुनाव ब्याटललाई समान्य रुपमा नलिन कार्यकर्ताहरुलाई आग्रह गरे ।

प्रचण्डले ०७४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा र मधेश केन्द्रित दलका नेताहरू बारम्बार आफ्नो निवास खुमलटार आएर पाँच वर्ष एकलौटी प्रधानमन्त्री बन्न आग्रह गर्दा बाम गठबन्धनप्रति इमान्दार भएर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएको बताए ।

तर, चार वर्ष नपुग्दै पटक-पटक बुढानिलकण्ठ गएर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गर्नुपर्ने अवस्था आउनुलाई उनले विचित्रताको संज्ञा दिए ।

‘मैले आफैंले आफैंलाई धिक्कार भन्नुपर्ने हुन्छ । त्यस्तो प्रधानमन्त्री मलाई मान्य छैन भनेर इन्कार गरेको थिएँ’, उनले भने, ‘तर, चार वर्ष बित्दा नबित्दै मैले फेरि बुढानीलकण्ठ देउवाजीलाई तपाईं प्रधानमन्त्री भइदिनुस् हामी साथ दिन्छौं भन्ने परिस्थिति पैदा भयो । यसलाई राजनीतिको विचित्र बिडम्बना भन्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?