+
+
कांग्रेसको मध्यमार्गी निर्णय :

एमालेसँग च्याप्टर क्लोज, सत्तारुढ दलसँग आवश्यकताअनुसार तालमेल

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७८ चैत १५ गते २२:२०

१५ चैत, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुसँग ‘स्थानीय अवस्था र आवश्यकता’ अनुसार तालेमल गर्ने निर्णय गरेको छ । यससँगै प्रमुख विपक्षी नेकपा एमालेसँग तालेमल गर्ने र सत्तारुढ दलहरुसँग देशव्यापी गठबन्धनको दुवै बाटो बन्द भएको नेताहरुले बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरु चुनावी गठबन्धनको पक्ष र विपक्षमा विभाजित भएका थिए । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा र उनी निकट नेताहरु गठबन्धनको पक्षमा थिए भने डा. शेखर कोइराला पक्षका नेताहरुले एक्लै चुनाव लड्नुपर्ने मत राख्दै आएका थिए ।

मंगलबार नेताहरुबीच भएको लामो छलफलपछि मध्यमार्गी प्रस्ताव पास भएको छ, ‘स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रकृया अनुरुप कार्य अघि बढाइनेछ ।’

नेताहरुका अनुसार यदि सभापति देउवाले चाहेको जस्तो निर्णय भएको भए कांग्रेस स्थानीय तह मात्र होइन, प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन गरेर जाने पक्षमा उभिन्थ्यो । तर तालमेल गरेर जानुपर्छ भन्ने नेताहरु पनि केन्द्रबाट निर्णय गर्ने होइन, तल्लो कमिटीहरुलाई नै निर्णय गर्न दिनु उपयुक्त हुने मत राखेका थिए । ‘आजको निर्णयले सबैको भावनालाई समेटेको छ,’ एक पदाधिकारी भन्छन्, ‘सभापतिलाई गठबन्धनको पक्षमा निर्णय गराएँ भन्ने भएको छ । शेखर कोइरालाले तल्लैबाट निर्णय गर्ने बनाएँ भन्ने ठाउँ पाउनुभएको छ ।’

यससँगै तालमेलबारे तीन वटा विषय प्रष्ट भएको निर्णय गराउन भूमिका खेलेका नेताहरु बताउँछन् ।

पहिलो : एमालेसँग ढोका बन्द

केन्द्रीय कार्यसमितिको बैठकमा कतिपय नेताहरुले माओवादी केन्द्र बलियो भएको ठाउँमा एमालेसँग पनि तालेमल गर्नुपर्ने मत राखेका थिए । कर्णाली प्रदेशका साथै अरु कतिपय प्रदेशका जिल्लामा पनि यसो गर्नुपर्ने नेताहरुको मत थियो ।

कांग्रेस नेताहरुका अनुसार कम्तिमा पनि १०/१५ प्रतिशत स्थानीय तहमा एमाले र कांग्रेसको तालमेल हुनसथ्यो । मंगलबार निर्णय मस्यौदा गर्ने क्रममा पनि अन्य दलसँग तालमेल गर्न सक्ने भनेर त्यो विकल्प खुला राख्न खोजिएको थियो ।

तर सत्तारुढ गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्ने निर्णय भएको छ । अर्थात् अब कांग्रेसको कुनै पनि कमिटीले एमालेसँग गठबन्धन गर्न अनुमति दिने छैन ।

दोस्रो : सत्तारुढसँग गठबन्धन होइन, तालमेल

एमाले बलियो भएको कतिपय जिल्लामा सत्तारूढ गठबन्धनमा रहेका दलहरूले तालमेल गर्ने सहमति गरिसकेको छ । मंगलबारको निर्णयले त्यस्तो सहमति गर्ने कांग्रेसको जिल्ला कमिटीहरूलाई सहज भएको छ ।

तर देशव्यापी रुपमा गठबन्धन भने हुने छैन । किनकि तालमेलबारे निर्णय गर्नुअघि कांग्रेसको निर्णयमा नै बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भएको दाबी गरिएको छ । र, यो अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप तालेमल गर्न सक्ने भनिएको छ ।

यसले कांग्रेस एक्लै बलियो भएको र सहजै चुनाव जित्ने स्थानमा तालमेल नगर्न पाउने बाटो खुला गरेको नेताहरू बताउँछन् । उनीहरूका अनुसार कतिपय ठाउँमा अहिले पनि कांग्रेस, माओवादी केन्द्र  वा जनता समाजवादी पार्टी (जसपा) नै पहिलो र दोस्रो दल छ र एमाले जित्ने सम्भावना छैन । त्यस्ता ठाउँमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल नगरी स्वस्थ प्रतिस्पर्धा हुनसक्छ ।

यद्यपि केही दिनमै बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले तालमेलका लागि केन्द्र, प्रदेश र जिल्लामा समेत संयन्त्र बनाउने प्रस्ताव ल्याउन सक्ने एक नेता बताउँछन् । माओवादी केन्द्र र एकीकृत समाजवादीको जोड पनि चुनावी तालमेलबारे केन्द्रबाटै निर्णय होस् भन्ने छ । तर केन्द्रीय समितिको मंगलबारको निर्णयका कारण यो सम्भव नभएको नेताहरु बताउँछन् ।

तेस्रो : केन्द्रले महानगर बाहेकको निर्णय गर्दैन

कांग्रेसको तालमेलबारे निर्णयमै स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रकृया अनुरुप कार्य अघि बढाउने भनिएको छ । यससँगै महानगरपालिका बाहेक अन्यत्र केन्द्रले निर्णय गर्ने सम्भावना टरेको नेताहरु बताउँछन् ।

किनकी कांग्रेसको विधानमा वडा सदस्य तथा वडाध्यक्षको उम्मेदवार छनोटको अधिकार प्रतिनिधिसभा क्षेत्र, गाउँपालिका प्रमुख तथा उपप्रमुखको जिल्ला र नगर तथा उपमहानगरको उम्मेदवार छनोटको अधिकार प्रदेश संसदीय समितिलाई दिइएको छ ।

अब चुनावी तालमेल गर्दा पनि त्यही तहको कमिटी नै निर्णायक हुने नेताहरु बताउँछन् ।

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?