१७ असोज, काठमाडौं । हवाई उडानमा गम्भीर जोखिम निम्त्याउने चराचुरुङ्गी र वन्यजन्तुको जोखिम नियन्त्रण गर्न सरकारले विमानस्थल वरपरको क्षेत्रमा कडा वातावरणीय मापदण्ड प्रस्ताव गरेको छ।
सङ्घीय संसद्मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले विमानस्थलको निश्चित परिधिभित्र वधशाला र फोहोरमैला केन्द्र राख्न पूर्ण रूपमा रोक लगाएको हो।
विधेयकको दफा १९ ले चराचुरुङ्गी, वन्यजन्तु तथा फोहोरमैला नियन्त्रण सम्बन्धी विशेष व्यवस्था गरेको छ। उक्त दफाको उपदफा (३) मा स्पष्ट रूपमा भनिएको छ, ‘विमानस्थल र विमानस्थलको तीन किलोमिटर वरिपरिको क्षेत्रमा कसैले पनि अव्यवस्थित रूपमा वधशाला स्थापना गर्ने वा फोहोरमैला थुपार्ने कार्य गर्नु हुँदैन।’
फोहोर र मासुका अवशेषले चिल, गिद्ध र अन्य चराहरूलाई आकर्षित गर्ने र ती चराहरू जहाजको इन्जिनमा ठोक्किने दुर्घटनाको जोखिम उच्च हुने भएकाले उडान सुरक्षालाई मध्यनजर गर्दै यो बाध्यात्मक कानुन ल्याइएको हो।
यस कानुनी मापदण्डको अटेर गर्नेलाई आर्थिक कारबाहीको कडा प्रावधानसमेत विधेयकमा राखिएको छ। विधेयकको दफा ३९ को खण्ड (च) ले विमानस्थलको तीन किलोमिटर वरिपरिको क्षेत्रमा अव्यवस्थित रूपमा वधशाला स्थापना वा फोहोरमैला थुपार्ने कार्यलाई ऐनबमोजिमको गम्भीर ‘कसुर’ मानेको छ।
यस्तो कसुर गर्ने व्यक्ति वा संस्थालाई दफा ४० को उपदफा (१) को खण्ड (क) बमोजिम प्राधिकरणका प्रबन्ध निर्देशकले कसुरको मात्रा हेरी २० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार प्रस्ताव गरिएको छ।
यसका साथै, सोही दफाको उपदफा (२) ले एकपटक सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसुर दोहोर्याएमा पहिलेको भन्दा दोब्बर सजाय (जरिबाना) हुने कडा व्यवस्था गरेको छ।
प्रतिक्रिया 4