+
+

विश्वकप फुटबल खेल्ने २० टोलीको टुंगो लाग्यो, कुन महादेशबाट कुन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १५:५८

१४ चैत, काठमाडौं । आगामी नोभेम्बर/डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपको छनोट प्रक्रिया अन्तिमतिर पुगेको छ । विश्वभरबाट सहभागी हुने ३२ मध्ये २० टोलीको टुंगो लागेको छ ।

बाँकी १२ टोलीको टुंगो पनि अबको केही समयमै लाग्नेछ । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा सबैको नजर छ । यसपल्ट पहिलोपटक जाडो समयमा विश्वकप आयोजना हुँदैछ । कतारले पनि विश्वकप आयोजनाका लागि आफ्नो तयारीलाई अन्तिम रुप दिँदैछ । अहिलेसम्म विश्वकप खेल्ने टुंगो लागेका २० देश यी हुन् :

युरोप

फिफा विश्वकपमा युरोपबाट सबैभन्दा धेरै १३ टोली सहभागी हुनेछन् । तीमध्ये छनोट प्रतियोगिताबाट सिधै छानिएका १० टोलीको टुंगो लागिसकेको छ ।

जर्मनी, डेनमार्क, बेल्जियम, फ्रान्स (साविक विजेता), क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्याण्ड, स्वीटजरल्याण्ड र नेदरल्याण्ड्स विश्वकपमा छनोट भइसकेका छन् ।

बाँकी तीनमध्ये दुई टोलीको टुंगो प्लेअफबाट लाग्नेछ । मंगलबार तीनमध्ये दुई प्लेअफको फाइनल हुँदैछ । दुई फाइनलको विजेता टोली विश्वकपमा पुग्नेछन् ।

युरोप प्लेअफ फाइनल पोल्याण्डविरुद्ध स्वीडेन र पोर्चुगलविरुद्ध नर्थ मासेडोनियाबीच हुनेछ ।

अघिल्लो साता भएको प्लेअफ सेमिफाइनलमा नर्थ मासेडोनियाले अप्रत्यासित जित निकाल्दै इटलीलाई लगातार दोस्रोपल्ट विश्वकपबाट वञ्चित गराइदिएको थियो । चारपटकको विश्व विजेता इटली अघिल्लो वर्ष इंग्ल्याण्डलाई हराउँदै युरो च्याम्पियन बनेको थियो ।

रुस–युक्रेन तनावका कारण प्लेअफको एउटा सेमिफाइनल खेल आयोजना हुन सकेको छैन । स्कटल्याण्ड र युक्रेनबीच हुनुपर्ने प्लेअफ सेमिफाइनल जुन महिनाका लागि सारिएको छ । त्यो खेलको विजेताले कतार यात्रा निश्चित गर्नका लागि वेल्ससँगको प्लेअफ फाइनल जित्नुपर्छ ।

दक्षिण अमेरिका

दक्षिण अमेरिकाबाट विश्वकपमा सिधा छनोट हुने चार टोली निश्चित भइसकेको छ । १० टोली सम्मिलित छनोट प्रतियोगितामा ६ चरणको खेल अगावै ब्राजिल विश्वकपमा छनोट भएको थियो । आयोजक कतारपछि सन् २०२२ को विश्वकपमा छानिने ब्राजिल पहिलो टोली हो ।

दक्षिण अमेरिकाबाट विश्वकपमा सिधा छानिएका टोली ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे हुन् ।

दक्षिण अमेरिकी छनोटमा पाँचौं स्थानमा रहने टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्नेछ । अन्तिम चरणको खेल बाँकी रहँदा यो स्थानका लागि पेरु, कोलम्बिया र चिलीबीच प्रतिस्पर्धा छ । यी तीनमध्ये एक टोलीले अन्तरमहादेशीय प्लेअफमा एसियन प्लेअफको विजेतासँग विश्वकपमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।

उत्तर तथा मध्य अमेरिका (कन्काफ)

कन्काफ क्षेत्रमा विश्वकप छनोट प्रतियोगितामा ८ टोलीको सहभागिता छ र यहाँबाट तीन टोली सिधै विश्वकपमा छानिनेछन् । छनोटको शीर्ष स्थानमा रहेको क्यानडाले सोमबार जमाइकालाई हराएर ३६ वर्षपछि विश्वकपमा छानिएको छ ।

