+
+

वाम एकताका लागि घनश्याम भुसालले देखेका ४ आधार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते २०:०९

८ चैत, काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अरुचिका बाबजुद नेकपा एमालेका नेता घनश्याम भुसालले पुनः वाम एकताको बहस अगाडि बढाएका छन् ।

एक आलेख मार्फत् वाम एकताको बहस थालेपछि भुसाललाई अध्यक्ष ओलीले कथित बुद्धिजीवीको संज्ञा दिएका थिए । तर तिनै ओलीको अध्यक्षतामा सोमबार बसेको प्रथम पोलिटब्यूरो बैठकमा फेरि भुसालले वाम एकताको प्रस्ताव राखे ।

भुसालका अनुसार वाम एकताको चार आधार छन् । यद्यपि ओलीले एमालेबाहेक अरु वाम पार्टी नै नरहेकाले एकताको आवश्यकता नरहेको जवाफ दिए ।

पोलिट्व्यूरो बैठकमा भुसालले राखेको प्रस्तावको जवाफमा ओलीले झण्डै एक घण्टा समय खर्च गरेका थिए । अधिकांश समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आलोचनामा खर्चिएका उनको स्पष्ट सन्देश थियो, वाम एकताको पक्षमा एमालेका कसैले नबोलुन् ।

तर, भुसाल भने वाम एकता अपरिहार्य रहेकाले यो बहस र पहलकदमी नछोड्नेमा दृढ देखिन्छन् । मंगलबार दिउँसो पत्रकारहरुसँग वाम एकताको चार आधारबारे भुसालले संक्षेपमा यसरी व्याख्या गरे ।

१. नेतृत्व लिने दायित्व एमालेको

वाम आन्दोलनमा एमाले मूल आधार भएकाले वाम एकताको पहल र नेतृत्व लिने दायित्व पनि एमालेकै हो ।

भुसाल भन्छन्, ‘नेकपा एमाले एकताको पक्षमा जानुपर्छ, हामीले पहलकदमी गर्नुपर्छ र नेतृत्व गर्नुपर्छ । किनभने, हामीले नेतृत्व नगरी यो एकता हुँदैन । किनभने हामी ठूलो पार्टी हौं । त्यति मात्रै होइन, एमाले नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह हो, र यो एकताको पनि मूल प्रवाह हो । त्यसैले एकताको पहल र नेतृत्व गर्ने दायित्व एमालेकै हो ।’

२. विभाजनमा सैद्धान्तिक, वैचारिक आधार छैन

विभाजनको वैचारिक र सैद्धान्तिक आधार नै नभएकाले कम्युनिस्ट पार्टीहरु अलगअलग रहनुको औचित्य पुष्टि नहुने उनी बताउँछन् । भर्खरै अलग भएको एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसँग अलग सैद्धान्तिक कार्यक्रम नभएकाले पनि गठबन्धन र एकता अपरिहार्य छ ।

उनी भन्छन्, ‘यो विभाजनको सैद्धान्तिक र वैचारिक आधार छैन । कम्तीमा तीन पार्टी (नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी), जो चुनावमा जान्छु भन्छ, ती पार्टीका बीचमा वैचारिक र सैद्धान्तिक समस्या छैनन् । अथवा विभाजनको औचित्यै छैन । चुनावमा जाने भनेको समाजवाद ल्याउने भनेर हो । आजै समाजवादी उत्पादन सम्बन्ध कायम गर्न सकिदैन । त्यसको तयारी गर्नुपर्छ । त्यसका लागि मुलुकलाई समृद्धितिर लैजानुपर्छ ।’

‘सैद्धान्तिक रुपमा हामी हि‌ंड्ने बाटो भनेको लोकतान्त्रिक प्रणाली नै हो । त्यसमा पनि केही फरक छैन । हामीले मार्क्सवाद, लेनिनवादको कुरा गरे पनि, हामी अघि बढ्ने तरिकाको कुरा गरे पनि, सिद्धान्तको कुरा गरे पनि सबैले एउटै गर्छौं । एमालेले भन्ने कुरा पनि त्यही हो, माओवादी केन्द्रले भन्ने कुरा पनि त्यही हो, एकीकृत समाजवादीले गर्ने कुरा पनि त्यही हो । वैचारिक र सैद्धान्तिक रुपमा एउटै कुरा गरेर किन तीन वटा पार्टी बनाउनुपर्‍यो ? यो भन्दा हास्यास्पद कुरा के हुन्छ ?’

