+
+

ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरिंदै

तराईको ‘मिनी उपत्यका’को रुपमा परिचित ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरिने भएको छ । मधेस प्रदेश सरकारले ठोरीलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्न लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १९:३६

६ चैत, वीरगञ्ज । तराईको ‘मिनी उपत्यका’को रुपमा परिचित ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरिने भएको छ । मधेश प्रदेश सरकारले ठोरीलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्न लागेको हो ।

११ चैतमा मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक ठोरीमा बस्दैछ । सोही बैठकबाट ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने तयारी मधेश प्रदेश सरकारले गरेको हो ।

प्रदेश सरकारले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्न लागेको ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठले जानकारी दिए । यसले ठोरी गाउँपालिकाको पर्यटकीय क्षेत्रहरुलाई व्यवस्थित गर्न सहयोग मिल्ने उनको भनाइ छ । ‘मधेश प्रदेश सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेपछि बजेट, कार्यक्रम ल्याउँछ, त्यसले यहाँका पर्यटकीय क्षेत्रको व्यवस्थापनमा सहयोग पुग्छ,’ उनले भने, ‘प्रचारप्रसार हुन्छ, पर्यटक आवागमन बढाउने अपेक्षा छ ।’

अंग्रेजी नयाँ वर्षको दिन भारतको पटना, बेतिया, समस्तीपुर, मुजफ्फरपुर, मोतीहारी, नरकटियागञ्ज आसपासका क्षेत्रका बासिन्दा ठोरी घुम्न र वनभोज खान आउने गरेका छन् । ठोरी घुम्न आउने भारतीय पर्यटकको संख्या वर्षेनी बढ्दै गइरहेको छ । नेपालका चितवन, बारा, पर्सा, रौतहटलगायतका जिल्लाका बासिन्दा पनि ठोरीमा घुम्न र वनभोज खान पुग्ने गरेका छन् ।

हरियाली पहाडले घेरिएको ठोरी तराईको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिचित बन्दै गएको छ । ठोरीमा राईधारा, सेतो पहाड, गोले डाँडा, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सीता गुफा, सिकारीबास लगायत ५० भन्दा बढी पर्यटकीय स्थल छन् ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले पर्यटकीय क्षेत्र घोषणाका लागि अवधारणापत्र तयार भइरहेको जानकारी दिए । ‘११ चैतमा मन्त्रिपरिषद् बैठक ठोरीमा बस्दैछ, सोही दिन वा भोलिपल्ट ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने योजना छ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?