
१६ चैत, काठमाडौं । आसिफ शेखले अर्धशतक प्रहार गरेपछि नेपालले बुधबार मलेसियालाई ६ विकेटले हराएर त्रिकोणात्मक टी-२० श्रृंखलामा लगातार दोस्रो जित हात पार्यो ।
खेलमा आसिफले ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले ३८ बल अगावै पूरा गर्यो । यसै खेलबाट दीपेन्द्र सिंह ऐरी र दीलिप नाथले ठूलो उपलब्धी हासिल गरे ।
मलेसिया विरुद्ध २१ रन बनाएका दीपेन्द्र टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बने ।
३६ खेलमा २१ इनिङ्स ब्याटिङ गर्दै ३ अर्धशतक मद्दतमा ८०३ रन बनाएका दीपेन्द्रले राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको कीर्तिमानलाई पछि पारे । पारसले १ शतक र ४ अर्धशतकसहित ७९९ रन बनाएका थिए । मलेसियाका मुहम्मद अमिरलाई १२औं ओभरको पहिलो बलमा चौका प्रहार गर्दै कीर्तिमान बनाएका दीपेन्द्र अर्को बलमा आउट भएका थिए ।
दीपेन्द्रले सन् २०१८ मा इंग्ल्याण्डको लर्ड्समा नेदरल्याण्ड्स विरुद्ध टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।
यस्तै मलेसियालाई हराउँदा १५ रनमा अविजित रहेका विकेटकिपर दीलिप नाथले यसै खेलबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरे ।
सन् २०१७ मा युएईविरुद्ध खेल्दै लिस्ट एमा डेब्यु गरेका दीलिपले नेपालका लागि यसअघि २०१८ मा स्कटल्याण्डविरुद्ध अन्तिम खेल खेलेका थिए । घरेलु मैदानमा टी-२० श्रृंखलाका लागि टिममा परेका दीलिपले दोस्रो खेलमा अवसर पाउँदै डेब्यु गरेका हुन् ।
सुरुमा ओपनरको भूमिकामा खेल्दै आएका दीलिपले पछिल्लो समय घरेलु क्रिकेटमा मिडल अर्डर र लोअर अर्डरमा ब्याटिङ गर्दै आएका थिए । मलेसियाविरुद्ध भने दीलिपले पाँचौ नम्बरमा ब्याटिङ गरे ।
उनले ७ बल खेल्दै ३ चौका प्रहार गरेर १५ रनमा अविजित रहे । दीलिपले नै चौका प्रहार गर्दै नेपालको जित पक्का गरेका थिए । मलेसियाविरुद्ध सहज जितपछि कप्तान सन्दीप लामिछानेले दीलिपले राम्रो सम्भावना देखाएको भन्दै प्रशंसा गरे ।
हेर्नुस् तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4