+
+
स्थानीय तह समीक्षा :

तुलसीपुर उपमहानगर : चर्चामा बित्यो पाँच वर्ष, अधुरै स्मार्ट सिटी

स्वास्थ्य र शिक्षामा उल्लेखनीय काम गरे पनि तुलसीपुर उपमहानगरपालिकाको स्मार्ट सिटी जस्ता अधिकांश योजना चर्चामै सीमित भए ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ चैत १५ गते १९:१८

१५ चैत, दाङ । ०७४ सालको स्थानीय तह चुनावमा नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिमा मेयर जितेपछि घनश्याम पाण्डेले नगरलाई स्मार्ट सिटी बनाउने घोषणा गरे । त्यसो त उनले चुनावी घोषणा पत्रमा नै स्मार्ट सिटी बनाउने प्रतिवद्धता जनाएका थिए ।

तुलसीपुरमा परिवर्तन गर्ने भन्दै उनी चुनाव जितेकै वर्षदेखि नै अवलोकनका लागि पटक-पटक विदेश उडे । चीन, ताइवान, थाइल्याण्डलगायतका देशको अवलोकन भ्रमण गरे । तर त्यहाँको विकासको सिको गर्न सकेनन् ।

एक वर्षमा परिवर्तन देखाउँछु भनेका पाण्डेले पाँच वर्षे कार्यकाल वित्नै लाग्दा बल्ल स्मार्ट सिटीको गुरुयोजनामात्र तयार पारेका छन् र अहिले उनको बोली फेरिन लागेको छ । भन्छन्, ‘स्मार्ट सिटी हाम्रो लक्ष्य हो, एउटै कार्यकालमा सम्पन्न हुने होइन, हामी लक्ष्य अनुसारको बाटोमा हामी अघि बढेका छौं ।’

स्मार्ट सिटीका लागि केही पूर्वाधार तयार गरेको दाबी गर्छन् उनी । ‘अब बन्ने स्मार्ट सिटी हामीले तयार गरेकै अवधारणामा अगाडि बढ्छ’ उनी भन्छन् ।

घोषित काम गर्न नसक्नुमा उनले गतिलो बहाना भेटेका छन् कोरोना महामारी । अनि उनी संघीय र प्रदेश सरकार परिवर्तनले पनि सोचेको काम गर्न नसकेको भन्दै आफ्नो बचाउमा लाग्ने गरेका छन् । ‘स्मार्ट सिटीको पूर्वाधार तयार गर्न संघीय सरकारले एक अर्ब रुपैयाँ बजेट छुट्टाउने सम्झौता भइसकेको थियो,’ उनले भने, ‘सत्ता परिवर्तनपछि बजेेट रोकियो, काम अघि बढ्न सकेन ।’ केपी ओली नेतृत्वसँग गरेको सम्झौताको बजेट शेरबहादुर देउवा नेतृत्वको सरकारले रोकेको उनको आरोप छ ।

तर स्थानीयबासिन्दा पाण्डेले बहाना मात्र बनाएको बताउँछन् । ‘स्मार्ट सिटीको नारा ल्याउँदा ठूलै विकास हुन्छ भन्ने सोच्यौं’ तुलसीपुरका व्यवसायी बेदप्रसाद वली भन्छन्, ‘तर प्रचार अनुसारको काम भएन ।’

भौतिक पूर्वाधारमै धेरै आलोचना

पाण्डेले चुनावी घोषणा पत्रमा भौतिक पूर्वाधार विकासतर्फ सडक विस्तार र कालोपत्रेलाई मुख्य प्राथमिकतामा राखेका थिए । तर सडककै विषयलाई लिएर सबैभन्दा धेरै आलोचना खेप्दै उनको कार्यकाल सकिन लागेको छ ।

तुलसीपुरका बासिन्दालाई आलोचनाको मौका मेयर पाण्डेकै छोरा अनुपले मिलाइ दिएका छन् । निर्माण व्यवसायी अनुप संघीय सरकारले विस्तार गर्न लागेको तुलसीपुर-घोराही चार लेन सडकको पेटी ठेकदार हुन् । अनुपले ठेक्का लिएको काम ३ वर्षमा ७ प्रतिशत मात्र भयो । जसले गर्दा तुलसीपुर-घोराही सडक अलपत्र छ । र त्यसको दोष स्थानीयबासिन्दाले मेयर पाण्डे र उनका छोरालाई दिँदै आएका छन् । अहिले त काम गराउनेहरुलाई ज्याला नदिएको आरोपमा मेयर पाण्डेका छोरा अनुप पक्राउ परेका छन् ।

मुख्य बजारक्षेत्रका खल्टाखुल्टीसमेत नपुरिएपछि मेयरको आलोचना बढेको छ । व्यवसायी वली आधारभूत विकासका काममा समेत उपमहानगरको ध्यान नगएको भन्दै थप्छन्, ‘बजारभित्र सडक बेहाल छ ।’

