+
+
रामेछाप कांग्रेसले माग्यो सुझाव :

‘गोविन्द खड्कालाई पार्टी प्रवेश गराउँदा फाइदा हुन्छ कि बेफाइदा ?’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १२:१२

११ चैत, वीरगञ्ज । नेकपा एमालेबाट निर्वाचित रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरेका छन् ।

उनलाई कांग्रेसमा प्रवेश गराउने कि नगराउने भनेर कांग्रेसको रामेछाप जिल्ला समितिले गाउँपालिका र वडा कार्यसमितिसँग सुझाव मागेपछि उक्त कुरा सार्वजनिक भएको हो । यद्यपि गाउँपालिका अध्यक्ष खड्कासँग यसबारे बुझन खोज्दा टेलिफोन सम्पर्क हुन सकेन ।

रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले पालिका र वडाका कार्यसमितिलाई पत्र लेखेर चैत १२ गतेभित्र सुझाव पठाइसक्न भनेका छन् ।

उनले पत्रमा लिखु तामाकोशी गाउँपालिकामा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कालाई नेपाली कांग्रेसमा प्रवेश गराउँदा पार्टीलाई हुने फाइदा÷बेफाइदा के हुन्छ ? भन्ने विषयमा राय सुझाव लिखित रुपमा जिल्ला कार्यसमितिमा पठाएर सहयोग गर्न आग्रह गरेका छन् ।

राप्रपाबाट एमालेमा प्रवेश गरेर उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । तर अध्यक्ष भएदेखि नै उनको एमालेसँग राम्रो सम्बन्ध रहेन । उनी विभिन्न विवादमा मुछिएपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर बनेको नेकपाले उनलाई पार्टीबाट निलम्बन गरेको थियो ।

गाउँपालिकामा मनोमानी गरेको भन्दै उपाध्यक्ष दीपशिखा दाहालसहित एमालेबाटै निर्वाचित वडाध्यक्षहरुले खड्काविरुद्ध पार्टीमा उजुरी दिएका थिए । विद्युतीकरणको विषयमा भएको विवादको क्रममा उनले प्रमुख प्रशासकीय अधिकृत र वडा नं. ७ का अध्यक्षमाथि कुर्सि प्रहार गरेको घटना सार्वजनिक भएको थियो ।

विवाद जारी रहेकै बेला गत साउन २४ गते स्वयम्भू गोलीकाण्डमा मुछिएपछि खड्का थप विवादित भएका थिए । प्रहरीले गोली चलाएर स्वयम्भुबाट लोप्साङ भनिने मिलन तामाङ र अमृत तामाङलाई पक्रेको थियो ।

गाउँपालिका अध्यक्ष खड्काले मिलन र अमृतले आफूसँग चन्दा मागेको र चन्दा नदिए छोरी अपहरण गर्ने धम्की दिएको उजुरी प्रहरीमा दिएका थिए ।

चन्दा माग्ने र छोरी अपहरण गर्ने धम्की दिने योजनाकार दीपशिखा लगायतका व्यक्तिहरु रहेको आरोप खड्काले लगाएपछि उनीहरुबीच विवाद थप चर्किएको थियो । उनी कीर्ते जालसाजी मुद्दामा थुनामा समेत परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?