+
+
सत्तारुढ गठबन्धनको बैठक :

स्थानीय चुनावमा तालमेल गर्ने सहमति, शक्ति आकलन गर्न तीनै तहमा संयन्त्र बनाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १६:२९
फाइल तस्वीर

१७ चैत, काठमाडौं । सत्तारुढ पाँच पाँचदल स्थानीय तहको निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् । त्यसका लागि हरेक पालिकाका दलहरुको शक्ति आकलन गर्न प्रदेश, जिल्ला र पालिकास्तरमा संयन्त्र बनाउने निर्णय भएको छ ।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले स्थानीय आवश्यकताअनुसार गठबन्धनमा रहेका अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेपछि सत्तारुढ पाँच दलको बैठक पहिलो पटक बिहीबार बसेको थियो । बालुवाटारमा बसेको बैठकको सुरुमै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मिलेर चुनावमा जाने प्रस्ताव राखे ।

सत्तारुढ दलका अरु नेताहरुले पनि त्यसमा सहमत भएपछि चुनावमा तालमेल गर्ने निर्णय भएको छ ।

बैठकपछि कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारीअनुसार तालमेलका लागि प्रदेशस्तरीय र जिल्लास्तरीय र पालिकास्तरीय समिति बनाउने सहमति भएको छ । ‘त्यो समितिले २२ गते भित्रमा प्रदेश, जिल्ला र स्थानीय तहमा पाँच दलको अवस्था कस्तो छ भनेर प्रतिवेदन दिन्छ’, कार्कीले भने, ‘त्यही प्रतिवेदनका आधारमा थप निर्णय गर्छौं ।

राष्ट्रिय सभा चुनावमा भएको जस्तै तालमेल स्थानीय तह चुनावमा पनि हुने जानकारी दिए । उनले भने, ‘पाँच दलीय गठबन्धन एक ठाउँमा उभिएर स्थानीय निर्वाचनको सामना गर्छ ।’

बैठकले महानगरपालिकाको उम्मेद्‍वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए ।

चुनावी तालमेलका बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने सहमति भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?