तुलसीपुर बजार क्षेत्रको सडक ।

बजारको मुख्य ‘क’ लाइन सडकमा खाल्टाखुल्टी परेर छियाछिया बनेको छ । बजारको मुख्य स्थान वीरेन्द्रचोकलगायत बजारभित्रका अन्य सडक र चोक पनि उस्तै छन् । सडकमा परेका खाल्टाका कारण बर्खामा जलमग्न हुने र घाम लाग्दा धुलो उड्ने हुँदा बजारवासी हैरान छन् । तर उपमहानगरले भने पाँच वर्षमा ५६ किलोमिटर बाटो कालोपत्रे गरेको दावी गर्छ ।

अपेक्षा अनुसार भएन काम

तुलसीपुर उपमहानगरपालिका-९ का वडाध्यक्ष घनश्याम ढकाल उपमहानगरको नेतृत्वले स्थानीय सरकार भएको अनुभूति हुने गरी काम गर्न नसकेको स्वीकार्छन् । ‘जनताले हिजो जुन अपेक्षा गरेर मत दिए, त्यसअनुसार काम गर्न नसकिएको साँचो हो,’ उनले भने ।

मेयर पाण्डेले चर्चा बटुल्न ५ वर्षमा धेरै योजना ल्याएको तर पूरा नगरेको उनको आरोप छ । ‘लोकप्रिय नारा ल्याएर चर्चा बटुल्ने काम भयो’, वडाध्यक्ष ढकालले भने, ‘तर त्यसअनुसार उपमहानगरको नेतृत्वले काम गर्न सकेन ।’

मोनो रेल र रिङरोड सपना अधुरै

चुनावी घोषणा पत्रमा मेयर पाण्डेले तुलसीपुर उपमहानगरपालिकामा रिङ रोड बनाउनेदेखि मोनो रेल सञ्चालन गर्नेसम्मका प्रतिवद्धता गरेका थिए । तर पाँच वर्षमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनको कामसमेत भएन । तुलसीपुर उपमहागनरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले मोनोरेल सञ्चालनको सन्दर्भमा कुनै काम अघि नबढेको बताए ।
तुलसीपुरमा रिङरोड बनाउने विषय धेरै पहिलेदेखि नै उठ्दै आएको हो । आफ्नै कार्यकालमा रिङरोड पूरा गर्छु भनेका पाण्डेको कार्यकालमा तीन किलोमिटरमात्रै रिङरोड कालोपत्रे भएको छ ।

अधुरै स्पोर्टस् सिटी

तुलसीपुर बजार ।

चुनावअघि पाण्डेले तुलसीपुरलाई स्पोर्टस् सिटी बनाउने विषय जोडतोडले उठाएका थिए । तुलसीपुर उपमहानगरपालिकालाई स्पोर्टस् सिटीका रुपमा विकास गर्ने भन्दै ‘एक बस्ती, एक खेल मैदान’को नारा चुनावी घोषणा पत्रमासमेत राखेका थिए । तर चुनाव जितेपछि उनले प्रतिवद्धता बिर्सिए । तुलसीपुर न त स्पोर्टस् सिटी बन्यो, न त एक बस्ती एक खेल मैदान नै ।

१९ वटा वडा रहेको तुलसीपुरमा ५ वर्षमा ५ वटा खेल मैदान निर्माण भएका छन् भने एउटा निर्माणाधीन छ । तुलसीपुर उपमहानगरपालिका-९ का वडाध्यक्ष घनश्याम ढकालले उपमहानगरले खेल मैदानमा निर्माणमा बजेट नै नदिएको आरोप लगाउँछन् । भएका मैदानसमेत उपमहानगरपालिकाले संरक्षण नगरेको आरोप स्थानीयबासिन्दाको छ ।

तुलसीपुरको रंगशाला ।

मदन भण्डारी रंगशाला वरपर न नाला छ न पर्खाल । भलपानीले रंगशालाको पुछार चिरा-चिरा परेर खेल्नलायक छैन । गैराखलीको खेल मैदान नाम मात्रैको छ । यो खेलमैदान डोजरले खनेर आधामै छाडिएको छ । मैदान भरी ढुंगा गिट्टीमात्रै छन् । ‘तुलसीपुर उपमहानगरपालिका भित्र बनेका पछिल्ला खेल मैदान खेल्नलायक छैनन्’, दाङ जिल्ला फुटबल संघका सदस्य लक्ष्मण बस्नेत भन्छन्, ‘मैदानभरी ढुंगा र खाल्डाखुल्डी छन् । त्यहाँ खेल्ने खेलाडी सुरक्षित छैनन् ।’

