+
+

जनसंख्यामा महिला धेरै, मतदातामा पुरुष

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ चैत १३ गते २१:३७

१३ चैत, काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन् । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको छ, जसअनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् ।

यो पाँच वर्षको स्थानीय निवार्चनमा झण्डै ३७ लाख बढी मतदाता हो । २०७४को स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । यो पटक ३६ लाख ५९ हजार दुई सय ९९ सय बढेर १ करोड ७७ लाख पुगेको हो ।

आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालका अनुसार सबै जिल्लाबाट मतदाताको संख्या संकलन गरेर त्यसउपर छलफल, दावी विरोध र सच्याउने अवसर दिएर मतदाताहरुको अन्तिम नामावली तय गरिएको हो ।२०७४ सालकै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता संख्या एक करोड ५४ लाख थियो । २०७४ सालमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको आधारमा भने २३ लाख मतदाता बढेका छन् ।

महिलाभन्दा पुरूष मतदाता धेरै 

स्थानीय निर्वाचनका मतदातामा महिला भन्दा पुरुष धेरै छन् ।८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् । अर्थात, २ लाख ५० हजार ४८० जना पुरुष मतदाता बढी छन् ।

जबकी राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्क अनुसार कुल जनसंख्यामा पुरूषभन्दा महिला धेरै छन् । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

जसमध्ये महिलाको संख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार ३११ छ । अर्थात, कूल जनसंख्यामा पुरुषभन्दा महिलाको संख्या ६ लाख ९ हजार ८५८ ले बढी छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय जनसंख्या अध्ययन विभागका प्रमुख प्रा.डा.गोविन्द सुवेदी दुई वटा कारणले जनसंख्यामा महिला र मतदातामा पुरुष धेरै भएको हुन सक्ने बताउँछन् ।

एउटा, कारण युवा पुस्तामा पुरुष बढी हुने र अर्को, मतदाता नामावलीमा महिलाको नाम छुटेको हुन सक्ने । ‘युवा पुस्तामा पुरुषको जनसंख्या बढी हुन सक्छ । यसको कारण १०/१५ वर्षदेखि महिला भए भ्रूण हत्या गर्ने र पुरुष भए जन्माउने प्रवृत्ति छ’, उनी भन्छन्, ‘अहिले बालबालिकाको संख्या हेर्ने हो भने पनि महिलाको संख्या कम छ ।’

नेपालमा लिङ्ग छुट्टिएपछि भ्रूण हत्या बन्देज रहेको भ पनि महिला हुँदा नजन्माउने प्रवृत्ति रहेको उनले सुनाए । यस्तो प्रवृत्ति भारतमा पनि रहेको उनले सुनाए, ‘भारतमा १०० जना केटा जन्मिँदा ७० जना मात्रै महिला जन्मिन्छन् । किनभने छोरी हुँदा भ्रूण हत्या गर्छन् । नेपालमा पनि यस्तै भएको हुन सक्छ ।’

सुवेदीका अनुसार अर्को कारण मतदाता नामावलीमा महिलाको नाम छुटेको पनि हुन सक्छ । ‘हाम्रो समाजमा अझै पनि महिलालाई नामावलीमा छुटाउने समस्या पनि छ । यसको पनि केही प्रभाव हुन सक्छ’ उनले भने ।

मतदान केन्द्र पनि तोकियो

स्थानीय तह चुनावमा देशभर २१ हजार ९५५ वटा मतदात केन्द्र तोकिएको छ । निर्वाचन आयोगले १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ वटा मतदात केन्द्र रहने जनाएको हो । एउटा मतदान स्थलमा एक भन्दा बढी केन्द्र पनि रहने छन् ।

सबैभन्दा धेरै मधेस प्रदेशमा ४ हजार १८९ मतदान केन्द्र रहने जनाएको छ । यस्तै सवैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५ वटा मतदान केन्द्र रहने छन् ।

बागमती प्रदेशमा ४ हजार ९५, प्रदेश १ मा ४ हजार ५१, लुम्बिनी प्रदेशमा ३ हजार ८३२, गण्डकी प्रदेशमा २ हजार ३०० र सुदूरपश्चिम प्रदेशमा २ हजार १०३ वटा मतदान केन्द्र रहने आयोगले जनाएको छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?