संसद विघटनलाई बिर्सनुपर्छ

नेता भुसालले संसद विघटनको विषयले कम्युनिस्ट पार्टीबीचमा विभाजन ल्याए पनि यसलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले हल गरिसकेकाले यसलाई बिर्सनुपर्ने बताउँछन् । त्यसैले संसद विघटनको मुद्दालाई ठूलो बनाएर बसिरहन नहुने उनको निष्कर्ष छ । उनले अब संसद विघटन सही थियो भनेर पनि जान नसकिने धारणा राखे ।

पुस ५ मा गरिएको विघटन एउटा राजनीतिक कुरा हो, जसमा हामी विभाजित छौं । यो कुरा स्वयं अदालतले र संवैधानिक इजलासले फैसला गरिसकेको छ । यो संविधान रहेसम्म संसद विघटन गर्नुहुँदैन भन्ने कुरा निश्चित भइसकेको छ । यो संविधान रहेसम्म यो उल्टिदैन ।

सर्वोच्च अदालतको त्यो निर्णय गलत छ भनेर हामी जाने हो भने हेर्नुहोला यो संविधान भत्किन सुरु गर्छ । अब पनि यस खालका विघटन ठीक छन् भनेर जानुको अर्थ हामी सिधै अस्थिरताका पक्षमा हिंड्नु हुन्छ । जुन काम नेकपा एमाले जस्तो जिम्मेवार पार्टीबाट हामीले गर्नुहुँदैन, गर्दैन ।

३. मिलेर गए परिणाम विशाल हुन्छ

कम्युनिस्ट पार्टीहरु मिल्दा चुनावमा आउने परिणाम विशाल र प्रभावकारी हुने तर अलगअलग जाँदा कम्युनिस्ट आन्दोलन संकटमा पर्ने भुसालको निष्कर्ष छ ।

स्थानीय तहको चुनाव त अब आइ नै सकेको छ । यो परिणाम वामहरुको पक्षमा सुनिश्चित गर्न एमाले ठूलो पार्टी हो, आफ्नो साइज अनुसार जितिहाल्छ । आफ्नै आकार अनुसार माओवादी र एकीकृत समाजवादीले जित्ला । तर, वामहरु एकै ठाउँमा उभिएर जित्ने जित धेरै ठूलो हुन्छ । धेरै प्रभावकारी हुन्छ । त्यसैले पनि कम्युनिस्टहरुबीच एकताको आवश्यकता छ ।

४. अधिकांश कार्यकर्ता एकताको पक्षमा

कम्युनिस्ट पार्टीका अधिकांश इमान्दार मान्छे एकताको पक्षमा रहेका भूसालले बताएका छन् ।

कम्युनिस्ट पार्टीका इमान्दार मान्छे, जसले कम्युनिस्ट पार्टी निर्माणमा भूमिका खेलको छन्, ती सबै कार्यकर्ता, नेता एकताको पक्षमा छन् । यसको केही खास अर्थ छ । यसको इतिहास छ, तिनले चुनौती देखेका छन् । तिनले भविष्य पनि देखेका छन्, चुनौती पनि देखेका छन् । भविष्य र चुनौतीलाई राम्ररी विश्लेषण गर्ने नेता, कार्यकर्ता, सर्मथक, शुभचिन्तकहरुको पंक्ति एकताको पक्षमा छ ।

यो कुरा पहिले पनि देखिएको छ, पटक–पटक देखिएको छ । केही मान्छे यसको विरोधमा रहन सक्छन् । जुनसुकै आन्दोलनमा आफ्नो खाइपाइ सुरक्षित राख्ने र कम्युनिष्ट आन्दोलनको विभाजनमा आफ्नो हैसियत देख्ने केही मान्छेहरु हुनसक्छन् । ती मानिसहरु यसको विरोध गर्ने छन् ।

एकताका चार आधार देखाएका भुसाल, पार्टी विभाजनमा हामी सबै जिम्मेवार छौं भन्नेवित्तिकै वाम एकता सुरु भइहाल्ने तर्क गर्छन् । अहिले नै वाम गठबन्धन हुने र पछि त्यो पार्टी एकतामा रुपान्तरण हुने उनको विश्वास छ ।

‘अहिले जुन गालीगलौज छ, त्यसमा एकैचोटि पार्टी एकतामा जान सकिन्न,’ भूसालको भनाइ छ, ‘तर, विगत १४ महिनामा जे भए, त्यो विभाजनमा हामी सबै जिम्मेवार छौं भन्ने भयो भने यो चुनावमा गठबन्धन बन्न सक्छ ।’

नेताहरुको स्वार्थमा आधारित रहेर एकता नटिक्ने अनुभव विगतबाट पाइएकाले अब हुने एकताले त्यसलाई तोड्नुपर्नेमा उनी जोड दिन्छन् । ‘अनुभवले के बताउँछ भने नेताहरूका स्वार्थमा आधारित एकता टिक्दैन । नेताका स्वार्थमा आधारित भएर एकता भयो भने हालत यस्तो हुन्छ भन्ने दुनियाँले, हामीले बुझिसकेका छौं’, भुसाल भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?