उपमहानगरपालिकाले पैसा नदिएपछि खेलकूद विकास समिति र वडाबाट गरेर पाँच लाखमा मैदान निर्माण गरेको वडाध्यक्ष ढकालले बताए । ‘मेयर पाण्डेले स्पोर्टस् सिटी बनाउने घोषणा गर्नुभयो तर व्यवहारमा पूरा भएन,’ उनले भने, ‘बोलाइ र गराइमा फरक भएपछि स्पोर्टस् सिटीको सपना पनि अपुरै रह्यो ।’

बसपार्कको बिजुली र पानीको लाइन काटियो

तुलसीपुर उपमहानगरले स्मार्ट छोरी, स्मार्ट बसपार्क जस्ता योजना पनि घोषणा गरेको थियो । जसले निकै चर्चा पाए तर पूरा भएनन् ।

आधुनिक स्मार्ट बसपार्क भनिएको तुलसीपुरको बसपार्कमा अहिले न पानी छ, न बिजुली ।

आठ लाख विद्युत बक्यौता नतिर्दा २ चैतदेखि विद्युत काटिएको छ । त्यसको दुई हप्ता अघिमात्र पानीको लाइन काटिएको थियो । पानी नहुँदा शौचालयको बिजोग छ ।

करको भार थपेको आरोप

मेयरमा पाण्डेका प्रतिस्पर्धी कांग्रेस नेता गेहेन्द्र गिरी मेयर पाण्डेले नगरवासीमा करको भारी थप्ने काम गरेको आरोप लगाउँछन् । ‘करको दर बढेको बढ्यै छ’, उनले भने, ‘तर कर तिरेका जनताले पाउनुपर्ने विकास पाएनन् ।’

तुलसीपुर उपमहानगरपालिका सूचना अधिकारी बाबुराम न्यौपानेले स्थानीय सरकार सञ्चालन ऐनमा टेकेर अहिले भूमि, व्यवसाय, घरबहाल, विज्ञापन, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी करहरु लिने गरेको बताए ।

‘विगतमा नगरपालिका हुँदा, संरचना पनि सानो हुँदा करको दायरा पनि सानो थियो,’ उनले भने, ‘अहिले संरचना थपिएका छन्, खर्च बढेपछि केही करको दायरा र दर पनि बढेको छ ।’

‘विकास निर्माणको काम तीव्र रुपमा गर्नु राम्रो हो’ कांग्रेस नेता गिरी भन्छन्, ‘तर, विकास निर्माणका नाममा ऋणको भारी थोपर्नु राम्रो होइन ।’ उनले मेयर पाण्डेले जाँदाजाँदै करोडौंको ऋण भारी थमाएर जान थालेको आरोप लगाए ।

५७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी, कोष रित्तै

उपमहानगरले पूर्वाधार विकासका कामको ५७ करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्नेछ । भुक्तानी लिन निर्माण व्यवसायी र उपभोक्ता समितिले ताकेता गरिरहेका छन् । तर कोषमा पैसा नभएपछि सम्पन्न भइसकेका योजनाको भुक्तानी दिन नसकेको उपमहानगर प्रशासन बताउँछ ।

‘करलगायत आन्तरिक स्रोतबाट पैसा उठ्छ भनेर योजना अघि बढाइयो’ प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले भने, ‘आँकलन गरेको आन्तरिक स्रोत नउठेपछि भएका कामको भुक्तानी दिन समस्या भइरहेको छ ।’

लक्ष्य अनुसार कर नउठेका कारण चालु आर्थिक वर्षको अन्त्यसम्ममा भुक्तानी दिनुपर्ने रकम अर्ब पुग्ने अनुमान छ ।

जनप्रतिनिधि आएको तीन वर्षसम्म नगरको आम्दानी खर्च बराबर जस्तै थियो । पछिल्ला दुई वर्षमा उपमहानगरले आवश्यक बजेटको स्रोत नै पहिचान नगरी धमाधम महत्वकांक्षी योजना अघि बढाउँदा ५७ करोड रुपैयाँ उधारो तिर्न बाँकी रहेको हो ।

प्राविधिक शिक्षामा जोड

तुलसीपुर उपमहानगरपालिकाले शिक्षा र स्वास्थ्यमा भने केही उल्लेखनीय काम गरेको छ । नगरले प्राविधिक शिक्षालय र मेट्रो अस्पताल सञ्चालन गरेको छ । प्राविधिक शिक्षालय ‘मेट्रो कलेज’ मा सीटीईभीटीईतर्फ डिप्लोमा तहका वन विज्ञान, वाली विज्ञान, फुड एण्ड डेरी टेक्नोलोजी, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङ पढाइ हुन्छ । यस्तै बीएएलएलबी पनि अध्यापन भइरहेको छ ।