छनोट प्रतियोगिताको अन्तिम चरणका खेलहरु बुधबार हुनेछन् । समान २५ अंक रहेको अमेरिका र मेक्सिको सम्भवतः विश्वकपमा सिधै छनोट हुनेछन् । तीन अंकले पछि रहेको कोष्टारिकाले सम्भवतः अन्तरमहादेशीय प्लेअफमा ओसियाना क्षेत्रको विजेतासँग फाइनल स्पर्धा गर्नुपर्नेछ ।

अफ्रिका

अफ्रिकाबाट पाँच टोलीले विश्वकप खेल्न पाउँछन् । अफ्रिकामा यसपल्ट होम एण्ड अवेको आधारमा दुई लेगको प्लेअफमार्फत विश्वकप खेल्ने टोलीको टुंगो लगाइँदैछ ।

१० टोलीबीच प्लेअफको पहिलो लेग भइसकेको छ । दोस्रो लेगको नतिजाबाट कतार जाने टोली निश्चित हुनेछन् । दोस्रो लेगका खेलहरु मंगलबार र शुक्रबार हुँदैछन् ।

अफ्रिकी छनोट प्लेअफको पहिलो लेगको नतिजा

क्यामरुन ०–१ अल्जेरिया

कंगो १–१ मोरक्को

इजिप्ट १–० सेनेगल

घाना ०–० नाइजेरिया

माली ०–१ ट्युनिसिया

एसिया

एसियाबाट पाँच टोलीले सिधा र १ टोलीले अन्तरमहादेशीय प्लेअफ जितेको खण्डमा विश्वकप खेल्न पाउँछन् । एसियाकै कतार आयोजकको नाताले सिधै छनोट भएपछि बाँकी चार स्थानको पनि टुंगो लागिसकेको छ ।

एसियाबाट विश्वकपमा सिधा छनोट भएका टोलीमा कतार (आयोजक), इरान, दक्षिण कोरिया, साउदी अरेबिया र जापान हुन् ।

सबैभन्दा ठूलो महादेश एसियामा विश्वकप छनोट प्रक्रियाको अन्तिम छनोट प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइएको थियो । दुवै समूहको शीर्ष दुई टोली सिधा छानिएका छन् भने तेस्रो हुने टोलीबीच प्लेअफ फाइनल खेल हुनेछ । त्यसमध्ये समूह ‘बी’को अष्ट्रेलियाले तेस्रो स्थानमा रहेर प्लेअफ फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

समूह ‘ए’ बाट युएई, इराक र लेवनानबीच प्रतिस्पर्धा हुँदैछ । मंगलबार हुने छनोट चरणको अन्तिम खेलमा युएई र दक्षिण कोरिया, इराक र सिरिया तथा लेवनान र इरानबीच प्रतिस्पर्धा हुँदैछ ।

युएईले दक्षिण कोरियालाई पराजित गरेमा प्लेअफ फाइनलका लागि छानिनेछ । युएई पराजित हुँदा र इराकले सिरियालाई हराएको अवस्थामा इराक प्लेअफमा पुग्नेछ ।

प्लेअफ फाइनलमा विजयी टोलीले विश्वकपमा स्थान बनाउनका लागि अन्तरमहादेशीय प्लेअफमा दक्षिण अमेरिकी छनोटको पाँचौं स्थानमा रहने टोलीसँग निर्णायक प्रतिस्पर्धा हुनेछ ।

ओसियाना

ओसियाना क्षेत्रबाट कुनै पनि टोलीले सिधा छनोट हुन पाउँदैनन् । तर अन्तरमहादेशीय प्लेअफबाट उनीहरुलाई अवसर हुनेछ । ओसियाना छनोटको फाइनल बुधबार सोलोमोन आइल्याण्ड र न्युजिल्याण्डबीच हुनेछ ।

सो खेलको विजेताले कन्काफ क्षेत्रको छनोटमा चौथो हुने टोलीसँग अन्तरमहादेशीय प्लेअफ खेल्नेछ । विजेता टोलीले कतार विश्वकपमा स्थान बनाउनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?