+
+

कास्की जिल्ला अदालतमा मध्यरातमा तोडफोड, चोरीको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १४:५८

९ चैत, पोखरा । कास्की जिल्ला अदालतको इजलाश कक्षमा तोडफोडसहित चोरी भएको आशंका गरिएको छ ।

६ नम्बर इजलाशको मिसिललगायतका कागजात रहेको दराज खोलेको भेटिएको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए । मिसिलसहितका कागजपत्रहरु आफ्नो ठाउँमा नरहेकाले चोरी भएको आशंका गरिएको छ ।

‘२ तला माथि रहेको ६ नम्बर इजलाशमा फलामको छड प्रयोग गरेर ३ वटा ढोका फोडेको अवस्था छ,’ पनेरुले भने, ‘दराजबाट मिसिल भएको फाइलहरु छानेको अवस्था छ । कागजपत्रहरु आफ्नो ठाउँमा छैनन् ।’

इजलाशबाट सामानहरु हराएको वा होइन भन्ने विषयमा अहिले छानविन भइरहेको पनेरुले जानकारी दिए ।

‘मिसिलमात्रै होइन, सबै कागजात त्यति नै महत्वपूर्ण हुन्छ, अहिले नै ठ्याक्कै यही हराएको भन्ने छैन,’ उनले भने, ‘यस विषयमा अनुसन्धान भइरहेको छ ।’

मंगलबार राति तोडफोड भए पनि बुधबार बिहान कार्यालय सफा गर्ने क्रममा मात्रै जानकारी भएको अदालतले जनाएको छ । ‘बिहान सफा गर्नेबेला थाहा भए लगत्तै प्रहरी बोलाएर अहिले छानविन भइरहेको छ, फिंगर प्रिन्टदेखि लिएर सिसिटिभी फुटेजलगायतका कुरामा अनुसन्धान अघि बढाइएको छ,’ उनले भने ।

ढोका फोड्न प्रयोग भएको छड बरामद भएको उनले जानकारी दिए । तोडफोड भएको ६ नम्बर इजलासमा देवप्रसाद योगीले मुद्दा हेर्दै आएका थिए । चौबिसै घण्टा प्रहरी सुरक्षामा हुने जिल्ला अदालतको ठीक अगाडि वडा प्रहरी कार्यालय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?