मेट्रो कलेजमा सामुदायिक विद्यालयबाट एसईई गरेका छात्रालाई पूर्ण छात्रवृत्तिमा प्राविधिक विषय अध्यापन गराएको शिक्षालयका प्रमुख बसन्त आचार्यले बताए । उनका अनुसार कलेजमा अहिले १ सय २६ छात्राले निःशुल्क प्राविधिक शिक्षा पढिरहेका छन् ।

‘तुलसीपुरलाई प्राविधिक शिक्षाको  केन्द्रका रुपमा विकास गर्न पालिकाबाट प्राविधिक कलेज सञ्चालन गरेका छौं,’ उनले भने, ‘तुलसीपुरलाई आवश्यक पर्ने जनशक्ति यहीं उत्पादन गर्न सकियोस् भनेर कलेज स्थापना गरेका हौं ।’

उपमहानगरभित्रका नौ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अध्यापन भइरहेको छ । जहाँ एक हजार बढी विद्यार्थी प्राविधिक शिक्षा लिइरहेका छन् ।

यसअघि प्राविधिक शिक्षाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो भने दुई लाख बढी तिर्नुपर्ने अवस्था थियो ।

कोभिड संक्रमण रोक्न गरेको काम उदाहरणीय

उपमहानगरले स्थापना गरेको मेट्रो अस्पतालले कोभिड संक्रमणको समयमा निकै उल्लेखनीय काम गर्‍यो । कोभिडको दोस्रो लहरसँग जुधिरहेको अवस्थामा तुलसीपुर उपमहानगरले स्थापना गरेको मेट्रो अस्पताल कोभिड पछि अहिले २५ बेडको जनरल अस्पतालका रुपमा सञ्चालित छ ।

कोभिडको दोस्रो लहरको संक्रमणका बेला ५५ बेड एचडीयुसहितको उपचार सेवा दिंदै मेट्रो अस्पतालले महत्वपूर्ण भूमिका खेलेको थियो ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक विमल केसीले मेट्रो अस्पतालमा अहिले ३ जना डाक्टरबाट विषशेज्ञसहितको सेवा प्रदान गर्दै आएको बताए । अस्पतालले ओपीडी, इमर्जेन्सी, ल्याब र भिडियो एक्सरेसहितको स्वास्थ्य सेवा दिँदै आएको छ ।

‘उज्यालो तुलसीपुर’ले फर्काउँदै छ आँखाको ज्योति

०७४ सालदेखि ‘उज्यालो तुलसीपुर’अभियान अन्तर्गत राप्ती आँखा अस्पतालको सहकार्यमा उपमहानगरपालिकाले मोतिया विन्दु भएकाको निःशुल्क शल्यक्रिया गराउँदै आएको छ । अहिलेसम्म २ सय ५७ जनाको मोतियाविन्दुको उपचार गरिएको केसीले बताए ।

मेयर पाण्डेले यो अभियान सञ्चालन गर्ने देशकै पहिलो उपमहानगर तुलसीपुर भएको भन्दै उज्ज्यालो अभियान अहिले अरु स्थानीय तहले सिको गरिरहेेको बताउँछन् ।

कांग्रेस नेता गिरी भने उपमहानगरले प्रचारात्मक काम मात्र गरेको बताउँछन् । ‘तुलसीपुर उपमहानगरको नेतृत्वले लोकपि्रयता बटुल्ने गरी चुनावी घोषणा पत्र ल्यायो, मतदाताले विश्वास गरेर चुनाव जिताए’, उनले भने, ‘पाँच वर्षमा प्रचार भयो, हेर्न लायक विकास केही भएन ।’

उपमहानगरले उदाहरणीय र उल्लेखनीय काम गर्न नसकेको उनले बताए । ‘विकास भयो भनेर हेर्नलायक कुनै काम देखिएको छैन’, गिरीले भने, ‘शहर बजारभित्रकै सडकका खाल्डा खुल्डी पुर्ने जस्ता सामान्य काम समेत हुन सकेन ।’

तर मेयर पाण्डेले भने आफ्नो समग्र कार्यकालमा उत्कृष्ट काम गरेको बताउँछन् । ‘हिजो चुनावका बेला जनता समक्ष जे प्रतिवद्धता गरेका थियौं, आज त्यो पूरा गरेका छौं’ उनले भने ।

मेयर पाण्डेले तुलसीपुरले शिक्षा, स्वास्थ्य खानेपानी र प्रविधिका क्षेत्रमा देशभरीका लागि नमुना योग्य काम गरेको दावी गरे । उनले स्थानीय तहको स्वमूल्यांकनमा ८० प्रतिशत उपलब्धि हासिल गरेको भन्दै आफ्नो बचाउ गरे ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?