
१० चैत, काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीले अर्थमन्त्री जनार्दश शर्मालाई भेट गरी आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिएका छन् ।
बुधबार भएको भेटमा उद्योगी व्यवसायीले मंगलबारदेखि उद्योगमा बिजुली कटौती भएको समेत गुनासो राखेका छन् । शर्मासँगकाे भेटमा उनीहरुले उद्योगी व्यवसायीहरुले भोग्दै आइरहेको समस्या सुनाउँदै आगामी बजेटमा राख्नु पर्ने विषयबारे सुझाव दिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा आएको टोलीले मंगलबारदेखि उद्योगमा लोडसेडिङ भएकाले समस्यामा परेको,
बैंकमा धरौटी राखेको पैसाको ब्याज आउने वातावरण मिलाइदिनुपर्ने, कृषि क्षेत्रमा तोकिएको सीमाअनुसार बैंकले कर्जा वितरण गर्नुपर्ने, सामाजिक सुरक्षा कोषलाई संशोधन गरी उद्योगी र कर्मचारीमैत्री बनाउनुपर्ने लगायतका सुझाव उनीहरुले दिएका थिए ।
‘भन्सार मूल्यांकनमा थप सहजता चाहिन्छ । सेजमा स्थापना हुने उद्योगलाई निर्यातमा गरिएको प्रावधान केही खुकुलो बनाउने तथा आयकरमा विशेष सहुलियत हुनुपर्छ’ वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको सुझाव थियो ।
संघका महासचिव मनोजकुमार दासले भन्सार कार्यालयहरुमा करवापत तिर्नुपर्ने रकम बुझाउँदा लामो समय लाग्ने गरेको गुनासो गरे ।
उद्योगीहरुको गुनासो सुनेपछि अर्थमन्त्री शर्माले तत्कालै भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई फोन गरेर समस्याबारे जानकारी लिई सफ्टवेयर प्रणालीमा छिटो सुधार गर्न निर्देशन दिए ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पनि फोन गरेर विद्युत आपूर्तिमा आएको समस्या समाधान गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया 4